संचारकर्मीले अचुक निशाना लाग्ने बाण प्रहार गर्दा नलाग्ने भन्ने सवाल नै हुदैन ?

इनेप्लिज २०७३ असार २१ गते २३:०८ मा प्रकाशित

bijay

अध्यारोमा तिर नचलाउनु भनिन्छ l लेख्नेहरु कहिलेकाही बढ्ता जानेर भएर या अनभिज्ञ भएर कलम चलाउने गर्छन l जसको कारण कलम चलाउने नराम्रो संग फस्ने गर्छन l आजभोली कलम चलाउनेले जाँगर नगरी दिंदा कुरा बिग्रिन्छ l

संचार क्षेत्रमा लाग्नेले यो कुरामा अति चनाखो हुनु पर्ने हुन्छ l नत्र भएको ख्याती पनि ध्वस्त हुन्छ l कलम चलाउनु एक प्रतिभा हो l प्रतिभा जन्मजात आउदैन l वातावरणले पनि प्रतिभाशालि बनाउने गर्दछ l

मानिसमा एक प्रकारको प्रतिभा निहित हुन्छ l जति अभ्यास गर्यो त्यतिनै कलम चलाउने कला फक्रदै जान्छ l तर त्यसको लागि साधना चाहिन्छ l साधना गर्न एकाग्रता चाहिन्छ l सरल रुपमा कलम चलाएको देखिएता पनि कला भित्र धेरै मेहनत र परिश्रमको पसिना बहेको हुन्छ l

कलम चलाउन संचारकर्मी ,पत्रकार ,कबि ,लेखक ,साहित्यकार ,सोधकर्ता ,अनुसन्धानकर्ता,शिक्षक माहिर हुन्छन l कलम घुमाउन त्याग र तपस्या चाहिन्छ l कलम चलाउने जान्ने भन्ने बितिकै जता पायो त्यतै पनि चलाउनु हुदैन किनभने त्यसले अनुकुल र प्रतिकुल दुवै नतिजा निकाल्दछ l

हचुवाको भरमा राम्रो कथा ,,राम्रो कविता ,राम्रो लेख ,राम्रो सामग्री ,राम्रो अन्तर्वार्ता बन्दैन l संचारकर्मी द्वारा सोध खोज गरि पस्किएको प्रस्तुति तथा कार्यक्रम सबैको हृदयमा स्थान प्राप्त गर्दछ l

उत्तेजित र ध्यानाकर्षण गर्ने ध्येयले ल्याईएको सामग्रीले न्युनतमलाई आँखामा छारो हाल्न सक्छ l केहि क्षणिक झुक्याउन सक्छ l तर सत्यता र यथार्थताको जरो समात्ने बिद्ध्वत वर्गलाई २१ औ शताब्दीमा अन्धकारमा राख्न कदापी सक्दैनन l संचारकर्मीले घुयत्रो हान्नु भन्दा अचुक निसाना लाग्ने राम बाण प्रहार गर्दा नलाग्ने भन्ने सवाल नै हुदैन l

घुयत्रोले ठिक ठाउँमा प्रहार नहुन सक्छ l घुयत्रो भनेको डोरीको टुप्पोमा ढुंगा राखी ,फनफनी घुमाई दुश्मन तर्फ फ्याक्ने हतियार हो l हाल यो प्रचलनमा छैन l संचारकर्मीले लागे लाग्छ भन्ने सोच्नु हुदैन l तर अहिले यसरि पनि कलम चलाइन्छ l राष्ट्रिय स्तरका पत्रिकामा यस्ता उडन्ते प्रकारका लेखिएको समाचार ,लेख तथा अन्य सामग्री देखिने गर्छ l

खोज गरि पाठक वर्गलाई विश्वास दिलाउने प्रकारले फनफनी चलाएको कलम टिकाउ हुन्छ l कलम चलाउनेले सबै चिजलाई कालो मात्र देख्नु हुदैन l नकारात्मक मात्र देख्ने र लेख्ने संचारकर्मी शिघ्र पतन मार्ग तर्फ धकेलिन्छ l दत्तचित्त भै कलम चलाए दिर्घ जीवि हुने अवश्य हुन्छ l सत्य र तथ्यको जानकारी नलिई संचार कर्मीले घुयत्रो चलाए अस्त्तिव गुमाउने सम्भावना पनि हुन्छ l

सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने पत्रकारिता क्षेत्रमा लाग्ने संचारकर्मीले यो पेसाको गरिमा वृद्धि गर्न आफैले अचुक निशाना लाग्ने राम बाण प्रहार गर्न सके पेसाको प्रतिष्ठा र महत्व अवश्य बढ्ने छ l

प्रतिक्रिया