अमेरिकामा भुकम्प पिडितको नाममा ब्रह्मलुट -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार २० गते ६:२० मा प्रकाशित

33346348-ea7d-4106-a4ea-2e81835847bd

अमेरिकामा नेपालमा जान्ने सुन्ने हुँ भन्ने देखि सामान्य लेखपढ गर्न जानेका व्यक्तीहरु समेत विभिन्न तरिकाबाट आएर बसोबास गरेर अनेक सामाजिक संघ, संस्था खोलेर बसेका छन् । अझै आजकल त नेपाली नेता देखि चर्चित कलाकारहरु र विभिन्न क्षेत्रका नाम चलेका व्यक्तीहरुको विदेश भ्रमणको पहिलो रोजाईको देश नै अमेरिका बनेको छ । अमेरिकाका ५० वटा स्टेटहरु मध्ये अधिकांश नेपालीहरु भएको स्टेटहरुमा दैनिक जसो एउटा न एउटा कार्यक्रम भईरहेको हुन्छ । हुन पनि करिव अनुमानित ७ सय भन्दा बढी सामाजिक संस्थाहरु नेपाली समुदायबाट संचालन गरेको अनुमान लगाउने गरिएको छ र त्यसमा पनि नेपालीहरुको चाहना भनेकै यस्तै संस्था मार्फत विभिन्न नाममा कार्यक्रम गर्ने र मानिसहरुको जमघट गरेर मञ्चमा आसिन भएर खादा ओडेर भाषण पड्काउने रहर नेपाल देखि कै बानी अमेरिका जस्तो व्यस्त मुलुकमा समेत त्यो बानीले नछोडेको जो कोहीले अनुमान गर्न सकिन्छ ।

सामाजिक संस्था खोलेर त्यसलाई आयआर्जनको माध्यम बनाउनेहरुको लावालस्कर अमेरिकामा अन्य मुलुकहरुमा भन्दा बढी नै पाईन्छ । एक त संसारकै उत्कृष्ट मुलुकमा आएर रोजगारी र पेशामा संलग्न हुन पाएको भन्दै नाक फुलाएर गफ र भाषण गर्ने प्रवृती अर्को तर्फ सजिलै सर्वसाधरण नेपालीहरुलाई भ्रम छर्न सक्ने अवस्थाले गर्दा पनि अमेरिकामा स्थापित अधिकांश नेपाली सामाजिक संघ संस्थाहरु केही चल्ता फुर्ता व्यक्तीहरुको आय आर्जन गर्ने पेशाको रुपमा स्थापित भएको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपाली समुदायको नाम बेचेर आफ्नो व्यक्तीगत अभिष्टा पुरा गर्नेहरुको जमात दिन प्रतिदिन विकराल रुपमा विस्तार हुँदै गएकोमा सर्वसाधारण व्यक्तीहरु अमेरिकामा चिन्तित हुँदै गएका छन् । गत साल मात्रै भुकम्प जाँदा लाखौ डलर अमेरिकामा सर्वसाधारणहरुबाट यस्ता संघ संस्थाहरुले उठाएर पनि अझै सम्म के कति नेपालमा खर्च गरेका छन् र के कति रकम कहाँ कहाँ बाट उठेको थियो त्यसको हरहिसाब

सार्वजनिक गर्न सकिरहेका छैनन् । यसलाई समेत एउटा ज्वालन्त उदाहरणको रुपमा नेपाली सामाजिक संस्थाहरुको गैरजिम्मेवारीपनको रुपमा लिन सकिन्छ ।गैरआवासिय नेपाली संघ(NRN) अमेरिका देखि विभिन्न राजनैतिक दलका विदेशी सम्पर्क समितीहरु र अन्य विभिन्न ठुला साना सामाजिक संघ संस्थाहरुले आफुले के कति रकम भुकम्प पिडितको नाममा चन्दा संकलन गरे र के कति नेपालमा लगेर पिडितलाई राहतको रुपमा बाँडे भन्ने कुरा सार्वजनिक गर्न सकिरहेका छैनन् । न त सार्वजनिक लेखा परिक्षण नै गर्न सकिरहेका छन् न त आफु कार्यरत संघ संस्थाका सदस्यहरुलाई नै त्यस बारे विस्वस्त बनाउन सकिरहेका छन् । यसै विषयलाई लिएर कतिपय राजनैतिक दलका सम्पर्क समितीहरु भित्र एक अर्कालाई आर्थिक विचलन गरेको आरोप प्रत्यारोप चलिरहेको छ ।

