अहिले नै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुन्छ भन्न सकिँदैन : प्रा.डा. बराल

इनेप्लिज २०७३ साउन २५ गते ६:०३ मा प्रकाशित

Lokraj-Baral-555x335

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री दाहालले आजै पदभार ग्रहण गरेका छन् । दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनको सरकारले कस्तो काम गर्ला, यो सरकारको चूनौति र सम्भावनाबारे विभिन्न कोणबाट बहस सुरु भएको छ । पछिल्लो समय नेपाल–भारत सम्बन्धमा समेत केही दरार उत्पन्न भएको छ । यी सबै समस्याहरुलाई उनले कसरी मिलाएर लैजान्छन् भन्ने विषयमा भारतका लागि पूर्वराजदुत एवम् पराष्ट्रविद प्रा.डा. लोकराज बरालसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रचण्डको कार्यकालमा नेपाल–भारत सम्बन्धको बारेमा यहाँले कस्तो अपेक्षा गर्नुभएको छ ?

मलाई त केही सकारात्मक रुपमै सम्बन्ध अघि बढ्छ होला जस्तो लाग्छ । किनभने यो विचमा नेपाल र भारतवीचमा मानसिक रुपमा केही दुरी भएको हो कि भन्ने लागेको थियो तर अब फेरि उहाँले प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ । उहाँले मात्रै होईन, काँग्रेस सभापति शेरबहादुर जीले पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कुरा त केही हौईन, यो विचमा केही अविश्वास हो कि भन्ने लागेको थियो, त्यसलाई उहाँहरु दुवैले निराकरण गर्नुहुन्छ भन्ने लागेको छ ।

उसो भए नेपाल–भारत सम्बन्धमा विश्वासमा परिवर्तन हुन्छ त ?

विश्वासमा परिणत हुन्छ भन्न सकिँदैन् । अबको घट्नाक्रम र उहाँको काम गराईबाट मात्रै थाहा हुन्छ । तर अहिलेपनि यहाँ हाम्रो देशमा पराष्ट्र मामिलामा बढि राजनीतिकरण भएर बाहिर व्यापक हल्ला हुन्छ । त्यसकारण कहिले राष्ट्रवादको बारेमा अडान लिने गर्दा कता कता असमझदारी पैदा भएको जस्तो लाखेथ्यो । त्यकारण अब त्यतातिर ध्यान दिनुपर्छ । अबको घट्नाचरणले पनि धेरै कुरा निर्धारण गर्छ ।

उसो भए प्रचण्डको पहिलो भ्रमण भारत नै हुन्छ भन्नेमा यहाँ विश्वस्त हुनुहुन्छ होईन ?

मेरो लागि त उहाँ चीन गएपनि हुन्छ नि, यस्तो कुरा त कुनै मतलब नै नभएको कुरा हो । पहिला भारत जाँदा सम्बन्ध सुध्रिने अनि अर्को देश जाँदा नसुध्रिने भन्ने कुरा होईन् । सबभन्दा ठूलो कुरा के हो भने हाम्रो भारत र चीनसँगको सम्बन्ध सुधार्न त हामीले यहाँको वस्तुगत आधारमा भू– राजनीतिकरणलाई हेरेर धेरै उत्ताउलो नभईकन, प्रचारवाजी नगरीकन सहयोगात्मक हिसावले रचनात्मक कुरा गरेमात्रै सम्बन्ध सही ढंगले अघि बढ्छ । नेपालको कुरा गर्नुहुन्छ र हेर्नुहुन्छ भने यहाँ त खाली डेमोन्स्ट्रेटिभ फरेन पोलीसी वा प्रदर्शन गर्न र देखाउनका लागि विदेशी नीति बनाउने वा आफूलाई ईमेज बनाउनका लागि प्रयोग भएकाले विग्रेको हो । सामान्य रुपमा लाँदा खेरी अलिकति उसको पनि कुरालाई बुझिदिँदा खेरी भारत वा चीनले असमझदारी गर्लानजस्तो लाग्दैन् ।

अहिलेको अवस्थामा भारतको चासो कुन क्षेत्रमा हो जस्तो लाग्छ तपाईलाई ? राजनीतिक, सामाजिक साँस्कृतिक वा आर्थिक ?

