भक्तपुर, ६ साउन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको चौँतिसौँ स्मृति दिवसको सन्दर्भमा बिपी उद्यान बनाउने उद्देश्यले बिपी चिन्तन प्रतिष्ठानले मध्यपुर थिमि–१६, लोकन्थलीस्थित प्रस्तावित बिपी उद्यानमा आज वृक्षरोपण गरेको छ ।
लोकन्थलीस्थित करिब १० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा प्रतिष्ठानले बिपी उद्यान बनाउने प्रस्ताव गरेको छ । सो उद्यान निर्माणका लागि स्व कमलवहादुर खड्का स्मृति प्रतिष्ठान, स्व जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान, मध्यपुर युथ एसोसिएसन र स्थानीय नागरिक समाजले संयुक्त रुपमा पहल गरिरहेका छन् ।
करिब एक सय जना स्थानीयवासीको उपस्थितिमा सल्ला, धुपी, चाँप, कपुर, तेजपात, पारिजातलगायतका २०० बिरुवा रोपिएको उद्यान निर्माणका लागि गठन भएको जग्गा व्यवस्थापन समितिका संयोजक विजयकृष्ण खड्काले जानकारी दिनुभयो । सो उद्यानमा बिपी, कमलवहादुर र जगन्नाथ आचार्यको सालिकसमेत राख्ने योजना रहेको खड्काले बताउनुभयो ।
कार्यक्रममा सांसद रामेश्वरप्रसाद ढुङ्गेलले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बिपीको मेलमिलापको नीति अङ्गिकार गर्नु सान्दर्भिक भएको बताउनुभयो ।
स्थानीय युवाको समूह धनसारे गुठीले संयोजन गरेको वृक्षरोपण कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री ढुण्डीराज शास्त्री, मध्यपुर थिमि नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, पूर्व सभापति अष्टकुमार कवेलगायतको सहभागिता रहेको थियो ।
वृक्षरोपणका लागि आवश्यक बिरुवा जिल्ला वन कार्यालय भक्तपुरले उपलब्ध गराएको खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया