मायाँ र प्रेम भित्र जीउन सिकौ !

इनेप्लिज २०७३ असार १६ गते १४:०५ मा प्रकाशित

sunil profile

“मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जिवनको लट्टाई प्रती समर्पित “

” हामि जिउन का लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरुको जिन्दगी बर्बाद गर्दैछौ ” !

घरबाट वाशिङ्टन डिसि स्थित मेरो कार्यालय आते जाते गर्न दुई घण्टा लाग्छ ! करीब पाँच बर्ष अघीको कुरा हुदो हो, एक दिन भने कार्यालय बाट छिट्टै घर फर्किए ! बेलुकाको करिब पाच बजेको थियो होला ! छिट्टै घर आएर केहि समय श्रीमती संग कुरा गर्ने, छोरा छोरीको पढाईको बारेमा छलफल गर्ने र नजिकै को रेस्टुरेण्ट मा संगै डिनर खाने योजना बुनेको थिए! नेपालमा रहदा अनुकुल मिलाएर हामि यस्तै गर्थेउ!

एक घण्टाको ड्राईभ पश्चात घर पुग्दा श्रीमती कामबाट फर्की सकेकी रहेछिन! बैठकको ठुलो स्क्रिन भएको टिभीमा कुनै सिरियल मा लठ्ठिएकि थीईन उनी! सोफामा ल्यापटप ब्याग राखी उनले टिभी हेरुन्जुल कार्यालयको केहि काम सकिहालौ भनि ल्यापटपमा म पनि एकोहोरिए!

श्रीमती सग केहि मिठा कुरा गरौला र पछि डिनर खान बाहिर निस्कौला भन्ने सोच्दा सोच्दै झपक्क रात परेछ! भित्ताको घडिले दस बजाएको न त उनले चाल पाईन न मैले नै !

श्रीमतीले नजिकको डाइनिङ्ग टेबलमा खाना राखी दीइन ! म चुपचाप डिनर खान थाले! डिनर खाएर एकछिन नजिकको पार्कमा घुम्न जाउ, गफ गरौ भने उनीलाई ! उनी खुसिले फुरुंग भईन र सहमति जनाईन!

हामि दुबैले चुपचाप संगै खाना खान थालेउ! यसै दौरान मलाई मन पर्ने एलेनको टिभि कार्यक्रम लाईभ आई रहेको थियो , खाना खादै एलेनको शो मा म डुबे ! अति नै रोमाञ्चक एलेनको सो हेर्दा हेर्दै म नजिकको सोफा मा निदाएछु!

राती बाह्र बजे छोरा काम बाट आएर उठाउदा आधी रात बितेछ! छोरा कलेज पढदछ र आफ्नो पाकेट खर्च जोहो गर्नाका लागि हप्ताको दुई दिन पार्ट टाइम काम पनि गर्दछ!

आँखा खुलेता पनि मन भने शान्त थिएन! धेरै नै पश्चाताप भयो! छिट्टै घर आएको मौका पारेर पाएको समय श्रीमती संग बिताउने मेरो चाहनामा ठेस लागेको थियो! यति सम्म कि मातेको मान्छे झैँ आधी रातमा लर्बराउदै उठेको अवस्था थियो मेरो !

मान्छेको जिन्दगीमा सोचे जस्तो नहुदो रहेछ ! हामी केहि सोच्छौ तर हुन्छ अर्कै ! हामी सोच्छौ कि एक दिन अवस्य हाम्रो जीवन सुखमय हुने छ, तर हामीले कहिले पनि सुखी हुन जानेनौ वा सकेनौ! हामी सोच्छौ कि एक दिन यो गर्ने छौ त्यो गर्ने छौ, तर गर्न र पुर्याउन सक्दैनौ!

मध्य रात थियो, सोफामा ढलेको जीउ लाई ठड्याउदै उठे , हात मुख धोएर थाकेको गोरु झैँ आफ्नो पलंग नजिक को सोफामा ढल्किए ! नजिकै श्रीमती सारा दिनको थकानले मस्त निदाई रहेकी थिईन! भोलि सबेरै उठेर हामी दुवै लाई आ आफ्नो काममा जानु थियो! बेडरुमको नाईट बल्बको मधुरो उज्यालो लाई हेर्दै म चुपचाप केहि सोची रहेको थिए!

