प्रचण्डको आगमन : देश विखण्डनको संकेत

इनेप्लिज २०७३ साउन १७ गते ९:१९ मा प्रकाशित

10150808_455497111270213_3022867180222267304_n

एसियामा अंग्रेजी साम्राज्यवाद विस्तार भईरहँदा भीमसेन थापाले अंग्रजी साम्राज्यवादका विरुद्ध एसियाई एकताको आवाज उठाएका थिए । नेपालको इतिहासको यो ऐतिहासिक सन्दर्भ वा भीमसेन थापाको त्यो उद्घोषणको महत्व आज अमेरिकी साम्राज्यवादले एसिया र भारतीय विस्तारवादले नेपाललाई थर्काएको सम्बन्धमा थप सान्दर्भिक भएको छ । दोस्रो विश्वयुद्धमा जापानले पनि एसियालाई एकताको नारा लगाएको थियो, तर जापानको गाँठो जर्मनीका नाजी र इटलीका फाँसिवादीहरुसंग जोडिएको सन्दर्भमा यो नाराको उपदेयता हुन सकेन ।

आज एसिया वहुधुव्रीय, वहुराज्यीय, वहुजातीय, वहुधार्मिक हुँदै वहुवंशिय युद्धको क्रिडास्थल बन्दै गईरहेको छ । अमेरिका अन्तर्रजातीय विवाह, अन्तरजातीय समाज हुँदै एउटा‘कम्प्लेक्स सोसाईटी’ को अवधारणामा विकसित हुँदैछ । युरोपले एउटा देशको एकता मात्र होइन,‘युरोपेली युनियन’मार्फत युरोप एकताको अवधारणा अघि सारिरहेको छ । अमेरिकाको ‘कम्प्लेक्स सोसाईटी’ र युरोपको युरोपियन युनियन जस्ता राष्ट्रिय तथा महादेशीय एकताका औजार यति बलिया बनेकाछन कि ती औजारलाई वहुधुव्र, वहुराष्ट्र मात्र होइन, बहुजात, वहुक्षेत्र हुँदै वहुवंशमा समेत बाँडिदै गएको विशेषतः अफ्रिका र एसियाको पिछडिएको राजनीतिले ती औजारलाई तत्काल हल्लाउन सक्ने देखिदैन । ‘आफैमा विभाजन’ अफ्रिका र एसियाको बदलिँदो शक्ति संतुलन विश्व राजनीतिको भयानक दुःख बनेको छ ।

चीन–जापानको परम्परागत शत्रुता, उत्तर–पूर्वी भारतीय राज्यमा भारत–चीन सीमा विवाद, भुटानको आकासमा भारतीय अम्ब्रेला, सुमन्द्रको पानी बाँडफाँड लगाएतका प्रश्नमा भारत र वंगलादेशका बीचको मतभेद, श्रीलंकालाई उचाल्ने र पछार्ने भारतको अर्ध–औपनिवेशिक नीति, माल्दिभ्समा भारतको उपस्थिती, पाकिस्थान–भारतबीचको शत्रुता र पाकिस्थानको साम्प्रदायिक घाउ, अफगानस्थानको गृहयुद्धको खटिरो, भारत–अमेरिका आणविक‘डिल’ दक्षिण एसियामा भारतको विस्तारवादी नीति एकधुव्रीय एसियाको आवश्यकता विरुद्ध अगाडि उभिएका डरलाग्दा काहानीअरु हुन ।

