सबै नेपालीहरूलाई एउटै टोकरीमा राखेर हेर्नु भएन : मोहन

इनेप्लिज २०७३ साउन २७ गते ५:३४ मा प्रकाशित

Mohan-Nepal

विद्यालयको शिक्षामा प्रत्येक कक्षामा सधैँ प्रथम हुँदै आएका काठमाडौं नयाँ बानेश्वरका मोहन नेपाल गायक हुन । ०५१/०५२ सालतिर राजधानीका विभिन्न रेष्टुरेन्टमा गीत गाउने गरेका मोहन अहिले भने नर्वेमा बसोबास गर्छन् वर्षमा एक पटक विदा मनाउन स्वदेश आउने गरेका मोहनलाई अहिले पनि गीत संगीत भनेपछि उत्तिकै हौसला जाग्ने गर्छ । स्वदेशमा गर्दा गर्दै राम्रो हुन नसकेपछि यूरोपतिर हान्निएका मोहनले उतै घर जोडर बसेका छन् । आफ्नो परिवारलाई पनि उतै राखेका छन् । विदेशमा रहँदा पनि स्वदेशको माया लाग्ने गरेको उनको भनाइ छ । अब दुई वर्ष मात्रै नर्वेमा बसोबास गर्ने योजना बनाएका मोहन परिपारिट मिल्ने हो भने त्योभन्दा अगाडि नै स्वदेश फर्केर केही गर्ने योजनामा छन् । नयाँ बानेश्वर निवासी उनै मोहन नेपाल अहिले काठमाडौंमा छन् । गायक मोहन नेपालसँग  विमल योगीले गर्नुभएको कुराकानी :

० तपाई यूरोपमा बस्न थाल्नु भएको कति भयो ?

– यस्तै १८–२० वर्ष हुन थाल्यो । अहिले नर्वेमा बसोबास गर्दै आएको छु ।

० एक्लै बस्नु हुन्छ कि स–परिवार बस्नु हुन्छ ?

– स–परिवार बस्ने गरेका छौँ ।

० विदेशमा नेपालीहरूले अत्यन्तै तल्लोस्तरको काम गर्छ भन्छन् हो र ?

– विदेशमा काम सानो र ठूलो हुँदैन । हामी स्वदेशमा रोजगारी नपाएरै विदेशमा गएका हौँ । सबै नेपालीहरूले तल्लोस्तरको काम गर्छन् भन्ने छैन । हाम्रै नेपाली दाजुभाईहरूले मेडिकल, विज्ञान, उद्योग व्यवसायमा उच्च तहसम्म पुगेका छन् । सबैलाई एउटै टोकरीमा राखेर भन्नु हुँदैन । विदेशमा नेपालीहरूले गरेको कामबाट शीर पनि ठाडो हुन्छ ।

० तपाई सिधै नर्वे जानु भएको हो कि अरु कुनै देशबाट त्यहाँ पुग्नु भएको हो ।

– म पहिला पोर्चुगल गएको हुँ । त्यहाँ लामो समयपछि बसेपछि नर्वे गएर अहिले त्यहीँ बसोबास गर्दै आएको छु । मेरा दुई छोरा र पत्नी नर्वेमा बसोबास गरिरहेका छौँ ।

० नेपाल किन आउनु भएको हो ?

– नर्वेशमा वर्षभरि काम गर्दा एक महिना विदा पाइन्छ । विदा मनाउन कहाँ जाने भनेर सोँच बनाउँदै गर्दा आफ्नै देश गएर दुई/चार दिन भएपनि बस्नु भनेर यता आएको हुँ । म आएका जम्मा एक हप्ता मात्रै भएको छ । स्कुल र कलेज पढदाका मेरा साथीहरूसँग भेटघाट गरिरहेको छु । आफ्ना परिवारजनसँग पनि भेट भइरहेको छ ।

विदेश जानु अघि म राजधानीका विभिन्न गजल रेष्टुरेण्टमा गीतमा गाउने गर्थे । त्यति बेला मैले महिनाको तीन/चार हजार कमाउँथे । यो कुरा ०५१/५२ सालतिरको हो । म मात्रै होइन मेरी पत्नी रोशनी धौवञ्जार पनि गायिका हुन् । हामीले नर्वेमा नेपाली कार्यक्रमहरूमा अवसर पाउँदा गाउने गरेका छौँ ।

० अब उतै नर्वेमा बस्ने कि स्वदेश फर्कने पनि योजना छ ?

– सधैँ उतै बस्ने मेरो कुनै योजना छैन । एउटा छोरो हुर्की सकेको छ । करीव १९ वर्षको भइसक्यो । कान्छो छोरो सात वर्षको भयो । ठूलो छोरोले नर्वेमा रहेको घरको रेखदेख गर्न सक्ने र कान्छो भाइलाई अभिभावकत्व दिन सक्ने हुनेवित्तिकै म स्वदेश आउँछु । नर्वे र पोर्चुगलमा सिकेको कुरा सकेसम्म यहाँ व्यवहारमा उतार्ने प्रयास गर्नेछु । स्वदेश फर्र्किएर केही गर्ने विचार छ । हेरौँ भविष्यमा के हुन्छ ?

