पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

इनेप्लिज २०७३ साउन २७ गते ५:०६ मा प्रकाशित

1421055591भोजपुर, २७ साउन । पुरानो प्रविधि छोडी नयाँ प्रविधिमा खेती गर्दा आम्दानी बढ्ने भन्दै यहाँका किसानले पछिल्लो समयमा प्लास्टिक घरमा खेती गर्न थालेका छन् ।

केही वर्षसम्म यहाँ प्लास्टिकको घरमा खेती गर्ने किसान विरलै देख्न पाइन्थ्यो । तर अहिले विस्तारै प्लास्टिक घरमा खेती गर्ने क्रम बढ्दै गएको छ । यसैको उदाहरण बन्न सफल हुनुभएको छ भोजपुर नगरपालिका–१० टक्सारका कृष्णबहादुर श्रेष्ठ ।

उहाँले गत साल कृषि विकास कार्यालयले दिएको एउटा प्लास्टिक घरमा तरकारीखेती लगाउनुभयो । प्लास्टिक घरमा लगाएको तरकारीबाट उहाँले रु १५ हजार आम्दानी गर्नुभयो ।

प्लास्टिक घरमा लगाएको तरकारीबाट राम्रो आम्दानी भएपछि यसबर्ष उहाँ आफँैले लगानी गरी थप दुईवटा प्लास्टिक घर निर्माण गर्नुभएको छ । थप गरिएका टनेलमा काँक्रा, बोडी, गोलभेँडा लगाइरहेको उहाँले बताउनुभयो ।

प्लास्टिक घरमा बेमौसमी तरकारी लगाउन सकिने र बाली पनि सप्रने भएकाले यो प्रविधिमा खेती गर्न आफू आकर्षित भएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले जस्तै हाल जिल्लाका अरु किसान पनि टनेल बनाई खेती गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालयले गत साल निःशुल्क १०७ वटा प्लास्टिक घर वितरण गरेको थियो ।

यो वर्ष भने १० वटा वितरण गरिसकेकोे जिल्ला कृषि विकास कार्यलयका बागवानी अधिकृत कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया