जनताले तिम्रा मालिकको बाँध भत्काउँदा र बुहारी जिउँदै जलाउँदा कहाँ थियौ ?

इनेप्लिज २०७३ साउन १४ गते १२:३१ मा प्रकाशित
unnamed
देशमा राज्य पुनर्संरचनाको मुद्दा माथि बहस जारी छ । पहिचानको दक्षिण र पश्चिमा आयातित सिद्दान्तलाई केहि स्वनामे पहिचानवादीहरुले  बारम्बार बहसमा ल्याईरहेका छन् मानौ यो नै उनीहरुको जीवन मरणको सवाल हो , उनीहरुको लाज ढाक्ने एकमात्र अस्त्र यहि नै हो । यसो भन्दा मलाई देशमा चलेको पहिचानको आन्दोलनको बिरोधी भनेर कसैले बुझ्छ भने त्यो तथाकथित पहिचानवादी हो ।
डाक्टर गोबिन्द के. सी. ले मेडिकल माफियाको  ब्यापारीकरण अन्त्यका लागि गरेका पटक पटकका अनसन पहिचानको आन्दोलन बन्न सक्दैनन यहाँ सत्य र निष्ठाको लागि पटक पटक अनसन बस्नुपर्ने छ  भने झूठको पूलिन्दा बनाएर जनता दिग्भ्रमित पार्नेहरु अझ बलिया बन्दै गईरहेका छन् ।

गज्जबको कुरा यहाँ आफ्नो पहिचान अरु कसैले कपट र झपट गरेर प्रायोजन गरेर देखाईदिएका छन् । नब्बे प्रतिशत भन्दा बढि जनमतले बनाएको संसारकै अब्बल मध्येको संबिधानलाई सिंहदरवारको भित्ता फोहोर बनाएर जबर्जस्ती बिभेदि संबिधानको रुपमा ब्याख्या गरिदै छ । दुखको कुरा यहि पहिचानको आन्दोलनमा वास्तविक सरोकारवाला नै समावेश छैनन् तिनीहरु या त तिनै आन्दोलनका नाईकेहरुकोमा या त अरबमा पसिना संग श्रम साटिरहेका होलान् ।

मेरो चिन्ता ती ज्यानहरुको हो जसले कहिल्यै सिंहदरवार देखेकै छैनन्, मेरो चासो तिनीहरु प्रति हो जसलाई कहिल्यै सिंहदरवारले देखेकै छैन । सिंहदरवारमा हिजो तिनीहरुकै प्रतिनिधित्व जनाउन आएकाहरुले न त उनीहरुको जीवनमा रंग छरे न त कुनै रंगले उनीहरुलाई रंग्यायो । पहिचानवादीहरुले जब प्रतिनिधित्वको समय आउथ्यो तब आफू र आफ्नै श्रीमतीहरुलाई नियुक्त गरे, आफ्नै आसेपासेहरुलाई नियुक्त गरे । सिंह दरबारले पनि तिनैलाई मात्र देखिरह्यो ।

ती अभावमा रन्थनिएका मनहरुमा कालो पोत्ने काम सत्ताले मात्र हैन तिनीहरुकै नाईकेका जत्थाले गरिरहेको छ ।  यहाँ सम्म कि आफैले नमान्ने भनेर बहिस्कार गरेको संबिधान अन्तर्गत रहेर सरकार बनाउने र गिराउने बेला लाजै नमानी संसदीय कृयाकलापमा समेत सहभागी हुने अनि फेरि सडकमै आएर संबिधान मान्दैनौ भन्ने जस्तो हास्यास्पद पहिचानको नारा जनताले बुझेरै होला यी तथाकथित पहिचानवादीहरुलाई जनताले राम्रै खुम्चाईदिएका छन् ।म बिभेदी होईन, मधेसमा नजन्मे पनि हिड्न जानेको मधेसमै हो, खेल्न जानेको मधेसमै हो, मेरा वाल सखाहरु मधेसी नै छन् , मेरो बुझाईमा संबिधानको कुनै धाराले मधेसी भएकोमा या जनजाति आदिवासी भएकोमा बिभेद गरेको छैन, भोलि साँच्चै मधेस सम्पन्न भएमा म पनि सम्पन्न हुनेछु । तर किन म र मेरो बिचार भएका तमाम मधेसी मित्रहरुलाई यो पहिचानको आन्दोलनले छुन सकेको छैन ?