विभिन्न सोसियल मिडिया र अनलाईन मिडियाहरुमा आर्थिक दुरुपयोग र पदिय गैर जिम्मेवारीपन देखाएर भुकप्प पिडितको नाममा लुटको धन्दा मच्चाईएको भन्दै खवर बाहिर आएपछि भने सम्पर्क समितीहरु लगायत अन्य सामाजिक संघ संस्थाहरुको निद्रा हराम भएको छ र उनीहरु अहिले हिसाव किताव मिलान गर्न नक्कली विल भर्पाई पेश गर्दै लेखा परिक्षण गरेर अमेरिकन राज्यलाई नियमसंगत रुपमा कर लगायतका शुल्क तिरेर आफ्नो टाउँको जोगाउन खोजी रहेका छन् ।

कतिपय संघ संस्थाहरुले भुकम्प पिडितको नाममा उठाएको रकममा नेपालबाट आउने नेता जीहरुको स्वागत सत्कारको कार्यक्रममा भोजभतेर गरेर मोजमस्तीमा उक्त रकमहरु समेत प्रयोग गरेको भन्ने भनाई समेत बाहिर आईरहेको छ । नेपाली नेताहरुको भ्रस्टाचार गर्ने शैलीलाई अनुसरण गर्दै आर्थिक दुरुपयोग गर्न कम्मर कसेका कतिपय व्यक्तीहरु भोली गएर अमेरिकी कानुन अनुसार दण्डित हुन सक्ने सम्भावना समेत रहेको कुरा नेपाली जानकार कानुनविदहरुले पनि औलाउँदै र उनीहरुलाई सजग बनाउँदै गरेको पनि देखिन्छ ।

अमेरिकामा रगतसँग डलर साटेर कमाएको पैसा भुकम्प पिडीत दाजुभाई दिदी बहिनीहरुलाई आफु सक्दो सहयोग दिएर विपतको घडीमा आत्मियता, सद्घभाव, मानवियता दर्शाएका लाखौ नेपालीहरु यस्ता सामाजिक संघ संस्थाहरुको गैर जिम्मेवारिता देखेर निकै मर्माहत भएका छन् । आफ्नो मातृभुमिमा परेको विपतको घडीमा सहयोगको लागी एक्येवद्धता जनाएका सर्वसाधारणको भावनामा ठेस पुर्याएर जे जस्तो गतिविधी नाम चलेका सामाजिक संघ संस्थाहरुले प्रदर्शित गरे त्यसले आगामी दिनहरुमा यस्तै प्राकृतिक विपत र देशलाई संकट पर्दा सर्वसाधारणहरुबाट सहयोगको याचना गरेर सहयोग उठाउन सहजै सकिने सम्भावना न्युन भएर गएको छ ।

हुन पनि गत साल भुकम्प पिडितको नाममा उठेको रकम राहत स्वरुप बाँड्न जाने नाममा व्यक्तीगत भ्रमणको क्रममा पनि त्यही रकमलाई आतेजाते खर्च देखि नेपाल बसाईमा घुमघाम गर्न समेत प्रयोग गरेको र नेपालमा दुई चार कार्टून चाउचाउ, दुई चार थान तिरपाल र जस्ता पाताहरु पिडितलाई दिएको फोटोहरु खिचेर सोसियल मिडिया भाईरल बनाएर पिडीतहरुलाई सहयोग गरेको नाटक मञ्चन धेरैले गरे । वास्तवमा जे जति रकम जुन उद्देश्यका लागी उठेको हो त्यसको सही सदुपयोग भएको भए अझै सम्म पिडीतहरु प्वाल परेको तिरपाल मुनि भोको पेटलाई धरोले कसेर अहिले सम्म बस्नु पर्ने थिएन ।