सबैभन्दा ठूलो चासो उसको रणनीतिक कुरा अर्थात सूरक्षामा छ । हुन त यो अँग्रेजकै पालादेखि हुँदै आएको हो । उसले यो क्षेत्रमा आफूलाई प्रभावमा राख्नको लागि सजग छ । नेपाल र भारतकोवीचमाा विशेष किसिमको सम्बन्ध छ । यहाँ खुल्ला सिमाना छ । हरेक किसिमको गतिविधि हुनसक्छ । उसलाई भोलि मेरो देशको सूरक्षामा कतै आघात पार्छ कि भन्ने चासो छ । फेरी नेपाल त भारतको मुटुमा अवस्थित छ । कुनै किसिमको गतिविधि नहोस भन्नेमा उसको संवेदनशीलता देखिन्छ । यसमा हामीले पनि समञ्ज्यस्ता गर्दै अलिकति सहयोगात्मक र समझदारीमा ध्यान दिऔं भने मैले त केही पनि नराम्रो कुरा देख्दिन् ।

तर नेपालको रानजीतिक मुद्दामा पनि भारतले चासो देखाएको छ नि ?

एउटा छिमेकीको रुपमा यसरी अघि बढ्दा राम्रो हुन्छ भन्नु स्वभाविक हो । मोदीले त तराईमा गन्जागोल हुँदा हामीलाई असर पर्छ है भनेर नै संविधानमा मधेशी दलहरुलाई समेटेर लैजानुपर्छ भन्ने सुझाव दिएका हुन् । तर तराईकै साथीहरुले आन्दोलन गरेको हो नि । यसमा भारत तानिएको मात्रै हो ।

उसो भए प्रचण्डले अहिलेको अवस्थामा नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन सक्नुहुन्छ भन्ने तपाईको विश्वास हो ?

म यसबारेमा निश्कर्ष निकाल्दिन् । हाम्रो अन्र्तराष्ट्रिय कुरामा त्यति सजिलै निश्कर्ष निकाल्न सकिँदैन् । तर नेपाल–भारत सम्बन्धमा जुन किसिमको असमझदारी देखिएको छ, त्यसलाई प्रचण्ड र देउवाजीको टिमले विश्वासमा लिनेछन् र भारतको चासो हुन त उसको चासो त्यस्तो केही पनि छैन्, त्यही भारतविरोधी गतिविधि हुन नदिन, खुल्ला सिमाना छ आतंकवादको कुरा रोक्ने कुरा बाहेक त भारतले त्यत्रो ठूलो के चाहीँ गरेको छ र ? भारतको जायज कन्र्सनमा नेपालले सहयोग पुर्याउनुपर्छ ।

उसो भए प्रचण्डसामू के–के चूनौति छन् ?

संविधान संशोधन गर्ने र सबैको अपनत्वबोध हुने खालको बनाउनु नै उहाँको लागि सबैभन्दा ठूलो चूनौति छ । एमालेलाई पनि साथैमा लिएर हिँड्न सक्नुपर्छ । एमाले प्रतिपक्षीमा बस्ने दल भएपनि भोलि संविधान संशोधन गर्दा दुईतिहाई चाहिने भएकाले उसलाई साथमै लिएर जानुपर्छ । त्यस्तै संविधानलाई लिएर सबैभन्दा धरै गुनासो मधेशी, आदिवासी, जनजाति र थारुहरुको जो छ त्यसलाई चित्त बुझाउने र पराष्ट्रनीतिलाई सन्तुलित किसिमले दुवै छिमेकीलाई आवश्स्त पारेर अघि बढ्ने र विकासको कुरालाई कसरी अगाडि बढाउने भन्ने नै चूनौति हुन् । हामी भुकम्पबाट आघात भएका छौं  । यी सबैलाई हल गर्ने कुरा नै अहिलेको प्रमुख चूनौति छन् ।

काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे कार्यान्वयन हुन सक्छ त ?

डिटेलमा कुराहरु आएका त छैनन् तर पनि बुँदागत रुपमा केही संकेतहरु देखिएका छन् । विगतमा ओली सरकारले मधेशी मोर्चाका साथीहरुलाई ज्यादै कर्नरमा धकेलेको र काँग्रेस र माओवादी केन्द्रले हामी संशोधनमार्फत मुद्दाहरुको सम्बोधन गछौं भनेकोले केही विश्वास देखिन्छ । तीन पक्षवीच भएको सहमतिले विश्वासको वातावरण बनाएको छ । तर हुन्छ नै भन्न सकिँदैन् । ओलीजीको भन्दा अहिले कमसेकम वातावरण त बन्न लागेको छ । यो नै सकारात्मक कुरा हो ।

प्रतिक्रिया