अमेरिकामा नेपाली सामुदायिक केन्द्रको आवस्यकता किन पर्यो ?- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ साउन १५ गते १५:०४ मा प्रकाशित

PRAKASH SHRESTHA

मानिस सामाजिक चेतनशिल प्राणी भएकोले उसले आफ्ना हरेक गतिविधीमा सामुहिकताको भावना र आवस्यकताको महशुष गर्छ । समाजमा मिलेर बस्नु र समाजको अस्तित्व स्वीकार गर्नु मानविय आचरणनै हो तसर्थ स्वदेश वा विदेशमा जहाँ जे, जसरी रहेपनि आपसी सद्भाव र सदासायतामा कायम गर्नु आवस्यक हुन्छ । हरेक मान्छेको आफ्नै संस्कार हुन्छ, रितीरिवाज, चालचलन, संस्कृती, मुल्य-मान्यता, चाडवाड, भेषभुषा, भाषा, परम्परा, धर्म, संस्कार, कला, दृष्टिकोण रहेको हुन्छ । त्यसमा पनि हामी नेपालीहरुको आफ्नै विशिष्ट कला, संस्कृती, परम्पराहरु, संस्कारहरु छन् र तीनीहरुलाई सकभर स्वदेशमा मात्र हैन विदेशमा अति व्यस्तताको बाबाजुद पनि कायम राख्ने, अनुसरण गर्ने गरेको पाईन्छ र त्यसो गर्नु पनि जरुरत छ ।

आखिर नेपाली भनेर परिचित गराउने महत्वपुर्ण आधार भनेकै तिनै कुराहरु पनि हुन्, अन्यथा नेपाली र गैरनेपालीमा फरकनै के पो हुने भयो र ? नेपालमा जन्मिदैमा र नेपाली बाबुआमा वा पुर्खा हुँदैमा नेपाली कहलाउने मान्यता त्यति सान्दर्भिकता हुँदैन जति नेपाली मन र व्यवहार हुन्छ । अर्थात् व्यवहारमा पनि हामी नेपाली भएर बाँच्न सक्नु र नेपालीपनलाई संसार सामु परिचित गराउनु हामी सबैको दायित्व हुने गर्दछ ।
वास्तवमा नेपालीहरु वर्तमान समयमा रोजगारी, अध्ययन एवं व्यवसायको शिलशिलामा विभिन्न मुलुकमा छरिएर रहेका छन् । त्यसमा पनि अमेरिकी लगायत कतिपय मुलुकमा स्थायी बसोबासकै क्रममा रहेका छन् । त्यसैले यस्ता विकासित देशहरुमा नेपाली भाषा, कला, संस्कृति, परम्परालाई युगौयुग सम्म जोगाई रहनु आवस्यक छ जसरी बर्मा, भुटान र भारतका कतिपय भुभागमा समेत अहिले सम्म पनि नेपाली भाषीहरुले आफ्नो पुर्खाहरुले अवलम्वन गरेको भाषा, संस्कार, भेषभुषा, कला, संस्कृति, चाडवाड, मान्यताहरुलाई जीवन्त बनाईरहेका छन् ।