अमेरिका मात्र हैन विश्वका अनेकन देशमा नेपालीहरुबाट यसरी नै भुकम्प पिडितको नाममा सहयोग उठाएर जुन तवरबाट आर्थिक रकम पिडित समक्ष पुग्नु पर्ने त्यो सहीरुपमा पुग्न सकेन । कतिपय राजनितीक सम्पर्क समितीहरुले त उठेको अधिकांश रकम राजनितीक पार्टीको खातामा जम्मा गरेका थिए र तिनै पार्टीका नेताहरु मार्फत उक्त रकमको चरम दुरुपयोग समेत गरे । अहिले सम्म पनि नेपालमा त्यतिवेला पिडितको नाममा विदेशबाट पठाईएका तिरपाल, लत्ताकपडा, अत्यावस्यक सामाग्रीहरु लुकाएर राखेको सर्वसाधरणले भेटेर सार्वजनिक समेत गर्दै आएका छन् । यति सम्मकी पिडितलाई विभिन्न राष्ट्रबाट खाद्यान्न सहयोग गरेको पनि यत्तिकै गोदाममा थन्काएर राखिएको र कतिपय गोदाममा चामल कुहेकोले त्यसलाई खाडल खनेर विसर्जन गरिएको दृश्य पनि टेलिभिजनको पर्दामा सर्वसाधारणले टुलुटुलु हेर्नु परेको थियो ।

दातृराष्ट्रले दिएको सहयोग रकम र दिने आश्वासन गरेको रकमलाई समेत अझै सम्म स्पस्ट तवरबाट पिडितको सहयोग हुने गरि बाँड्ने तौरतरिका सरकारले मिलाउन नसकेको साथै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सही ढंगबाट तिव्र गतिमा काम अगाडी बढाउन नसकिरहेको छर्लंग देखिएको छ । अव बर्षादको समय लागिरहेको अवस्थामा समेत सामान्य ओत समेत पिडितले प्राप्त गर्न नसक्नु, भोकभोकै पिडितहरु जीवन यापन गर्नु पर्ने बाध्यता हुँदा समेत राजनैतिक दलहरु आपसमा पिडीतको नाममा राजनिती गरेको देख्दा सर्वसाधरणहरु राजनितीक नेताहरु प्रति निकै आक्रोसित देखिन्छन् ।

अत: अमेरिका लगायत हरेक मुलुक जहाँ जहाँ भुकम्प पिडितको नाममा आर्थिक सहयोग संकलन गरिएको थियो । त्यो रकम सम्बन्धित पिडित सम्म पुगे नपुगेको स्पस्ट रुपमा सर्वसाधारणले थाहाँ पाउने गरि हिसावकिताव सार्वजनिक हुनुपर्छ । यदी हुन नसके त्यस्ता व्यक्ती, संघ, संस्थाहरुको नाम सार्वजनिक गरेर सम्पुर्ण यथार्थ जानकारीहरु एवं हुन गएका अनियमितताहरुको बारेमा सम्पुर्ण जनताहरुले थाहाँ पाउनु पर्छ र तिनीहरुलाई खवरदारी गर्दै कानुनी कठाघरामा उभ्याउनु पर्छ । पिडितको नाममा यसरी लुटको खेती गर्ने जो कोही नेपालमा रहने वा विदेशमा रहने कोही पनि अनियमितता गर्न बाट बच्न पाउनु हुँदैन । यसमा सम्पुर्ण पक्षहरुको ध्यान पुग्न सकोस् र यस्ता कुराहरुको सही जानकारी र खोजहरु विभिन्न मिडियाबाट पनि हुन सकोस् र यसलाई बाहिर ल्याउने काममा विशेष पहल गरियोस् भन्ने अनुरोध पनि छ ।
मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया