ओलीले भन्दैमा काँग्रेस ब्याक हुँदैन, अब अघि बढ्छ : डा. महत

इनेप्लिज २०७३ असार २७ गते १४:१९ मा प्रकाशित

Dr..

केपी शर्मा ओली नेतृत्वको सरकार रहने वा नरहने विषयमा चौतर्फी बहस भैरहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र स्वयमले संविधानको कार्यान्वयनको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अडान लिएको छ । उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओलीको नेतृत्वमा सहभागी नहुने आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको छ । यो अवस्थामा अब काँग्रेस कसरी अघि बढ्छ त ? भन्ने विषयमा पत्रकार ऋषि धमलाले काँग्रेसका प्रभावशाली नेता डा. प्रकाशशरण महतसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

तपाईहरु राष्ट्रिय सहमतिको सरकारको विपक्षमा उभिनुभयो होईन ?

मैले कहिले भनेर त्यस्तो कुरा ? सहमतिको सरकार अहिले बन्ने सम्भावना मैले देखिरहेको छैन ।

के कारण बन्न सक्दैन ?

यस मानेमा सहमतिको सरकार बन्न सक्दैन् । प्रधानमन्त्री ओलीजी आँफै अब मेरो नेतृत्वमा २० महिना सरकार रहन्छ भनेर हिँडिरहनुभएको छ भने उता हामी पनि यो सरकारमा सहभागी हुन सक्दैनौं भनिरहेका छौं । माओवादी अध्यक्ष प्रचण्डले पनि सहमतिको कुरा गरेका छन् तर उहाँले सहमतिको सरकारकोबारेमा कुनै ठोस धारणा दिन सक्नुभएको छैन् । यदि उहाँको पनि यही सरकारको नेतृत्वमा सरकार बनाउने चाहना हो भने काँग्रेस यसमा सहभागी हुने अवस्था छैन् ।

प्रधानमन्त्री ओलीले सहमतिको सरकारको लागि काँग्रेस आफु नेतृत्वको सरकारमा आउनुपर्छ भनेर भन्नुभएको छ, अब तपाईहरु किन सरकारमा नजाने ? तपाईहरुले १६ बुँदेमा हस्ताक्षर गरेको होईन ?

अब त्यतिवेलाको स्थिति अर्के थियो । अहिले त्यो स्थितिको समाप्त भैसक्यो । राजनीतिमा ब्याक हुने कुरा आउँदैन, अब अगाडि मात्रै बढ्ने कुरा हुन्छ । त्यतिवेला हामीलाई शंकाको फाईदा थियो, किनकी ओलीको नेतृत्व हेर्न बाँकी थियो । तर अहिलेकै अवस्थामा उहाँकै नेतृत्वमा हामी जाने परिस्थिति म देख्दिन ।

उसो भए आजको दिनमा तपाईहर सरकार ढाल्न पनि सक्नुहुन्न ? तपाईहरुसँग संख्या पुग्दैन, अब के गर्नुहुन्छ ?

संविधानको व्यवस्थाले नै सरकार बनाउनको लागि बहुमत चाहिने व्यवस्था गरेको छ । त्यसो हुनाले हामीले भन्दै आएका छौं कि यो सरकारको बैकल्पिक अवस्था दुई अवस्थामा बन्छ ः एउटा, कि त प्रधानमन्त्रीजीले स्वयम म चाहीँ अब संविधान कार्यान्वयनदेखि लिएर देशमा अहिले देखिएका आवश्यकत्ताहरु छन् तीनको पूर्ति म बाट हुन सकेन त्यसकारण म छोड्छु भन्नुपर्यो, अर्को, या त जुन पार्टीले उहाँलाई सघाईरहेको छ, त्यो पार्टीले समर्थन फिर्ता लिनुपर्यो । यो दुई अवस्थामा यो सरकार रहँदैन् ।
प्रधानमन्त्रीले पनि राजिनामा नदिने अनि माओवादीले पनि समर्थन फिर्ता नलिए यो सरकारको निरन्तरता नै रहन्छ होईन ?

रहन्छ नि । बहुमतबाट सरकार बन्ने संवैधानिक व्यवस्थाको विरोधमा कोही जान सक्दैन् ।

यस विषयमा माओवादी केन्द्रसँग तपाईहरुको कुरा भएको छैन ?

कुरा त नेपालमा भैराख्छ । तर हाम्रो तर्फबाट तपाईहरु सरकारबाट हटिदिनुहोस अनि हामीसँग मिलेर सरकार बनाऔं भन्ने कुरा भएको छैन् ।
तर काँग्रेस सभापति देउवाले प्रचण्डसँग सरकारको समर्थन फिर्ता लिनुहोस अनि आफूकहाँ आउनु भनेर शर्त तेर्साउनुभएको छ अरे नि ?
यसअघि पनि प्रचण्डले ओलीजी भन्दा म राम्रो गर्छु मलाई सहयोग गर्नुपर्यो भनेर हामीलाई आग्रह गर्नुभएको थियो र हामीले पनि त्यसो हो भने ठिकै छ भनेका हौं, तर त्यसबाट उहाँ फर्किसकेपछि पूनः त्यही कुरा गर्नु त आवश्यकत्ता भएन नि । त्यसकारण उहाँले काँग्रेससँग सरकार बनाऔं भन्ने अनि काँग्रेसले हुन्छ भन्ने खालको परिस्थिति दोहोरिरहने कुरामा नेपाली काँग्रेस सचेत छ ।

उसो भए सरकारबाट समर्थन फिर्ता लिए तपाईहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुहुन्छ ?

यो त त्योवेलाको स्थिति हो, अबको कुरा भनेको यो सरकारले कुने कारणले चाहे माओवादीले समर्थन फिर्ता लिएर होस या अन्य कारणले बहुमत गुमायो भने अनिमात्रै हामी कसेको नेतृत्वमा सरकार बनाउने भन्ने बारेमा निर्णय गर्छौं ।

तपाईहरु द्धिविधा कायमै राख्न चाहानुहुन्छ होईन ?

वैकल्पिक सरकारको नेतृत्व स्वभाविक रुपमा सबैभन्दा ठूलो दल भएको नाताले काँग्रेसले लिनुपर्छ । शेरबहादुरजी वा अरु कसैलाई प्रधानमन्त्री बनाउनेमात्रै हाम्रो अन्तिम लक्ष्य त होइन नि । हाम्रो अन्तिम लक्ष्य भनेको अहिलेको सन्दर्भमा संविधानको कार्यान्वयन नै हो । यदि संविधानको कार्यान्वयन गर्ने हो भने त्यो काँग्रेसको नेतृत्वमा सहज हुन्छ । त्यतिमात्रै होईन, संविधानप्रति असन्तुष्ट राख्नेहरुको माग पूरा पुरा गराउनसमेत काँग्रेस नेतृत्व सहज हुन्छ ।

काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए, आजको दिनमा प्रधानमन्त्रीको उमेद्धवार को हो ?

स्वभाविक रुपमा पार्टी सभापति एवम् संसदीय दलको नेता हो नि । यसमा कुनै दुइृमत छैन् ।

प्रतिक्रिया