० तपाई जस्ता युवाहरू विदेश जाने, उतै पलायन हुँदा आफ्नो मुलुकको अवस्था त झन् बिकराल बन्न सक्दैन र ?

– स्वदेशमा रोजगारी र आफ्नो पेशा व्यवसाय गर्ने वातावरण हुने हो भने हामीलाई अर्काको देशमा गएर श्रम गर्ने कुनै रहर हुँदैन । जो जसरी जुन उदेश्यले विदेश गएपनि उसका आफ्नै बाध्यता छन् । हामीलाई देशका लागि केही गरौँ भन्ने भावना किन हुँदैन । हुन्छ नी । सबैभन्दा ठूलो कुरा आफ्नो मातृभूमि हो । म पनि विदेश जानुअघि विभिन्न व्यवसाय गरेको थिए । तर राम्रो हुन नसकेपछि बाध्य भएर विदेश जानु परेको हो ।

० एनआरएनको राजनीति कत्तिको गर्नु हुन्छ ?

– म धेरै राजनीति गर्दिन । फेरि कलाकार पनि हुँ । मलाई राजनीति भन्दा गायन पेशा अलि मन पर्छ । एनआरएनका कार्यक्रममा बोलाउँदा जाने गरेको छु । नेपाली कार्यक्रमहरू सकेसम्म छुटाउँदिन ।

० ए त्यसो भए तपाई गायक पनि हो ?

– हो । विदेश जानु अघि म राजधानीका विभिन्न गजल रेष्टुरेण्टमा गीतमा गाउने गर्थे । त्यति बेला मैले महिनाको तीन/चार हजार कमाउँथे । यो कुरा ०५१/५२ सालतिरको हो । म मात्रै होइन मेरी पत्नी रोशनी धौवञ्जार पनि गायिका हुन् । हामीले नर्वेमा नेपाली कार्यक्रमहरूमा अवसर पाउँदा गाउने गरेका छौँ ।

पत्नीसँगै स्टेजमा गीत गाउँदै गरेका मोहन

पत्नीसँगै स्टेजमा गीत गाउँदै गरेका मोहन

० नर्वेमा नेपाली कलाकारहरूको संस्था गठन गरे हुन्छ नि ?

– सोँच बनाएको छु । म काममा अलि व्यस्त हुने भएकाले यसलाई आकार दिन नसकेको हुँ ।

० एनआरएन विभिन्न मुलुकहरूमा विवादमा आइ रहेका छन् तपाईलाई थाहा छ ?

– किन थाहा नहुनु थाहा छ नि । खै सबै मिलेर बसे हुने थियो ।

० तपाई पनि कुनै राजनीतिक दलसँग आवद्ध हुनुहुन्छ कि ?

– त्यस्तो कुनै राजनीतिक दलप्रति म खुलेर लागेको छैन । तर कतै न कतै ढिलो चाँढो झुकाव राख्नै पर्ला । अहिले यही भन्ने छैन । म नयाँ बानेश्वरको रैथाने व्यक्ति हुँ । यो क्षेत्रमा धेरै जसो कांग्रेसी नेताहरू छन् । म सानो छँदा उनीहरूसँग घुलमिल थियो । विदेश गएपछि राजनीति भन्ने कता हरायो कता ।

० नर्वे कस्तो खालको देश हो ? नेपालीहरूका लागि उपयुक्त छ ?

– आफ्नो मुलुकभन्दा अरुको मुलुक मेरा लागि उपयुक्त हुने कुरै भएन । जहाँसम्म नर्वे नेपालीहरूका लागि ठीकै छ । जाडो देश भएको र पहाडी क्षेत्र भएकाले कुनै अप्ठेरो महसुस हुँदैन । हामी काम गरेर खानेका लागि राम्रो छ । विकसित मुलुकमा काम गर्ने हो भने कुनै समस्या हुँदैन । इमान्दारिता पनि हुनुपर्छ ।

० नेपाल आएका बेला यस पटक गीत गाउने योजना छ कि ?

– त्यस्तो कुनै योजना बनाएको छैन । तयारी पनि धेरै गरेको छैन । अब अर्को पटक आउँदा भने एक÷दुई वटासम्म गीत गाउँकी भनेर सोँच बनाएको छु ।

० तपाईलाई गीत सुन्न पनि मन पर्छ होला नि ?

– सुन्छु । विशेष गरेर सास्त्रीय संगीत मन पर्छ । पुराना हिन्दी गीतहरू पनि मन पर्छ । नेपाली सुगम संगीत धेरै मन पर्छन् । अहिलेका नयाँ पुस्ताका गीतहरू पनि राम्रा छन् ।

प्रतिक्रिया