के ३६ बर्ष अघि पहाडबाट तराई झरेका मेरा बा आमा र मेरो हैसियत भारतबाट आएका अंगिकृत ज्वाईहरुको जति पनि छैन ?

सात बर्ष अगाडि पहाडिया मूलकै कर्मचारी भएको नाताले  म र मेरा  सहकर्मी प्रमुख अपहरणमा पर्यौँ  :दुई जना युवाले एक्कासी हाम्रो मोटरसाईकल रोके । हामी दुबैको कन्चटमा गोली ताक्दै आमा छोएर पहाडिया शासक भन्दै तथानाम अश्लील गाली गरे । अनि मोटरसाईकल आफै हाँकेर एक जनालाई बिचमा राखि मलाई फेरि लिन आउने र यताउता गएमा मारिदिने धम्की दिएर हुँईकिए । म खेतै खेत भागेर सदरमुकाम तौलिहवा आएँ तर मेरो  सहकर्मी मित्रलाई दश दश दिन सम्म भारत लगेर अँध्यारो कोठामा दैनिक मानसिक यातना दिई घरमा फिरौती रकम मागिरहे । ती तिनै पहिचानवादी मध्येका टोली नेता एक थिए जसले पाँच बर्ष जनप्रतिनिधि बनेर गा. बि. स. को बजेट झ्वाम पार्ने मात्र होईन हत्या, डकैती र लुटपाटको आरोपी थिए । तर अफ़सोच ! मेरा सहकर्मी मित्र न आन्दोलन दबाउने मध्ये थिए, न मधेसीको बिभेद गर्ने मध्ये नै थिए , उनी त मधेसमै ४० बर्ष अघि जन्मेका थिए । आफूलाई मधेसी नै भन्न रुचाउँथे । मधेसका मसिहा भनाउँदाहरुले भन्दा राम्रो अवधि बोल्छन् उनी ।

यहि घटनालाई नज़ीर बनाएर सबै मधेसीलाई दुत्कार्ने कुरा किमार्थ जायज़ हुन सक्दैन । किनकी विवेकी मधेसी मित्रहरुले नै उनलाई अपहरणमुक्त गर्न दिनरात खटेका थिए ।

समस्या हामी आफै भित्र छ, हाम्रा आयातित ज्वाई साहेव र भाइसाहेबहरुको बिभेदी मनहरु भित्र छ, कथित स्वनामे जातीय क्षेत्रिय आन्दोलनका नाईकेहरु संग छ । जसले जबर्जस्ती लादिएको बन्दमा दुई छाक टार्न ट्याक्सी चलाउने मज़दूरलाई नव एलिटको भिजिलान्ते देख्छ ,संसारमा जातियता उन्मूलन हुँदै गर्दा हामी जातियताका चर्का नारा लगाउँछौ, सारा बिष्व एउटै आँगन बनिरहँदा हामी क्षेत्रियता च्याँप्छौँ अनि कसैको उक्साहटमा सुधार हुँदै गरेको सामाजिक संरचना भत्काईरहेका छौँ, समाजमा छुवाछुतको अन्त्य हुँदै गर्दा  दलितलाई दिन दिनै अझ बढि दलित बनाईरहेका छौँ, जनजातिलाई अझ बढि जनजाति बनाईरहेका छौँ, मधेसीलाई नेपाली नबनाई मात्र  मधेसी बनाईरहेका छौँ, मगराँती, लिम्बुवानी र खसवादी बनाउन खोजिरहेछौँ ।  पहिचान भन्दै पुनर्संरचनाको नाममा हामी बिभाजन निम्त्याईरहेका छौँ । आफ्नै छिमेकीलाई जातकै आधारमा शासक देखेका छौँ । छिमेकीले आमा सरह पुज्ने गाईको मासु खान पाउनुलाई धर्म निरपेक्षता र पहिचान संझन्छौँ । यो कस्तो पहिचान हो ? पहिचान त ती बर्गहरुको गरीबीका हुनुपर्थ्यो, अशिक्षा, अज्ञानता र अबिकासको पो हुनुपर्थ्यो ।