मेरो धर्म, मेरो जाती, मेरो गाउँ, मेरो वंश, मेरो खलक श्रेष्ठ छ भन्ने मध्ययुगिन मानसिक संस्कारले इथोपिया, नाईजेरिया, सुडान लगायतका दर्जनौ अफ्रिकी मूलुक मात्र तवाह भएका छैनन, अफगानिस्थान, पाकिस्थान र इराकलाई पनि गाँजेको छ । हाम्रो मूलुकमा जनआन्दोलनको तागतमा धर्म निरपेक्ष राज्य र गणतन्त्र स्थापना भएको छ । यो विन्दुबाट हामी राष्ट्रिय एकता र सद्भावलाई मजवुद बनाएर प्रजातान्त्रिक विकेन्द्रीकरण, स्थानीय स्वशासन सहितको एकात्मक राज्य प्रणाली मार्फत अग्रगामी कदमबाट अगाडि जाने बेलामा पछाडि फर्केर जात र वंशको राज्य खोजेर मूलुकलाई वहुजातीय धुव्रमा विखण्डन गराउने अभ्यासहरु भईरहेकाछन । यसबाट हामी मुक्त हुने होइन,अरु पराधिनता र भयावहको अवस्थामा वेग हान्दै छौं भन्ने कुरामा विमती राख्ने ठाउँ छैन ।
थोरै चर्चा जंगलको

२०५२ साल फागुन २ गते नेपालको इतिहासमा एउटा वेग्लै प्रकारको आन्दोलन शुरु भयो । त्यो आन्दोलनको नाम ‘जनयुद्ध’ भनियो । अर्थात सबैले बुझ्ने सजिलो भाषा भन्ने हो भने बन्दुकको नालमा टिकेको राज्य ब्यवस्थालाई बन्दुकको नालबाटै ध्वस्त पारि नयाँ जनवादी ब्यवस्था लागु गर्ने आन्दोलन । झट्ट सुन्दा र अँझ कम्युनिष्ट कार्यकर्ताले बुझदा यो तथ्य त माक्र्सवाद संवत नै छ । किनकी पूँजीवादी ब्यवस्था अन्त्य गर्ने यो नै अन्तिम अचुक प्रहार हो । तर यसका केही न्यूनतम आधारभूत नियमहरु हुन्छन र छन पनि । शसस्त्र संघर्ष अर्थात नौलो जनवादी क्रान्ति शुरु गर्दा तीनवटा सर्त अनिवार्य पुरा भएको हुनु पर्दछ । पहिलो सर्त अनुशासित पार्टी संगठन । दोस्रो सर्त फराकिलो संयुक्त मोर्चा र तेस्रो मिलिटेन्ट जनसेना । यी तीन आधारभूत कुरा नभईकन नौलो जनवादी क्रान्तिको शुरुवाद गर्नु रत्नाकरले आफु टुप्पोमा बसेर रुखको फेद काट्नु जतिकै मूखर्ता हुन्छ । यहि मूखता तत्कालीन माओवादीले २०५२ मा शुरु गरेको थियो । शुरुमा बाघ होस वा गोमन सर्पको चल्ला राम्रै र सुन्दर देखिन्छ तर कालन्तरमा हुर्कदै जाँदा बाघको काम सिकार गर्नु हो र गोमन सर्पको काम विष ओकल्नु नै हो । माओवादी जंगली क्रान्ति पनि कालन्तरमा यस्तै बन्यो, जसको बाटो त्यो भन्दा भिन्न थिएन ।

शुरुका चरणहरुमा देशका बेरोजगार युवाहरुलाई विभिन्न प्रलोपनमा पारेर जंगलतिर आकर्षण गर्ने काम भयो, त्यस पछि समाजका डकैती, फटाह, जाली, छली कपडीहरुलाई हुल्ने काम भयो । हुँदै जाँदा कहि कतै भालाखुकुरी प्रहार गर्ने, बन्दुक पडकाउने र अन्तिम चरणमा आएर सेना, पुलिसको हतियार खोस्ने, आकक्रमण गर्ने तथा देशका सामान्तहरु र पूँजीपतीहरुसित ठूलो पैमानामा धन कुम्ल्याएर उनीहरुलाई कालोबजारिया गर्न दिने र निमूखा जनताहरुसित निहुँ खोजी उनीहरुको हत्या गर्ने क्रमले चरम सिमा नाध्दै गयो । अन्ततः माओवादी जंगली आतंकलाई देशले थाम्नै नसक्ने अवस्थामा पु¥यायो । यस हिसाबले हेर्दा र त्यो आन्दोलनले लिएको गलत दिशा र परिणाम हेर्दा विश्वमा यो आन्दोलनले बदमान कमाउन देखी बाहेक अरु उपलब्धि हाँसिल गर्न सकेन । प्राप्त पूँजीवादी गणतन्त्रको स्वरुप नै अहिलेसम्म धरामा प¥यो । त्यसको आधारभूत उदाहरण हो स्थानीय निकायको चुनाव नहुनु र जात, धर्म, क्षेत्रका आधारमा देशलाई विभक्त गर्ने प्रयास गर्नु । त्यही द्वन्द्वकालको पालमा शेरबहादुर देउवाले किरो सेरा टु अप्रेशन चलाएर नेपालका कम्युनिष्ट पार्टीलाई समाप्त गर्ने खेल खेले । सरकारी पक्षले यहि अवस्था छोपेर ब्यापक राज्यको ढुकुटीमा दाँई खेले । निहत्था जनतालाई गुम बनाए र हजारौं नेपाली चेलीवेटी बलत्कार गरे । सोझासाझा जनतालाई माओवादीको विल्ला भिराएर हत्या गर्ने र बढुवाको विल्ला ठोक्ने काम गरे । दुवै पक्षबाट भएका यी र यस्ता आतंकारी गतिविधिले देश अहिले पनि आलो घाउमा छ । यस विषयमा यो भन्दा धेरै कुराहरु ओकल्नु पर्ने आवश्यकता छैन । सारमा भन्नु पर्दा माओवादी जंगली आन्दोलन जनवादी क्रान्ति नभईकन नेपालका प्राकृतिक स्रोत र साधन कब्जा गर्नका लागि दक्षिणी छिमेकी मूलुकले चलाएको आन्दोलन थियो ।
प्रचण्डकै कारण देश विखण्डन हुन सक्छ किन ?

वर्तमान युग पूँजीवादी गणत्त्रको युग हो । सामान्ती अवशेषहरु केही मात्रामा कायम भएका र नेपाल पूँजी र प्रविधिमा जुन योग्यता हाँसिल गर्नु पर्ने हो, त्यो योग्यता हाँसिल गरी नसकेको मूलुक हो । यसको एउटै कारण सामान्ती केन्द्रीकृत भ्रष्ट राज्य ब्यवस्थाले लामो समयसम्म देशमा सत्ता चलाउनु । तसर्थ अहिले प्रमूख आवश्यकता सामान्ती केन्द्रीकृत भ्रष्ट राज्यब्यवस्थाका अवशेषहरुलाई निमूलीकरण गर्दै प्रजातान्त्रिक वुर्जुवा गणतन्त्र स्थापना गर्नु ।

तर प्रचण्डले आफु ब्यक्तिगत रुपमा केही स्वार्थ लिनका लागि देशलाई नै अभिसाप हुने गरी जंगलबाट निस्केर शान्ति प्रकृयामा आईसके पछि एउटा नारा दिए त्यो नारा भनेको जात,क्षेत्रका आधारमा देशलाई विभक्त गर्ने । अर्थात उनले यतिसम्म भ्रम फैलाउन सफल भएकी नेपाली जनताहरु राज्य नपाएर उत्पीडनमा परेका हुन, सामान्ति भ्रष्ट केन्द्रीकृत राज्य ब्यवस्था र एकात्मक राज्य ब्यवस्था एउटै हो । एकात्मक राज्य ब्यवस्थाका कारण जनताका अधिकारहरु प्राप्त हुन नसकेका हुन । यी दुई संक्रिण नाराको उठान गर्ने माओवादी विशेष गरेर प्रचण्ड नै हुन । उनको यो देश विखण्डन गराउने प्रकारको नारालाई मधेशी सामान्त, दलाल केही नेताहरुले आफ्नो मूख्य माग बनाए । त्यसै गरी डलरको खेती गर्ने केही अतिजातीवादीहरुले पनि आफ्नो नारा बनाए र जनतलाई भ्रममा पार्दै यस प्रकारको खती एक वा अर्को प्रकारले फस्टाउने वातावरण बन्यो ।

आज सत्ता समीकरण बदलिएको छ । त्यो सत्ता समिकरण बदलिनुको मूख्य कारण नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छेले भने झैं भारतले जन्माएको माओवादी पार्टी अहिले भारत कै परिवन्धमा परेको छ । प्रचण्डका साम्ने दुईवटा विकल्प पहिलो विकल्प कि भारतले भनेको मान्नु पर्ने । दोस्रो विकल्प अन्यथा जीवन गुमाउनु पर्ने । नचाहाँदा नचाहँदै पनि जीवन रक्षाका खातिर भारतीय शासकको गाटी बनेर उसको इच्छा पुरा गर्नका लागि वर्तमान सत्तालाई अल्पमतमा पार्नु पर्ने भयो र त्यसको नेतृत्व प्रचण्डले गर्नु पर्ने भयो । उदाहरण साँक्षी छ प्रचण्ड भारतको दवाव र इसारामा चलेको किनकी के.पी. ओलीको सरकार अल्पमतमा परे लगत्तै भारतमा दीपावली मनाईयो । विखण्डनकारी सामान्त तराईका केही नेताहरुको इसारामा तराईमा दीपावली मनाईयो । यी दुई उदाहरणले प्रचण्ड भारतका दलाल वा गाटी बनेर आफ्नो दासत्व सत्ता चलाउने जमर्को गर्दैछन ।

प्रचण्डको यो सत्ताले दुईवटा ठूला संकट निम्त्याउने प्रवल संभावना –छ । प्रथम देशलाई विखण्डन गराउनेः धेरै जसो नेपालीलाई थाहा छ, नेपाल अनेकता बीचको एकताबाट टिकेको मूलुक हो । जातिय, भाषिक, धार्मिक, क्षेत्रीय एकता र सद्भाव नै नेपालको मूल पहिचान हो । तर २०५२ सालको दस्तावेजमा पनि यो कुरा उल्लेख छैन र नेपालको अन्तरिम संविधान २०६३ को दोस्रो संसोधनसम्म पनि यो कुरा उल्लेख छैन, त्यो कुरा के हो भने नेपालमा संघीयता लागु गर्ने । नेपाली जनताले चलाएका अहिलेसम्मका कुनै पनि आन्दोलनमा संघीयता चाहियो भनि आवाज उठाएन । एक्कासी कहाँबाट आयो माओवादी मार्फत यो नारा ? तथ्य बुझन धेरै टाढा जानु पर्दैन । निश्चित उद्देश्यले माओवादी जन्माउने भारत हो, र त्यही भारतले तिनै उद्देश्य पुरा गर्न माओवादी मार्फत यी नारा अघि सारेको हो । देशलाई चोरबाटोबाट संघीयतामा लैजाने दुश्शाहस गर्नुको मूख्य कारण नेपालको तराईलाई एक मधेश स्वायत्त प्रदेशका नाममा पहिला टुक्राउने र पछि भारतीय महासंघमा विलय गराउने, दोस्रो नेपाल प्राकृतिक स्रोत र साधनले धनी मूलुक छ । नेपालमा अस्थिरता कायम नराख्ने हो भने, जातिय, क्षेत्रीय, धार्मिक द्वन्द्वमा नफसाउने हो भने प्राकृतिक स्रोतको दोहन गर्न पाहिदैन । तसर्थ यो अन्तिम अस्त्रका रुपमा संघीयताको विष रोप्ने काम भारतले गरेको हो भने यसको नेतृत्व माओवादी र विशेष गरेर अभियान्तको रुपमा प्रचण्डले गरेकाछन । जसरी लेण्डोप दोर्जेले सिक्कीम भारतमा विलय गराए, ठीक त्यही प्रकारले प्रचण्डले पहिला तराई र त्यस पछि नेपाललाई भारतीय महासंघमा मिलाउने योजनाको गाटी अर्थात दलालको भूमीका निर्वाह गर्दैछन । यो पहिलो खतरा हो ।

