रेडपान्डा संरक्षण अभियानमा फेदीका जनता

इनेप्लिज २०७३ असार १७ गते ७:१० मा प्रकाशित

खोटाङ, १७ असार । आफ्नो क्षेत्रमा पाइने रेडपान्डाको चोरीसिकारी हुन थालेपछि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयवासी संरक्षण अभियानमा जुटेका छन् । संसारकै लोपोन्मुख मानिने वन्यजन्तु रेडपान्डाको चोरीसिकारी हुने गरेको थाहा पाएपछि उनीहरु संरक्षण अभियानमा जुटेका हुन् ।

आफ्नो क्षेत्रमा रेडपान्डाको चोरीसिकारी गर्नेको बिगबिगी बढेपछि रेडपान्डा पाइने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको संरक्षण समितिका अध्यक्ष ज्ञानकुमार राईले बताउनुभयो । “सिकारीले रेडपान्डालाई पासो तथा बन्दुकले हानेर सिकार गर्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवद्र्धन गर्न हामीले समिति बनाएर अभियान नै सञ्चालन गरेका हौँ ।”

संरक्षण समितिले रेडपान्डा पाइने वनक्षेत्रमा रेडपान्डाको फोटोसहितको होर्डिङबोर्ड राख्ने, विद्यालय तथा गाउँगाउँमा पुगेर रेडपान्डाको महत्वका बारेमा अन्तरक्रिया र छलफल गर्नेलगायत क्रियाकलाप थालेको छ । मकालु र सगरमाथा राष्ट्रिय निकुञ्जको शृङ्खलासँग जोडिएको फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ् र छिमालुङ् सामुदायिक वनमा रेडपान्डा रहेको पाइएको छ ।

जिल्लाको पाथेका, नेर्पा, दोर्पालगायत अन्य गाविसको जङ्गलमा पनि रेडपान्डा पाइने गरेको स्थानीयवासीले बताएका छन् । जिल्लाको कुन कुन ठाउँमा रेडपान्डा रहेको छ भन्नेबारे अझै आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला वन कार्यालय खोटाङले जनाएको छ ।

रेडपान्डाजस्तो लोपोन्मुख तथा महत्वपूर्ण वन्यजन्तुको संरक्षणमा सरकारका तर्फबाट जिल्लामा अहिलेसम्म कुनै कार्यक्रम भएको छैन । लोपोन्मुख वन्यजन्तु रेडपान्डाका लागि सरकारका तर्फबाटै संरक्षण तथा प्रवद्र्धनको योजना आउनुपर्ने विज्ञहरुले बताएका छन् ।

रेडपान्डा जङ्गलमा प्रायः एक्लै हिँड्डुल गर्ने, मालिङ्गोको टुसा र पात खाने लजालु स्वभावको हुन्छ । लेकाली क्षेत्रमा पाइने रेडपान्डा मान्छेदेखि नभाग्ने भएकाले पनि सिकारीले यसको सिकार गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया