एमाले संसदीय प्रक्रियाबाट भाग्न मिल्दैन : सभामुख

इनेप्लिज २०७३ साउन ५ गते १२:३९ मा प्रकाशित

onsari-gharti-magar-final1

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि सत्तापक्ष र प्रतिपक्षीहरुवीच तिव्र मत देखिएको छ । अश्विासको प्रस्ताव दर्ता भएसँग ओली अल्पमतमा परेको भन्दै काँग्रेस र माओवादी केन्द्रले उनको राजिनामाको माग गरेका छन् भने ओलीले संसद फेस गर्ने तयारी गरेका छन् । संसदको असार २९ गते नै आश्रित विधेयक पारित गर्ने कार्यसुचि रहेको थियो, तर सभामुख ओनसरी घर्तीमगरले विद्येयकको कार्यसूचिलाई भन्दा अविश्वासको प्रस्तावलाई पहिलो प्राथमिकता दिएपछि उनको भूमिका लिएर सत्तापक्षले प्रश्न उठाएको छ । एमालेले त संसद बैठकमा यसबारेमा जवाफल माँग्ने भनिसकेको छ । यीनै विषयमा केन्द्रित रहेर पत्रकार धमलाले सभामुख घर्तीसँग गरेको कुराकानीको सम्पादित अंश ?

सत्तापक्षले तपाईको विरोध गरे नि किन ?

यो एउटा जटिल परिस्थिति हो । यस्तो परिस्थितिमा विरोधका अभिव्यक्तिहरु हुनु स्वभाविक हो ।

तर तपाईलाई त माओवादीको सामान्य कार्यकर्ता भनेर प्रधानमन्त्रीले आरोप लगाउनुभएको छ नि ?

यसबारेमा मलाई आधिकारिक जानकारी छैन । तर जसरी म माथि आशंकाहरु पैदा भैरहेका छन्, भोलिका दिनमा म व्यवहारिक रुपमा उहाँहरुको मन जित्ने छु भन्ने मेरो आशा छ ।

तरपनि तपाईलाई पार्टीको अध्यक्षको निर्देशन मान्नुहुन्छ भनेर आरोप लगाईएको छ नि ?

यो त विल्कुल गलत कुरा हो । यो कसैलाई लागेर बोल्दैमा सत्य हुँदैन । संसदमा आफ्नै प्रकारका नियामावली हामीले बनाएका छौं । त्यही नियामावली बमोजिम नै म चल्ने हो । मेरो लागि गाईडलाईन नै त्यही हो । संविधानले दिएका प्रावधानहरुको म अक्षरंश पालना गर्छु । म त संसदीय परम्परा अनुसार नै अघि बढ्छु । बाँकी कुरा राजनीतिक दलहरुले के भन्छन् त्यो विल्कुल नै गलत हुन्छ ।

तर तपाईले त आश्रित विद्येयक पारित गर्ने कार्यसूचि नै हटाईदिनुभयो रे नि त ?

नेपालमा हामीसँग दुईवटा अभ्यास छन् । एउटा अविश्वासको प्रस्ताव आईसकेपछि त्यही विषयमा मात्रै छलफल गर्ने, र अर्को, अरु विधेयकहरुमाथि छलफल गर्ने । यी दुवैखाले अभ्यासको जुन पनि अभ्यासमा हामी जान सक्छौं । मैले २९, ३० र ३१ गते असारसम्म राजनीतिक दलहरुवीच एक किसिमको सहमति होस भनेर प्रयास गरेको थिएँ । उहाँहरुको विचमा अहिलेपनि सहमति हुन्छ भने सभामुखले के रिस्क लिनुपर्ने हो त्यो लिन म तयार छु । तर सहमति नभएको वेला सभामुखले एउटा निर्णय दिनुपर्नेहुन्छ । त्यसैले संसदको बैठकको तिथिमिति तोकेर सभामुख अघि बढ्नुपर्छ । हाउसमा अविश्वासको प्रस्ताव दर्ता भएपछि कुन बाटो सभामुखले अपनाउने हो भनेर मैले धेरै छलफल गरें अनि विगतका नजिरहरु हेरें र अविश्वासको प्रस्ताव आईसकेपछि मैले स्वभाविक रुपमा यसलाई अघि बढाउने निर्णय लिएको हुँ ।

कार्यसुचि आईसकेपछि किन तपाईले बैठक स्थगित् गर्नुभयो त ?

तीनदिनसम्म मैले राजनीतिक दलका नेताहरुसँग लगातार पहल गरेकै हो । उहाँहरुसँग मात्रै नभएर मैले कानुनविदहरु र अर्थविदहरुसँग पनि परामर्श गरेको थिएँ । सहजीकरणको लागि मैले पटक पटकसम्म अनुरोध गरेको छु । राजनीतिक दलरुलाई पनि मैले सहजीकरण गरिदिनुर्यो भनेर धेरै अनुरोध गरेको छु । मैले यी प्रयासहरु असार महिनासम्म गर्दा मात्रै सार्थक हुन्थ्यो, जब साउन महिना लाग्यो ती प्रयासहरुको कुनै अर्थ नहुने भएकोले मैले सोही बमोजिम कदम चालेको हुँ ।

तर पनि तपाईले चालेको कदमले विवाद उत्पन्न भयो भन्ने लाग्दैन ?