अझै नेपालमा शरणार्थी जीवन विताएका भुट्निज नेपाली भाषीहरु अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायत विभिन्न मुलुकमा पुनर्स्थापना कार्यक्रम अन्तर्गत तिनै मुलुकहरुको नागरिकता लिएर बसोबास गरेको भएपनि नेपाली भाषा र पहिले देखि अनुसरण गरेका सबै किसिमका नेपाली संस्कारहरु, रितिरिवाजहरु मान्दै आएको र त्यसलाई अझै सामुदायिक रुपमै संगठित भएर अगाडी बढाएको देखिन्छ । अमेरिकामा करिव एक लाखको हाराहारीमा रहेका भुट्निज नेपाली भाषीहरुले आपसमा संगठित भएर हरेक समस्याहरुलाई सामुहिकरुपमा समाधान गर्ने देखि हरेक नेपाली सांस्कृतिक गतिविधीहरुमा अग्रपंक्तीमा रहेको देखिन्छ ।
यसलाई समेत मध्यनजर राख्दा हामी नेपालीहरु जो जति अमेरिका बसिरहेका छौ र अमेरिका आएर बस्ने क्रममा छौ, ती सबै व्यक्तीहरुले पनि एउटा कुरा के ख्याल राख्नु पर्छ भने अमेरिका आईसकेर बसिसके पछि पुन: नेपाल फर्केर सधैको लागी जाने सम्भावना निकै कम रहन्छ र अझै परिवार सहित आउनेहरु, परिवार आउने क्रममा रहेकाहरु सधैको लागी यतै बस्नेनै हो त्यो रहर वा बाध्यता जे जुसै मानिएला त्यो यथार्थ हो । अव यसरी युगौयुग, पुस्तौ अमेरिका रहने भैसके पछि आफ्नो सन्तानहरुमा पनि आफ्नो पहिचान र छापलाई पनि हस्तान्तरण गर्दै जानु आवस्यक छ ।

यसको मतलव जन्म देखि मृत्युपर्यान्त सम्म गरिने हरेक गतिविधी, धर्मकर्म, रितिरिवाज, संस्कारका साथै आपसमा बोलिने भाषालाई समेत जीवन्त राख्नु पर्ने हुन्छ । यसका लागी नेपाली भाषा कक्षा वा स्कुलको आवस्यकता पर्यो, सामुहिक चाडवाड, उत्सव मनाउन विवाह, ब्रतबन्ध लगायतका संस्कारगत कर्मकाण्ड सम्पादन गर्न, जमघट, भेला, सभा-सम्मेलन, सेमिनार, धार्मिक प्रवचन लगायत अनेक गतिविधी संचालन गर्न साथै नेपाली समुदायमा आपसमा सुचनाको आदान प्रदान गर्ने सुचना केन्द्र लगायतको व्यवस्था गर्न सबैलाई पायक पर्ने गरि सामुहिक संलग्नता र सामुहिक दायित्व एवं स्वामित्व रहेको संस्थागत थलोको स्थायी प्रबन्ध हुनु पर्यो ।

यी सबै कुराहरुको व्यवस्था गर्ने सामुहिक स्वामित्वको एउटा “सामुदायिक भवन” वा “सामुदायिक केन्द्र” निर्माण हरेक राज्य जहाँ नेपालीहरुको जनघनत्व बढि छ त्यहाँ हुन सक्यो भने निकै उपयोगी हुन सक्छ । नेपालीहरुको जनघनत्व बढिरहेको ठाउँहरुमा यस्ता सामुदायिक भवन वा सामुदायिक केन्द्रको व्यवस्था हुन सकेमा विभिन्न उत्सवहरु, सांस्कृतिक कार्यक्रम, स्टेज प्रोग्राम, सभा-सम्मेलन गर्न, व्यापारिक एवं आर्थिक अभिमुखीकरण कार्यक्रम तथा सेमिनारहरु संचालन गर्न, स्वास्थ शिविर, सामाजिक संघ-संस्थाहरुको कार्यक्रमहरु आयोजना गर्न, वैवाहिक कार्यक्रम, धार्मिक कार्यक्रम आदी सम्पादन गर्न अन्यत्र भाडामा कार्यक्रममा लागी मन्दिर, चर्च, रेष्टुरेन्ट, होटलका हलहरु लिईरहनु पर्ने र विभिन्न प्राविधिक समस्याहरु झेल्नु पर्ने बाध्यताबाट मुक्त हुन सकिन्थ्यो ।

अर्को तर्फ यस्ता नियमित र निरन्तर भईरहने कार्यक्रमहरु सम्पादन गर्न सबैलाई सहज हुने त छदैछ त्यसको अलवा सामुहिक जम्काभेट गर्न र नेपाली समुदायको हित हुने विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्न समेत सजिलो हुने देखिन्छ । त्यसो त यस्ता सामुदायिक भवनमा तुलनात्मक रुपमा कम भाडा तिरेर कार्यक्रमहरु सम्पादन गर्न पनि सकिने सम्भावना रहन्छ । त्यस्तै यसले नेपालीहरु वीच आपसमा सामुहिक भावना र आत्मियता कायम राख्न आपसमा जोड्ने आधारको विकास पनि हुन सक्छ । त्यस्तैगरि यस्ता भवनमानै विभिन्न सामाजिक संघ-संस्थाहरुको कार्यालय समेत राख्ने व्यवस्था हुन सके झनै नेपाली समुदायहरुलाई एउटै छत मुनि सबै खाले सामाजिक सुविधाहरु लिन र सामाजिक सेवाको लागी सम्पर्क स्थापित गर्न समेत सजिलो पर्ने देखिन्छ ।

अत: विभिन्न राज्यमा क्रियाशिल सामाजिक संघ-संस्थाहरुको सामुहिक प्रयासबाट यस्ता सामुदायिक भवन वा केन्द्र निर्माणको लागी आवस्यक पहल हुनु जरुरी छ । यसको लागी एन.आर.एन. अमेरिकाले समन्वयात्मक भुमिका खेल्नको लागी हरेक राज्यका च्याप्टरहरुलाई सकृय बनाउनु जरुरी छ । त्यस्तै नेपालीहरुको अधिक जनघनत्व हुने राज्यहरुमा नेपाली भाषाको माध्यमबाट ड्राईभिंग लाईसेन्स लिने व्यवस्था पनि हुनसके भर्खरै नेपालबाट आएका र अंग्रेजी भाषामा राम्रो दख्खल नभएका नेपालीहरु, भुट्निज नेपाली भाषीहरुलाई समेत निकै सजिलो हुने थियो ।

यसै कुरालाई मध्यनजर राख्दै हालै मात्र एन.आर.एन. मेरिल्याण्ड च्याप्टरको अगुवाईमा यही अक्टूबर महिनाको शुरु देखि ड्राईभिंग लाईसेन्स लिनको लागी मेरिल्याण्ड राज्यमा नेपाली भाषामा परिक्षा दिन पाईने व्यवस्था हुने भएको छ । यस्तो सराहनिय काम गरेकोमा एन.आर.एन. मेरिल्याण्ड च्याप्टरलाई मेरिल्याण्डवासी नेपालीहरुले मुक्तकण्ठाले प्रसंशा समेत गरेका छन् । त्यस्तै मेरिल्याण्ड लगायत विभिन्न राज्यहरुमा नेपाली भाषा कक्षाहरु संचालन भईरहेको र अझै व्यवस्थित पाठ्यक्रम बनाएरै अमेरिका भरि यस्ता नेपाली भाषा कक्षा संचालन हुनसकेमा नयाँ पुस्ताहरुमा नेपाली भाषा बोलचाल र लेख्न योग्य बनाउन सकिने जसले गर्दा नेपाल एवं नेपालीको बारेमा सजिलै आवस्यक जानकारीहरु गराउन सकिने साथै नेपालीपन कायम राख्न मद्दत पुग्ने देखिन्छ ।

त्यसो त भविश्यमा गएर अमेरिकामा स्कुल एवं कलेजमा समेत अतिरिक्त विषय अन्तर्गत नेपाली भाषाले समेत प्राथमिकता पाउन सक्ने अवस्था पनि आउन सक्ने कुरालाई नकार्न सकिदैन, त्यसलाई समेत यस्ता भाषा कक्षाहरुले निरन्तर सहयोग पुराउन सक्छन् । यसरी हेर्दा सामुदायिक भवन वा सामुदायिक केन्द्रको स्थापना हुन सकेमा पक्कै पनि नेपाली समुदाय विच आपसमा विभिन्न गतिविधी संचालन गर्न, आपसी सद्भाव कायम राख्दै सामाजिक, सांस्कृतिक, व्यवसायिक गतिविधी समेत सामुहिक रुपमा सम्पादन गर्न निकै टेवा पुग्ने देखिन्छ ।

( अमेरिका )

प्रतिक्रिया