धानको रोपार्इँको लागि रौतहटमा एकजनाले खेत तयारी गर्न लाग्दा इँटा निस्किएपछि स्थानीय प्रहरीले उत्खनन तथा खनजोतमा रोक लगाएको छ । रौतहटको सखुअवा धमौरा गाविस वार्ड नम्बर ७ हर्षाहाको सरईमा एकजना किसानले आफ्नो खेतमा धान लगाउन तयारी गर्न जाँदा इँटा सय वर्षभन्दा पुरानो इँटा निस्किन थालेपछि इलाका प्रहरी कार्यालय गरुडाले चौहदी तोकेर खनजोत तथा उत्खननमा रोक लगाएको हो । स्थानीय वार्ड नम्बर ५ का आस महम्मद मन्सुरले खेत जोत्ने क्रममा ट्रेक्टरको फालीमा लागेर इँटा आएपछि निजले खनेर हेर्दा थुप्रै इँटा देखिएको थियो । इनारको संरचनामा सय वर्ष पुरानो इँटा देखिएपछि पुरातात्विक महत्वको लागेर पुरातत्व विभागलाई जानकारी दिन तत्कालको लागि खनजोतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
स्थानीय वृद्धहरुलाई सोध्दा सय वर्षभन्दा लामो समयदेखि खेतमा कुनै संरचना भएको विषयमा जानकारी भएको कसैले बताउन नसकेको र इँटाको संरचना हेर्दा पनि निकै पुरानो लागेकोले खेतमा कुनै पुरातात्विक वस्तु वा संरचना भएको हुन सक्ने भएकोले तत्कालको लागि खेतधनी मन्सुरलाई खनजोत नगर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन् । इँटा निस्किन थालेपछि खन्न थालेको र इनारको आकारमा तलतिर जान थालेको मन्सुरले बताएका छन् । इनारबाट मानिसको हातको हाड लगायत अन्य हाडहरु समेत निस्किएको मन्सुरले बताएका छन् । इनारलाई करिब पाँच फिट गहिरोसम्म खन्दा दुई ट्रेक्टर इँटा निस्किएको र एक टेक्टर इँटा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको इँटा प्रहरी चौकी हर्षामा राखिएको छ । चलनचल्तीको भन्दा निकै फराकिलो, पातलो र चौडा इँटा निकै पुरानो रहेको स्थानीयको भनाइ छ । पुरातात्विक महत्वको इँटा निस्किएको ठाउँमा इनारको बारेमा केही भएको विषयमा आफूलाई थाहा नभएको छिमेकी खेतबाला शुभ नारायण साहले बताएका छन् ।
प्रतिक्रिया