जुन कदम चाल्दा पनि विवाद हुन्छ । मैले विधेयकहरु अघि बढाएको भएपनि म गर्न सक्थें तर अहिले जसले अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको छ, त्यसले किन प्राथमिकता पाएन भनेर उहाँहरुले विवाद गर्नु नै हुन्थ्यो । एउटा कुरा के भने म एकदमै गम्भिर छु, अहिलेपनि छु । आश्रित विधेयकको विपक्षमा काँग्रेस र माओवादीले भोटिङ गर्ने भनेपछि त यो विधेयक नै फेल हुन्थ्यो नि, मैले यसबारेमा उहाँहरुलाई सोधेको पनि थिएँ कि तपाईहरु किन यो विधेयक फेल गर्ने कुरा गर्दैहुनुहुन्छ भनेर ? उहाँहरुले आफूले दर्ता गराएको अविश्वासको प्रस्तावलाई पहिलो कार्यसूचिमा राखे विधेयक पारित गर्ने भनेर मलाई बारम्बार अनुरोध गरेपछि मैले यो कदम चालेको हुँ । यदि राजनीतिक दलहरुवीच ६ गतेसम्म पनि सहमति हुन्छ भने म जुन बाटो लिन पनि तयार छु ।

अब दलहरुवीच सहमति भएन भने, तपाई पहिला के गर्नुहुन्छ ? विधेयक अघि बढाउनुहुन्छ वा अविश्वासको प्रस्ताव ?

मैले त्यो बाटो त तय गरिसकेको छु । उहाँहरुवीच असहमति पैदा भैसकेपछि आएको समस्यालाई समाधान गर्न उचित ठानेर नै कदम चालिसकेको छु । अविश्वासको प्रस्तावलाई अघि बढाउन तिथिमिति नै तोकेको छु । त्यसपछिको कार्यसूचिमा आश्रित विधेयक छ । मलाई लाग्छ यो विधेयक पारित गर्न पनि ढिला गर्नुहुँदैन् ।

असार २९ गते विधेयक पारित गरेर अघि बढेको भएपनि हुन्थ्यो नि त काँग्रेस–माओवादी केन्द्रले ?

त्यो राम्रो हुन्थ्यो । राजनीतिक दलहरुको सोचाई के के छन, ती कुरा मलाई थाहा छैन । तर प्रक्रियाको हिसावले म सँग अघि नै कार्यसुचि तयार थियो, तर उहाँहरुले अविश्वासको प्रस्ताव ल्याईदिनुभयो । अविश्वासको प्रस्ताव आएपछि बहसले नयाँ मोड लियो ।

राष्ट्रिय सहमति कायम गर्न तपाईले पहल गर्नुपर्दैन ?

होईन, उहाँहरुकावीचमा असहमति र मतभेद हुँदाहुँदैपनि मैले बैठक राखें । अविश्वासको प्रस्ताव राख्नेहरुले बैठक नराख्न नै भन्नुभएको थियो, तर मैले त्यसो गरिन् । ३१ असार सम्म मैले स्वतन्त्र पहल लिनैपर्छ भन्ने लागेर मैले धेरै प्रयास गरेको हुँ । बजेटलाई बाटो खोलिदिनपनि मैले आश्रित विधेयकहरु पारित गर्न चाहेको थिएँ ।

सत्तापक्षले त सभामुखले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएको छ, अब तपाई के गर्नुहुन्छ ?

उहाँहरुले भन्ने कुरा एउटा हो । मैले उपयुक्त ठानेको के भने, जब सरकारमाथि नै अविश्वासको प्रस्ताव आउँछ, संसारभरिकै संसदीय अभ्यासमा त्यसलाई पहिलो कार्यसूचिमा अघि बढाउने रहेछ । सोही बमोजिम म सदनको प्रक्रिया अघि बढाउँछु । मलाई लाग्दैन कि एमालेले ससंस अवरुद्ध गर्छ भनेर । एमाले पनि जिम्मेवार पार्टी हो । उहाँहरु आफ्नो जिम्मेवारीबाट पन्छिनुहुँदैन । सदनको प्रक्रियबाट भाग्नुहूँदैन । संसद फेस गर्नुहुन्छ । जवाफ माग्ने भन्ने कुरा अनुमानका कुरा हुन् । यो जटिल परिवेशमा विभिन्न अभिव्यक्तिहरु पार्टीले बाहिर ल्याउँछन् नै ।

उसो भए आजको मितिसम्म तपाईले माओवादी केन्द्रको निर्देशन बमोजिम काम गर्नुहुन्न ?

म कसैको निर्देशन बमोजिम काम गर्दिन् । म संसदीय अभ्यासको मुल्य र मान्यता बमोजिम नै काम गर्छु । संविधानले निर्दिष्ट गरे बमोजिम हामीले नियामावली बनाएका छौं । मैल आजमात्रै होईन, लामो समयदेखि उपसभामुखदेखि लिएर सभामुख भएर सम्म काम गरिरहेको छु, अहिलेसम्म मैले तटस्थ् भएर नै काम गरिरहेको छु ।

प्रतिक्रिया