हो ! केहि अभिजात्य मान्छेहरु निरन्तर सत्तामा छन्, तीनीहरुकै एकछत्र प्रभाव छ सत्तामा,  तर तीनीहरुको जात र थर संग जोड्दै हामी , सबैलाई शासक बनाईरहेका छौ । केहि पछाडि परेका जातिहरु पनि छन , तिनकै नाममा हामी मध्ये धेरैले रसस्वादन गरेका छौँ , काठमांडौमा करोडौँको सुनको ब्यापारी सुनार, ब्रिटिश लाहुरेको छोरा राई लिम्बु अनि करोडौँको गलैचा युरोप अमेरिका निर्यात गर्ने थकाली र काठमांडौमा महलहरु भएका जमिन्दार यादव, चौधरी , नेवार, गुरुंग जस्ता धेरै पहिचानवादीहरुले जातिकै नाममा गुलियो चाटिरहेका छौँ । अनि तिनीहरुकै प्रतिनिधित्व गर्दै सरकारी खर्चमा अक्सफोर्ड क्याम्ब्रिज पढेर अहिले समाज भाँडेर सत्ता सोपान गर्न उद्दत छौँ तर वास्तविक मान्छेहरुको न पहिचान छ न त यो मुद्दामा उनीहरुलाई कुनै चासो नै छ । दुरदराजका जनजातिहरुको दुर्दशा कसैलाई मतलब छैन किनकी  उनीहरु कुनै सिद्दान्त जान्दैनन तर उनका साहेवहरुले पढेको पहिचानको सिद्दान्त भित्री मनले मन पराएका छैनन् । यदि पराएको भए आज क्षेत्रिय र जातिय पार्टीहरु सबैभन्दा ठूला हुने थिए , राष्ट्रिय पार्टीहरुको अस्तित्व संकटमा पर्ने थियो ।
 तर मधेसका सबै जनतालाई भारतीय र दोश्रो दर्ज़ाको देख्ने हाम्रा कथित पहाडिया मानसिकताका अबुझ स्वाँठहरुलाई भन्नै पर्छ, तिम्रो मधेस र मधेसीलाई हेर्ने दोषी चश्मा फेरेर आऊ । सिमानामा जंगे पिलर बनेर देश बचाउने मधेसीहरु भारतीय होईनन्,तिमी भन्दा अब्बल नेपाली हुन् ।  हिजो सप्तरीमा देश डुब्नबाट बचाउनेमा मधेसका मसिहा थिएनन्, ती सीमा बचाउनेहरुको अधिकारको ग्यारेन्टी हुनैपर्छ।

सरकारले धेरै पहिले देखि  सबै गा. बि.स. नगरपालिकाहरुमा समानरुपले नियमित बजेट पठाएकै छ त्यहि बजेटले  पहाडमा मनग्गे बिकास हुन्छ, भईरहेको छ जनताहरु मरिमेटी श्रमदान गर्छन् , गास काटेर पैसा उठाउँछन् , त्यति नै बजेट तराईका दक्षिणी भागमा कता हराउँछ ? कामै नगरी बजेट सकिन्छ, या त कमसल काम हुन्छ । मिलिभगतमा स्वनामे पहिचानवादीहरुले हसुरेकै छन् , यदि होईन भने दक्षिणी तराईका गाउँहरु हेर्नुस, अहिले पनि त्यहाँको बाटो, पुल पुलेसा, बिद्यालय ,स्वास्थ्य केन्द्र र आयआर्जनको कार्यक्रमको अवस्था कस्तो छ ?  बाटो ग्राभेल नहुदै गिट्टी सकिन्छ, कल्भर्ट नबन्दै भत्किन्छ, मिलेमतोमा मरेका मान्छेहरुको नाममा बृद्द भत्ता उडाईने पनि त्यतै, बैठक गोष्ठीमा पैसा उडाईने अनि चोँख्खिन पहिचानको मुद्दा उठाउने वास्तविक नव एलिटहरु पनि त्यतै । अनि तिनीहरु नै त्यसका हर्ता कर्ता भएर बजेट माथि रज़ाई गरेको हो कि राज्य सत्ताका शाशक बर्गहरु त्यहाँ पुगेका हुन् ? कार्य सम्पादन मूल्यांकनमा ९० प्रतिशत तराईका सीमावर्ती गा. वि. स. फ़ेल हुनु यसको बलियो प्रमाण हो कि होईन ?

मधेसमा उल्लेख्य मात्रामा पहाडी समुदायका मान्छेको बस्ती छ, कुनै एक जातिको एक छत्र बसोवास कतै छैन, पहाड हिमाल पनि त्यस्तै छ तर सामाजिक न्यायको सिद्दान्तको खिल्ली उडाउँदै एकले अर्कालाई शत्रु बर्ग देख्ने संस्कारले कस कसको पहिचान देखिने र मेटिने हो भन्न गाह्रो छ । अझ जातीय राज्य माग्नेहरु, स्वतन्त्र मधेस भनेर बिभाजनको हौवा फैलाउनेहरु देखि अंगिकृत नागरिकले कार्यकारी प्रमुख पनि पाउनुपर्छ भन्नेहरु जस्ता मधेसी जनताको कोटामा युरोपबाट दीक्षित साहेवहरुले एक पटक साँच्चैका रैथाने मधेसीको भाग खोस्न गरेको यो रस्साकस्सी मधेसी जनताले कहिले बुझ्ने होलान् ?

दाईजो नपाएको झोकमा एउटी महिलालाई जिउँदै जलाउँदा नव पहिचानवादीहरु बोल्दैनन्, दिन दहाडै महिलाहरु बलात्कृत हुँदा बोल्दैनन्, सिमावर्ती ईलाकामा भारतले बनाएका बाँधले तराई डुबेर जलमग्न छ कुनै मधेसी नेता बोल्न सम्म पनि बोल्दैनन्, किनकी उनीहरुलाई सत्तामा जाने रस्साकस्सी छ , भारतको आशिर्वाद  चाहिएको छ। अहिले पनि बिकट गाउँमा यिनै पहिचानवादी अगुवा साहेबहरुको जीवनशैली राजा महाराजाहरुको जस्तो छ भने जनताहरु डुंगामा बसेर शास धानिरहेका छन् । छोराले अन्तर्जातीय बिवाह गरेको आरोपमा बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने काममा लाग्ने राज्य हैन त्यहिँका साहेबहरु हुन् , यहाँको बिभेदमा राज्यको  हैन त्यहिँका तथाकथित पहिचानवादीहरुको पनि  दोष छ , जसले आफ्ना छोरा छोरी राज्यको खर्चमा युरोप अमेरिका पढाएर जनताका छोरा छोरीलाई मज़दूर बनाईरहेका छन् । गाउँका बिद्यालयमा राजनीति गरेर पढाई तहस नहस पार्ने र गरीबका छोरा छोरीलाई आफ्नो ग़ुलाम बनाईरहने यीनीहरुको चाला बुझ्न सीमावर्ती तराई तिर झरे हुन्छ ।
हो, संबिधानमा केहि कमज़ोरी अवष्य छन् तर यो अपरिवर्तनीय दस्तावेज़ होईन, त्यसैले आफ्नो पहिचान खोज्ने होडमा प्राप्त उपलब्धि पनि गुमाउने धृष्ठता कसैले गर्नुहुन्न, बिष्व बाटै लोप भईरहेको जातीय र क्षेत्रिय पहिचान भन्दा माथि उठेर पिछडिएकाहरुको लागि नयाँ मार्गचित्र कोर्नु जरुरी छ । यो सत्यता जान्दा जान्दै लगातार आरोप चाहिँ राज्यलाई लगाईरहने, आफूले चाहिँ मधेस दुखेको बेला तमासा हेर्ने तर दोष चाहिँ अरु समुदायलाई लगाईरहने आन्दोलन पहिचानको हो कि आफू शक्तिमा टिकिरहने अस्त्र हो ? आम जनतालाई जवाफ चाहिएको छ ।

प्रतिक्रिया