भानुजयन्तीमा रिमालदम्पती सम्मानित

इनेप्लिज २०७३ असार २७ गते १२:४१ मा प्रकाशित

काठमाडौँ, २७ असार । आदिकवि भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्तीका अवसरमा एम्बिसन एकेडेमी उमावि, मध्यबानेश्वरले रेडियो नेपालका प्रथम गायक, नाट्य निर्देशक तथा अभिनेता हरिप्रसाद रिमाल तथा रेडियो नेपालका समाचारवाचक कल्याणी रिमाललाई सम्मान आज सम्मान गरेको छ ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जस्ता विभूतिको योगदानको रक्षा र सम्मान गर्न सरकार विशेष योजनाका साथ अगाडि बढिरहेको बताउँदै विशिष्ट साधकहरूको जीवितावस्थामा नै सबै क्षेत्रबाट कदर हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा २१ विद्यालयका ४२ विद्यार्थीले रामायणका श्लोकको सस्वर वाचन गरेका थिए । जनगायक रामकृष्ण दुवाल तथा कवि प्रभा भट्टराई र डा देवी नेपाल निर्णायक रहेको उक्त प्रतियोगितामा लिटिल एन्जल्स स्कुल, ललितपुरका आर्यन सोनार प्रथम, सैनिक महाविद्यालय, भक्तपुरकी सुदीपा कार्की द्वितीय, भक्तपुर निस्ट स्कुलकी प्रनिशा पहाडी तृतीय र भानुभक्त मेमोरियल स्कुलका पुकार धमला र इपिएस स्कुल, काठमाडौँकी श्रेया श्रेष्ठ सान्त्वना घोषित भए ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले पुरस्कृत विद्यार्थीलाई नगद पुरस्कार, भानुभक्तीय रामायण र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा देवी घिमिरे, ज्ञानु विद्रोही, विष्णुकुमार घिमिरे लगायतले भानुभक्त र रिमालदम्पतीका बारेमा प्रकाश पार्नुभयो ।

प्रतिक्रिया