ब्लड क्यान्सर पिडित प्रेमनाथ भन्छन : यी छोरा छोरी टुहुरा बनाएर म मर्न चाहन्न मलाई बचाउनुस !

इनेप्लिज २०७३ साउन १२ गते १:०७ मा प्रकाशित
image1

 

 

कपिलवस्तु भृकुटी नगरपालिकाको बिकट गाउँ पचिगवाँका ४८ बर्षीय प्रेमनाथ पन्थी बिगत दश बर्ष देखि भारतको जालन्धरमा मज़दूरी गरिरहेका थिए । घरमा जग्गा जमिन प्रशस्त नभएकोले ज्यालादारी गरि परिवार पाल्नु उनको बाध्यता थियो । त्यहि ज्यालादारी गरेरै दुई छोरीको बिहेबारी गरिसकेका थिए भने दुई नाबालक सन्तानहरु बिद्यालय गईरहेकै थिए । सम्पत्तिको नाममा उनको भागमा परेको उब्जनी खासै नहुने ५ कठ्ठा खेतको आम्दानीले ३ महिना पनि खान नपुग्ने प्रेमनाथ बर्षको ९ महिना मज़दूरी गर्न भारत तिरै हुन्थे । जसो तसो जिन्दगी चलेकै थियो ।

जालन्धरमा एक दिन काम गर्दा गर्दै प्रेम बेहोस भए, अस्पत्ताल लानुपर्ने उनलाई साथी भाइले बोकेर कोठा सम्म लगे । शरीर पुरै कालो भईसकेको थियो र बेला बेलामा फुट्ला जस्तै गरी टाउको दुखिरहेको थियो ।

काम गर्ने कुनै सामर्थ्य नभएपछि उनी घर फर्किने बाहेक कुनै बिकल्प थिएन । आखिर आफ्नै  घरको आँगनमा त हो नि दुख बिसाउने । भोलि पल्ट झोला बोकेर प्रेम आफ्नो घरतिर लागे । बाटो भरि मुटुमा गाँठो पार्दै आँशु पुछ्दै घर आईपुगे । छोरा छोरीले उनले ल्याएको झोला खोलेर हेर्दा केहि भेट्टाएनन् र प्रेमको  मुखमा हेर्दा उनले बरर आँशु झारे र तीन बर्षे छोरी काखी च्याप्दै भक्कानिएर भने : छोरी बाबा  झि भएर आएको, भोलि दोकानबाट किनौँला है ।

साँझ श्रीमतीलाई आफू बिरामी भएर फर्केको कुरा सुनाए । कुनै ठूलो रोग पो लाग्यो कि भनेर दुबै जना धेरै बेर सम्म रोईरहे । उनीहरुको आँशुमा त्यो बर्खे झरीमा धुरीबाट तप्तप्ती चुहिएको पानी मिसिईरहेको थियो । भोलि पल्ट छिमेकमा ऋण गरेर छिमेकको सल्लाहमा बुटवल गए । डाक्टरले चेक जाँच गरी एक महिनाको औषधि लेखिदिए । प्रेमनाथ घर फर्के ।

बुटवलको औषधिले बीसको उन्निस भएन, त्यसैले साथी भाइको सल्लाहमा भरतपुर क्यान्सर अस्पत्ताल जाने कुरा भयो । घरमा सुको पैसा थिएन , फेरि ऋण खोज्ने बाहेक अरु उपाय थिएन, दश हजार रुपैया ऋण लिएर दुई दम्पति लागे भरतपुर तिर ।

डाक्टरले भर्ना गर्नुपर्छ भने । सबै परीक्षण नआईकन यसै भन्न नसकिने कुरा बताएपछि रिपोर्ट नआउन्जेल प्रेमको  अनुहारमा डरले डेरा जमाईसकेको थियो , श्रीमती गोमाको मलिन अनुहार हेर्दा त झन् असह्य हुन्थ्यो उनलाई ।

तीन दिन पछि रिपोर्ट आयो : प्रेमलालको जिन्दगीमा आँधी र हुरी लिएर, उनले बुनेका सबै सपनाहरु एकाएक उडाउने गरी । गरीबीले बिहान बेलुका हात जोर्न मुस्किल भएको बेलामा डाक्टरले ब्लड क्यान्सर लागेको खबर सुनाउँदा उनको मनमा आएको भुईंचालो ९ रेक्टर स्केल भन्दा ठूलो थियो होला ।  सहनै पर्ने रहेछ ।

भएको पाँच कठ्ठा खेत बेच्नुपर्यो, अरु बेच्ने केहि थिएन, श्रीमतीको गहनाको नाममा भएको नाकको फुली बेचेर ब्लड क्यान्सरको उपचार हुँदैनथ्यो । हेर्दा हेर्दै भएभरको सम्पत्ति बेच्दा हात लागेको १२ लाख सकियो , रोग निको भएकै थिएन, महिनाको दुईपल्ट केमो चढाउन र नियमित औषधि उपचार गर्न २०-२५ लाख जुटाउन सके रोग निको हुने कुरा सुन्दा उनले काखे छोरी र छोरा अनि श्रीमती सम्झेर बर्र आँशु झारिरहँदा कसैले उनलाई सान्त्वना दिएन । आफ्नो आँशु आफै पुछे प्रेमनाथले ।

थप उपचारको लागि पैसा नभएपछि उनी अहिले घर फर्केका छन् , कसैले सहयोग जुटाईदिए उनले बाँच्नसक्ने आश मारेका छैनन् ।

यो स्तम्भकार  संगको टेलिफ़ोन सम्पर्कमा उनले भने: बाबु हामी जस्ता गरीबलाई पनि यस्तो ठूलो रोग लाग्ने रहेछ, अब म यत्रो पैसा जुटाउन सक्दिन अब बेच्ने म संग एउटा सग्लो ज्यान पनि छैन , तर यी बाल बच्चा टुहुरा बनाएर मर्ने मन छैन कुनै हितकारी मनहरुले सहयोग गरे म बाँच्छु अरे । मलाई बचाउनुस बाबु । यो स्तम्भकारले उनको यो कारुणिक स्वर यो भन्दा बढि सुन्न सकेन ।

उनको लागि उनका आफन्त सन्देश पौडेलले गोफन्ड मि मार्फत सहयोगको याचना गरेका रहेछन , एकै क्लिकमा सजिलै चाहेको रकम जम्मा गर्न सकिने यो प्रेमको जीवन बचाउने पुनित काममा तपाईँ हामीले पनि सक्दो सहयोग गरेर उनको ज्यान बचाउँ न है ! दुनियाँमा सबैभन्दा ठूलो धर्म दुखमा परेकालाई सहयोग गर्नु हो हैन र ?  तलको यो लिंकमा गएर सजिलै सहयोग गर्न सकिन्छ । कृपया उनको ज्यान बचाऔँ ।

unnamed
https://www.gofundme.com/helppremlalpanthi?pc=expt_em_co_shareflow_m_89_2&rcid=9df762d6537d11e6963cbc764e065880

प्रतिक्रिया