तेईस साल पहिले यीनलाई माग्न म काठ्माण्डो बाट बिराटनगर गएको थिए! यस अघी कहिले पनि यीनलाई मैले देखेको थिईन! मलाई सम्झना छ यीनी संगको पहिलो भेट एक होटलमा भएको थियो! पहेलो कुर्ता सलवार लगाएकी यीनी आफ्नी मीतिनी लाई लिएर मलाई हेर्न आएकि थिईन! केहि महिना पश्चात मैले यीनलाई बिहे गरेको थिए ! मैले बचन दिएको थिए कि सुखमा होस् वा दुखमा, जिन्दगीका हरेक गोरेटाहरुमा सदा तिमिलाई साथ् दिनेछु !

जिन्दगीको रथ चल्दै थियो, यस बिच अवसर र उत्साहाहरु धेरै आए, केहि गुमे त केहि पछी आएर थपिए पनी। दुई छोरा छोरि पनि भए! बाकि जिन्दगीको रथ चलाउन र श्रीमतीलाई दिएको बचन पुरा गर्न कै लागी मैले अमेरिकामा पाएको जागिर प्राथमिकतामा पर्यो! खास गरि केटा केटिहरुको उच्च शिक्षा का लागी र तिनीहरुको भबिस्य सुध्रिढ गर्न का लागी पनि अमेरिका बसाइ सराइको निर्णयबाट हामी दुवै खुसि थियौ! सपरिवार सहित अमेरिकामा घरजम गरियो!

तर, हाम्रो जिन्दगी कस्तो? बिहानै आँखा खुल्दा काम मा जान हतार! आपसमा कुरा गर्न समेत फुर्सत छैन! बिहान सबेरै म भन्दा आधा घण्टा अगाडी उठेर उनी मेरो लागि चिया बनाउछिन ! चिया पिएर म फ्रेश हुन थाल्छु, उनी भगवानको पुजा पाठ र दिउसोको लागी बेलुका नै बनाएको लन्च प्याकिङ्ग मा ब्यस्त हुन्छिन! हामी दुवै लन्च बक्स हातमा झुण्ड्याउदै कामका लागी अलग अलग गाडि बाट हुईकिञ्छौ ! एक घन्टा पछी छोरा छोरी हरु पनि स्कुल तर्फ लाग्छन ।

बिहान पाच बजे उठेकी उनी काम सकी बेलुका चार बजे घर फर्किन्छिन ! छोरा छोरीहरु का लागी स्कुल पठाउन लन्च तथा स्न्याक्स अनी सपरिबारका लागी ब्रेकफास्टको नित्य चिन्ताले दैनिक कामबाट घर फर्कदा उनको हातमा ग्रसरी का पोकाहरु नभएको दिन सायद बिरलै होला । जती कमाउछिन त्यति नै घर परिवारका लागी त्यहि स्टोर मा खन्याएर आउछिन ! काम बाट फर्किएपछि एकछिन फ्रेश भएर बेलुकाको डिनर बनाउन ब्यस्त हुन्छिन ! म काम बाट घर पुग्दा केटा केटि सुति सकेका हुन्छन ! म घर नपुगुन्जेलको समयमा उनी आफ्नो टिभि सिरियल हेरेर मन बुझाउछिन , दिन भरिको थकान मेटाउने प्रयास गर्छिन ! आफु पनि डिनर खाएर दिन भरि जोतेको गोरु झैँ थकान सरिर लीएर बेडमा पल्टनछु !

अमेरिकामा जिउनका लागी एउटा पुरा दिन यसरि नै खर्च हुदो रहेछ !

ती पहेलो कुर्ता सलवाल वाली मेरी श्रीमतीले आज सम्म मलाई कुनै सिकायत वा गुनासो गरेकी छैनन् ! मैले जे दियो त्यहि मन पराउछिन, जस्तो लुगा वा गहना दियो त्यहि लगाउछिन! उनको बिशेष चाहनाका बारेमा आज सम्म मलाई थाहा छैन! उनले कुनै पनि कुरामा हुरुक्क भएर आफ्नो लागि खर्च गरेको समेत मलाई थाहा छैन! उनले म संग गुनासो किन नगरेकी होलिन मलाई त्यो समेत थाहा छैन तर आज मलाई आफु देखि नै ठुलो गुनासो छ! सायद मान्छेले जो संग बढी माया र स्नेह गर्छ उसै लाई कम ध्यान दिने वा कम ख्याल गर्ने भएर पो हो कि? आखिर किन?