दोस्रो खतरा भनेको भारतमा अबको करिब ३० वर्ष पछि पिउने पानी र सिंचाईको ठूलो समस्या आउनेवाला छ । यसको विज्ञहरुले तथ्य सार्वजनिक गरिरहेकाछन । नेपालको जडिवुटीविना भारतका धेरै उद्योगहरु संचालन हुन सक्दैनन तसर्थ पानी र जडिबुटीमा कब्जा जमाउनका लागि नेपालमा अस्थिरता पैदा गराउनु पर्दछ । पछिल्लो समयमा भारतले उपयोग गर्न मिल्ने मानिस खोजीरहेको बेला प्रचण्डलाई फेला पारेको छ । प्रचण्डको नेतृत्वमा बन्ने सरकारबाट यो दोस्रो खतरा हो ।
यो आरोप होइन उनलाई लगाएको । यर्थात र सही प्रमाणका आधारमा पुष्टि भएको कुरा हो । किनभने विश्वलाई एउटै बनाउनु पर्दछ भनेर पूँजीवादीहरु लागि परेकाछन । एक्लै टुक्रिएर, छुट्टिएर केही गर्न सकिदैन भनेर युनियनहरु बनाएकाछन । जात, धर्म, क्षेत्रका आधारमा अलग हुने, समुह युद्ध गर्ने प्रचलन मध्ययुगिन प्रचलन र सभ्यता हो । यति कुरा पनि प्रचण्डले ख्याल गर्न सकेका छैनन । अर्को कुरा कम्युनिष्टको मूख्य र अन्तिम गन्तब्य नौलो जनवादी क्रान्ति मार्फत नौलो जवादी राज्य ब्यवस्था कामय गर्दै समाजवाद र साम्यवादमा पुग्नु हो । अर्थात आदिम साम्यवाद युग पछिको समाज वर्गीय समाज हो । एउटा वर्गले अर्को वर्गमाथि शासन गर्दछ । अहिले पूँजीपती वर्गले मजदूर वर्गमाथि शासन गरिरहेकाले मजदूर, किसानहरु उत्पीडनमा परेका हुन । कम्युनिष्टले बुझने मूख्य कुरा यहि हो तर प्रचण्ड राज्य नपाएर, जातिय, क्षेत्रीय,धार्मिक अधिकार नपाएर पछि परेका हुन भन्ने जुन तर्क छ, यो तर्कले देशलाई अग्रगमनका नाममा प्रतिगमनतर्फ लैजाँदै छ ।
र संघीयता नेपालमा आवश्यक छ वा छैन ? भन्ने वहस अहिले आएर अलि बढि चल्न थालेको छ । संघीयताको सिद्धान्त के हो ?, अहिलेसम्म संघीयतामा गएका मूलुकहरु किन गएका हुन ? के सामान्ती केन्द्रीकृत शासन र एकात्मक शासन एउटै हो त ? यो पनि अलि बढि बहसको विषय बनेको छ । यसको बारे चर्चा गर्न जरुरी हुन्छ ।

‘जंगली आन्दोलन’ बाट फर्के पछि सर्वहारा वर्गका नेता हुँ भन्ने र कुनै जमानामा आफुलाई विश्व सर्वहारा वर्गको असल नेतृत्व ठान्ने प्रचण्डले आफ्ना अनुयायी मार्फत आफुलाई ‘प्रचण्ड पथ’ को उपमा समेत दिन लगाए । राष्ट्रियताको रक्षा गर्नका लागि भन्दै गाउँ, जंगलहरुमा एल आकार, गोलाकार आदि प्रकारका सुरुङ्गहरु खन्न लगाए । तर अहिले आएर आफ्नै देश नेपाललाई अग्रगमनका नाममा प्रतिगमनतिर लैजाँदैछन । के नेपालमा संघीयता आवश्यक छ त ? कदापी छैन । किनभने विश्वमा संघीयताको अभ्यास तीन कारणले गरिएको छ । पहिलो कारण, छरिएर रहेका मूलुकहरु एककृत भई विश्वमा ती मूलुकहरुले आफ्नो अस्तित्व कायम गर्न संघीयताको अभ्यास गरिरहेकाछन । जस्तै संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिका अलग– अलग अस्तित्वमा रहेका राज्यहरुछन । उनीहरुले एउटा वलियो युनियन खडा गरेर अन्य मूलुकहरुमा आफ्नो प्रभाव जमाउन चाहान्छन । त्यस कारण संघीयताको अवधारणा अनुसार संयुक्त राज्य अमेरिकी युनियन बनेको हो । दोस्रो कारण, देश जातिय, धार्मिक, क्षेत्रीय युद्धमा होमिएर टुक्रिनै लाग्यो भने टुक्रिनबाट बचाउन संघीयताको अभ्यास भएको हो । जसको उदाहरण नाईजेरिया, सुडान आदि देशहरुहुन । त्यहाँ जातिय विग्रह पैदा भए पछि अलग राज्य हुन थालेको थियो । देशलाई यसरी विखण्डन हुन नदिनका लागि संघीयताको अभ्यास भयो । अहिले ती देशहरु दर्जनौं संघमा रुपान्तरण हुँदा पनि त्यो विग्रह झन चर्केर गएको छ । तेस्रो कराण राष्ट्रलाई उपनिवेशबाट मुक्त गराउनका लागि संघीयता लागु भएको हो । जस्तैः भारत । भारतमा व्रिटिस सामाज्यले उपनिवेश कामय गर्दा भारत २२ वटा अलग– अलग राज्य थिए । यी सबै राज्यहरु नमिलीकन उपनिवेशबाट मुक्त हुने संभावना नदेखिए पछि सबै एक भएर उनीहरुलाई हटाएर संघीयता लागु गरि अनेकता बीचको एकता कामय गरे ।

शिद्धान्ततः संघीयता एउटा शासन प्रणाली हो । जुन मूलुक एकल जातिय हुन्छ, जुन मूलुक पूँजी र प्रविधिले सम्पन्न हुन्छ, त्यो मूलुकले संघीयता धान्न सक्दछ । तर नेपालमा पूँजी र प्रविधिको अभाव छ । अनेक जातहरु मिलेर सिंगो नेपाल बनेको छ । यस्तो मिलेमतो भएको देशलाई विखण्डन गर्नु पर्ने कुनै कारण नै छैन । अखण्ड देश विखण्डन गर्नका लागि मात्र संघीयताको अवधारणा आएको हो । अर्को कुरा संघीयतालाई समावेशिताको प्रायबाची भनिएको छ । संघीयताभित्र समावेशी कुनै पनि हालतमा हुनै सक्दैन । यी दुई तत्व एक आपसका विपरित सिद्धान्त भएका तत्वहरु हुन ।
विशेष गरेर प्रचण्ड र प्रचण्डका अनुयायीहरु मार्फत जनतामा अर्को गम्भीर भ्रम फैलाउने काम भएको छ । त्यो भनेको एकात्मक राज्य प्रणाली र सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणाली एउटै हो । वास्तमा यो भनाई पूर्ण तः असत्य हो । विश्वमा दुई सयभन्दा मूलुकहरु अस्तित्वमा रहेकाछन । ती मूलुकहरुमध्ये जम्मा दुई दर्जन जति मूलुकहरुले मात्र संघीयताको शासन प्रणाली अवलम्बन गरेकाछन । जुन मूलुकहरु संघीयतामा गएकाछन, ती मूलुकहरुको वर्तमान निकै चुनौतीपूर्ण छ भने एकात्मक राज्य प्रणाली अवलम्वन गरेका मूलुकहरुको विकास निकै माथि पुगेको छ । तसर्थ सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणाली र एकात्मक शासन प्रणाली एउटै कुरा होइन । प्रचण्ड मार्फत फैलाईएको यो एउटा कपोकल्पित, भ्रमपूर्ण जालझेल हो र देशलाई एक वा अर्को प्रकारले नाईजेरिया, सुडान वा फिजीकरण वा सिक्कीमिकरण बनाउने योजना हो ।

निश्कर्षः
नेपाली जनता राज्य नपाएर उत्पीडनमा परेका होइनन, हामी सबै आम नेपालीहरुले बुझ्नै पर्ने मूख्य चुरो कुरा यहि हो । आजसम्मको इतिहास हेर्दा नेपालमा वहुदलिय ब्यवस्था आउनुभन्दा अघि यो मूलुकमा भाईभारदारहरुले शासन गरे । उनीहरुले अधिकारलाई केन्द्रीकृत गरे । सामान्ती ब्यवस्था कामय गरे । त्यो भ्रष्ट सामान्ती केन्द्रीकृत राज्य ब्यवस्थाले जनतालाई उत्पीडनमा पार्ने काम ग¥यो । यसैको परिणाम स्वरुप जनता अधिकारबाट बन्चित भए । धर्मका आधारमा, जात र क्षेत्रका आधारमा त्यो सामान्ती भ्रष्ट केन्द्रीकृत शासनले आफ्नो वंशिय शासन टिकाउन ब्यापक दमन मात्र गरेर अधिकार नै दरबारमा खुम्चाएर राख्यो । फलतः देशको विकास हुन पाएन, जनता उत्पीडनमा परे ।

अहिले नेपालमा पूँजीवादी गणतन्त्रात्मक ब्यवस्था आईसकेको छ । जनताका केही हक अधिकारहरु वर्तमान संविधानले शुनिश्चित पनि गरिसकेको छ । अबको आवश्यकता राज्य विभाजन होइन, अधिकार विभाजन हो । अधिकार प्रत्यायोजन हो । अर्थात त्यो मध्ययुगिन सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणालीका सम्पूर्ण अवशेषहरु हटाउँदै विकेन्द्रीकरणको सिद्धान्तमा आधारित स्थानीय स्वायत्तता सहित प्रजातान्त्रिक एकात्मक राज्य ब्यवस्था कायम गर्नु पर्दछ । यो नै अखण्ड नेपाललाई अखण्ड नेपालकै रुपमा कायम राख्ने र जनताको हित हुने कार्य हो । यो विधिले मात्र सम्वृद्ध, समुन्नत, आत्मनिर्भर र विकाशशील नेपाल बन्न सक्दछ । तर नेपाललाई सम्वृद्ध, समुन्नत, आत्मनिर्भर र विकाशशील नेपाल बन्न नदिनका लागि भारतले संघीयताको विष वृक्ष प्रचण्ड मार्फत रोपेको छ । यो विष वृक्ष मधेशवादी सामान्त, दलाल केही नेताहरुले झन फलाउने, फुलाउने काम गरिरहेकाछन भने युरोपियन युनियनले नेपालमा जातिय विग्रह कायम गरि नेपालको प्राकृतिक स्रोत र साधान दोहन गर्न खोजी रहेकोछ । प्रचण्ड मार्फत केही अतिजातीवादीहरुले यसको अगुवाई गरिरहेकाछन । तसर्थ वर्तमान अवस्थामा प्रचण्ड अतिजातीवादी तत्वहरु, सामान्ती दलाल मेधशवादी केही तत्वहरुसित मिलेर संघीयताको नाममा देशलाई विखण्डन गर्ने खलनायकका रुपमा उदाँदैछन । देशलाई पूर्ण रुपमा बचाउनका लागि प्रचण्डलाई पछाडि धकेल्न सकिएन भने संघीयताले देश टुक्राउने पक्का पक्कि छ । संघीयताको विष वृक्ष रोपेर नेपाललाई नाइजेरिया, इथोपिया, सुडान बनाउने काम सबैभन्दा बढि प्रचण्डबाट भएकाले प्रचण्डको पतन यो मूलुकको पहिलो र अनिवार्य आवश्यकता हो । हुन त कुनै पनि विषयको अन्त्य र उदय ब्यक्ति विशेषमा जोडिएको हुँदैन तर नेपालको सन्दर्भमा देश विखण्डन हुन सक्ने र गराउन सक्ने मूख्य पात्रका रुपमा प्रचण्ड उदाएकाले यो आलेख ब्यक्ति विषेशमा केन्द्रीत भएको आभाष हुन सक्दछ । यथार्तमा त्यसो होइन । यी सबै दृष्टान्तलाई आधारमान्दा प्रचण्डको सत्तामा आगमन देश विखण्डन हुने पूर्व पूर्ण सकेत हो ।

लेखक “साझा प्रतिविम्व” राष्ट्रिय साप्ताहिकका प्रकाशक हुन ।

प्रतिक्रिया