अमेरिका र नाइजेरियाबाट साहलाई आर्थिक सहयोग

इनेप्लिज २०७३ असार २३ गते १९:५० मा प्रकाशित

DSC04447

२३ असार, काठमाडौं । प्रजातन्त्र सेनानी मगनी साहको उपचारका लागि अमेरिका र नाइजेरियामा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् ।

साहको उपचारका लागि अमेरिकामा रहेकी शर्मिर्ला उप्रेती तथा परिवारबाट ४२ हजार ५ सय ११, अमेरिकामै रहनु भएका बसन्त कुमार थापा अमेरिका २१ हजार २ सय ५५ र नाइजेरियामा कार्यरत एनआरएनएका कोषाध्यक्ष हिक्मत थापाले गरेको रु १० हजार सहित जम्मा ७३,५६६ रुपैयाँ सहयोग गर्नु भएको छ ।

DSC04444

सोलिडारिटी ट्रष्ट नेपालकी अध्यक्ष तथा ऐक्यबद्धता मासिक पत्रिकाकी प्रबन्ध सम्पादक चन्दा थापाले विहिबार अस्पतालमा पुगेर साहका छोरा हरिशंकर साहलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो । साहको उपचारका लागि आर्थिक सहयोग गर्न भन्दै थापाले नै सामाजिक सन्जालमार्फत विदेशमा बस्ने नेपालीहरुसँग अनुरोध गर्नु भएको थियो ।
बाबुको उपचारका लागि अस्पतालमा रहेका साहका छोरा हरिशंकर साहले आफ्नो बुवाको उपचारका लागि देश तथा विदेशमा रहेर सहयोगी मन लिएर आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा बुबाको तर्फबाट आर्शिवाद र धन्यवाद दिनु भएको थियो ।

उच्च ज्वरो, निमोनिया र टिवीका कारण १४ दिनदेखि सानेपाको स्टार अस्पतालमा उपचाररत साहको उपचारका लागि घरबाट काठमाडौं सम्म ल्याउन एम्बुलेन्स र उपचार खर्च गरेर अहिलेसम्म डेढ लाख खर्च भएको साहको छोरा हरिशंकरले साहले बताउनु भएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा भएको पंचायत विरोधि आन्दोलनमा सक्रिय रहेका साह प्रजातन्त्रका खातिर १६ बर्ष जेलनेल भोगेका जिउँदा सहिद हुन् । २०७१ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसमा कांग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले साहलाई प्रजातन्त्रका सेनानीको रुपमा खादा ओडाएर सम्मान तथा ताम्रपत्र प्रदान गरेपनि अहिले विरामी अवस्थामा पार्टीले उपचारमा वास्ता नगरेको गुनासो हरिशंकरले गरे ।
“बुबाको उपचारका लागि कांग्रेस सभापति शेर बहादुर देउवालाई घरमै पुगेर भने, एकपटक तपाइको साथीलाई भेट्न आउनुस भनेर बोलाए । तर, उहाँ अहिलेसम्म आउनु भएन । उहाँले कृष्ण पौडेलमार्फत उपचारखर्च भनेर २० हजार पठाइदिनु भएको थियो ।” हरिशंकरले भने ।

DSC04437

रौतहटको स्थानीय स्वास्थ्य चौकीले काठमाण्डौं लैजाने सल्लाह दिएपछि उनका छोरा हरिशंकरले कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकिय सचिव भानु देउवालाईलाई फोन गरेर एम्बुलेन्सको लागि सहयोग गर्न आग्रह समेत गरेका थिए । तर, देउवाले आफैं ल्याउनुहोस भनेपछि १० हजार तिरेर काठमाडौं ल्याएर सानेपा स्थित स्टार अस्पतालमा भर्ना गरेका थिए । “दिनको १० हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्छ” साहका छोरा हरिशंकरले भने ।

७३ वर्षअघि रौतहटमा जन्मिएका शाह प्रजातान्त्रिक आन्दोलनमा निरन्तर लागे । १५ वर्षको जेल सजाय भोगे । उनीसँगै भद्रगोल र नख्खु जेल बसेका विपी कोइराला, गणेशमान सिंह र सुवर्ण समशेर राणा, कृष्ण प्रसाद भट्टराई , शेरबहादुर देउवा, रामचन्द्र,पौडेल, खुमबहादुर खड्का, अर्जुननरसिंह केसी , बलबहादुर केसी, बासु कोइराला, चिरञ्जिवी वाग्ले लगायतका नेताहरु सत्ता र शक्तिमा पुगे । उनीहरु सामान्य बिरामी हुँदा उपचारका लागि विदेशका महँगा अस्पताल सम्म पुगे । तर, एकै समय जेल जीवन बिताएका, निरन्तर निस्वार्थ भावले प्रजातन्त्रको खातिर लडेका, पद र सत्ताको कहिले आश नगरेका मगनी साह आज उपचार गर्ने पैसा नभएको स्थितिमा छन् ।

प्रतिक्रिया