धेरै पटक मैले महसुस गरे कि यसरि हड्डी घोटेर हामिले आफ्नो लागि काम गरेको हुदै होईन! आफ्ना प्रियहरुको चाहना र रहरको हत्या गरेर आफ्नो लागि काम गरेको भन्न मिल्छ? हामि त कुनै अज्ञात शक्तिको भय वा डर संग लडन का लागि काम गर्दैछौ ! यसै कारणले हामि जिउन का लागि भन्दै आफ्नो र आफ्ना प्रियजनहरु को जिन्दगी नै बर्बाद गर्दैछौ !

म सोच्छु त्यो दिन कस्तो होला जब हामि बास्तबिक जिन्दगी रमाएर जिउन सकौला? अमेरिकामा होस् वा अन्य मुलुकमा, के गाडि , घर , टिभि , कम्प्युटर , ल्यापटप , स्मार्ट्फ़ोन , ट्याब्लेट , कपडा किन्न कै लागि हामि बाचेका हौ ?

आज पाँच वर्ष भयो मैले महसुस गर्न थालेको ! परिवारलाई धेरै भन्दा धेरै समय दिई उनीहरु प्रती उत्तरदायी हुन ऐले पनि म यहि सोच्दै छु ! काम र परिवार बिच सन्तुलन राख्नु पर्ने आवस्यकताका बारेमा अब आएर म सचेत भएको छु । प्रतेक बर्ष घुमफिर गर्ने समय छुट्याउने , बजेट का लागी अनावस्यक खर्च कटौती गरि केहि पैसा संचित गर्दै जाने र छोरा छोरी का लागी प्रयाप्त समय दिने हाम्रो प्रयास बिगत पांच वर्ष देखि कायम छ ! यही कारणले नै आजकाल म पनि समय मै घर फर्कन्छु , किचेनमा खाना पकाउन सघाउछु र हासी खुशी संगै खाना खान्छौ । बेलुका काउन्टी सँग लिजमा लिएको गार्डेन प्लटमा तरकारी लगाउन र हेरचाह गर्न दुबै निस्कन्छौ । दुई घन्टा पछी फ्रेस भएर घर फर्कन्छौ l

जिन्दगी धेरै छोटो छ, समय बितेको पत्तो हुदैन! यो छोटो जिन्दगी लाई त्यसै खेर नफ़्यालौ! हाम्रा हरेक पलहरु महत्वपुर्ण छन्! काम लाई एक ठाउमा राखेर हाम्रो प्यार र हामिले निर्बाहा गर्नु पर्ने कर्तब्य लाई समय मै चिनौ  ! आफ्नो जीवन साथी र छोरा छोरिहरु संग धेरै समय बिताउ, उनीहरु संगमाया र स्नेह साटा साट   गरौ!

आफ्ना जन्म दिने बाबु आमा लगायत दाजु भाइ, दिदि, बहिनि तथा नाता गोता सबैलाई छोडी अर्काको घरमा सम्बन्ध गासेकी  आफ्नी जीवन साथीलाई बेला बेलामा उनको सुख र दुख सोधेर बुझेर हेरौ , उनको भावना र रहरको कदर गरेर हेरौ …. माया र प्रेम भित्र जीउनेहरु जस्तो भाग्यमानी कोहीहुदैन !

तपाईहरु पनि सोच्नुहोस ! सके सम्म आफु लाई सुधार्ने र परिवर्तन गर्ने प्रयास गर्नु होस् ! आफ्नो जीवन साथी र छोरा छोरिहरु संग धेरै समयबिताउने प्रयास गर्नुहोस !

मलाई आज घर जान हतार छ किनकि आज हामि सपरिवार एक रेस्टुरेण्टमा डिनर खान जादैछौ! आजको बिशेष दिन का लागी डिनरको कार्यक्रमछोरा र छोरी दुबैले मिलेर जुराएका छन ।

ती पहेलो कुर्ता सलवालवाली युवती सँग लगनगाठो गासिएको आज बाईस बर्ष पुगेछ । मलाई चङ्गा बनाई आकाशमा उढाउने मेरो जिवनको लट्टाई प्रती आभार प्रकट गर्दै मेरी उनीलाई हार्दिक धन्यबाद!

प्रतिक्रिया