एमाले प्रचण्डको नेतृत्वको सरकारमा आउनुपर्छ : रायमाझी

इनेप्लिज २०७३ साउन २० गते १:५३ मा प्रकाशित

top-bahadur-rayamajhi-555x335

राष्ट्रपति विद्या भण्डारीले सहमतिको सरकार गठनको लागि दलहरुलाई आह्वान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच ७ बुँदे सहमति भएर प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने करिब करिब पक्का छ । सरकार गठन हुनुपुर्व नै माओवादीभित्र मन्त्री छान्न अध्यक्ष प्रचण्डलाई यतिवेला हम्मेहम्मे परेको छ । कतिपय माओवादी नेताहरुले यसपटक नयाँ अनुहारलाई मौका दिनुपर्ने भन्दै पार्टीभित्र चर्को रुपमा आवाज उठाएका छन् भने कतिपयले अनुभवी नेताहरुलाई सरकारमा लगिनुपर्ने अडान लिएका छन् । यीनै विषयमा माओवादी केन्द्रका प्रभावशाली नेता टोप बहादुर रायमाझीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने अब निश्चित भयो होईन ?

यो कुरा त दुनियाँले बुझिसक्यो । हाम्रो अध्यक्ष प्रचण्ड नै अबको प्रधानमन्त्री हो । यसमा कुनै दुईमत छैन् ।

तपाई फेरि उपप्रधानमन्त्री बन्ने दौडधुपमा हुनुहुन्छ अरे नि ?

म यो दौडमा छैन् । मलाई यसबारेमा कुनै जानकारी छैन् ।

आजको दिनमा तपाईको दाबी रहन्छ कि रहँदैन ?

मन्त्री बन्न कुनै नेताले पनि दाबी गर्दैनन् । त्यसमा को बस्दा ठिक हुन्छ कसलाई मन्त्री बनाउने हो भन्ने कुरा पार्टीले औपचारिक रुपमा निर्णय गर्छ ।

उसो भए तपाई यसपटक प्रचण्डको निवास पुगेर मलाई उपप्रधानमन्त्री वा मन्त्री बनाउनुहोस भनेर भन्नुहुन्न ?

पहिला पनि मैले गरिन र अहिलेपनि म यस्तो गर्ने पक्षमा छैन र गर्दिन् ।

पहिला त तपाईले प्रचण्डसँग बार्गेनिँग नै गर्नुभएको थियो, मन्त्री नदिए म बाबुरामको नयाँ शक्तिमा जान्छु भन्नुभएको थियो ?

विल्कुल यो कुरा गलत हो, यसमा कुनै सत्यता छैन् । तपाईले प्रश्न गर्दा भन्ने एउटा कुरा होला तर हामीले यसबारेमा कुनैपनि किसिमको छलफल वा बार्गेनिँग गरेकै छैनौं । न हिजो नै गर्यौ न त भोलि नै यस्तो काम गर्छों ।

नयाँ अनुहार चाहिन्छ भनेर दलहरुवीच छलफल भैरहँदा तपाईको पार्टीभित्र चाहीँ किन पुरानै अनुहारहरु दोहोरिन खोजिरहेका छन् नि त ?

अब हाम्रो पार्टीभित्र यसरी दौडधुप गरेर मन्त्री बन्न लागिपरेको जस्ता मलाई लाग्दैन् । मलाई यस विषयमा कुनै जानकारी नै छैन् ।
उसो भए गिरिराजमणि पोखरेलले पनि मन्त्री बन्न दौडधुप गरिरहनुभएको छ अरे नि ? तपाईलाई जानकारी छैन ?
मैले अघि माथिपनि उल्लेख गरिसँके कि यसबारेमा मलाई कुनै जानकारी नै छैन् । जानकारीमा नभएको ुकुरा गर्दा राम्रो हुँदैन् । र यस्तो नहुनुपर्छ जस्तो मलाई लाग्छ ।

उसो भए मन्त्री बनाउन मापदण्ड बनाउनुपर्छ ?

हो, पार्टीभित्र एउटा मापदण्ड बनाएर अघि बढ्नुपर्छ । मन्त्री बनाउँदा दोहोरिने कि नदाहोरिने वा नयाँ अनुहारलाई पठाउने कि भन्ने बारेमा एउटा ठोस धारणा बनाउनुपर्छ । पाटीभित्र छलफल भएर एउटा निश्कर्ष आउँछ जस्तो लाग्छ ।

सरकार नबन्दै मन्त्री बन्न विवाद उत्पन्न हुनु कत्तिको शोभनीय हुन्छ र ?

यो कुनै पनि मान्यतामा उचित हुँदैन् । त्यो गलत कुरा हो ।

अहिले बाढिपहिरोले जनतामा आहातमा छन् तर दलका नेताहरु त्यतातिर ध्यान दिँदैनन् ?

मन्त्री बन्न दौडधुप गर्ने भन्दापनि यो राष्ट्रलाई कसरी निकास दिन सकिन्छ भनेर सोच्नेवेला हो । अहिलेको आवश्यकत्ता भनेको राष्ट्रिय सहमति नै हो । संविधान कार्यान्वयन गर्ने कुरा प्रमुख हो । यसको साथसाथै हामीले शान्तिप्रक्रियाका कुराहरुलाई निश्कर्षमा पुर्याउनुपर्ने छ । भूकम्पपीडितहरुलाई राहत पुर्याउनुपर्ने र तिव्र गतिमा पूर्ननिर्माण गर्नुपर्छ । भौतिक पूर्वाधारको विकासमा ध्यान दिँदै आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने छ । यीनै मुख्य विषयमा हामी प्रमुख राजनीतिक दलहरुवीच छलफल हुनुपर्ने हो, यो मन्त्री को बन्ने भन्ने विषयमा दौडधुप गर्ने कुरा कुनै पनि पार्टीको लागि र देशको लागि हित हुने कुरा होईन् ।

तर के गर्नु, विडम्बना तपाईहरु यही खेलमा लाग्नुभएको छ ?

त्यो कुरा गलत कुरा हो ।

अब सहमतीय सरकारको सम्भावना कतिको छ ?

सहमतिको सरकार नबन्ने भन्ने कुनै कारण नै छैन । संविधानको कार्यान्वयन लगायतका मुलुका मुख्य कार्यभार पुरा गर्नपनि प्रमुख राजनीतिक दलहरु आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकत्ता छ ।

तर एमाले त हामी प्रतिपक्षीमा बस्छौं भनिसक्यो नि त ?

एमालेले त्यसो नभन्नुपर्ने हो । यदि एमालेले सहमतिको सरकारमा सहभागी नहुने भन्ने निश्कर्ष निकालेको हो भने त्यो गलत कुरा हो । एमालेका बरिष्ठ नेताहरुले त सहमतिको सरकारमा पार्टीले भाग लिनुपर्छ भनिरहनुभएको छ । ओलीजीको नेतृत्वमा माओवादी सहभागी हुनहुने अनि प्रचण्डको नेतृत्वको सरकारमा एमाले किन सहभागी नहुने भन्ने प्रश्न पनि छ ।

तर तपाईहरुले प्रधानमन्त्री ओलीलाई वेलैमा ढालेर धोका दिनुभयो नि त?

हामीले विल्कुल धोका दिएको होईन् । सँधैभरि एमालेको पुच्छर बनेर हिँड्ने कुरा आएन नि । त्यसकारणले पार्टीले भद्र सहमति गरेको थियो, ९ बँदे सहमति गरेको थियो । धोका दिनको लागि सहमति गरिएको थिएन् ।

प्रतिक्रिया