डोल्पाली परनिर्भर बन्दै

इनेप्लिज २०७३ असार १५ गते ८:५५ मा प्रकाशित

डोल्पा, १५ असार । नौ हजार ३०० हेक्टर खेतीयोग्य जमिन भए पनि जिल्लामा छ हजार ५६० हेक्टरमा मात्र खेती गरिन्छ । सुक्खा बलौटे माटो भएकाले अन्नबाली उत्पादन नगन्य मात्रामा हुन्छ । अझ परम्परागत खेती र यार्सागुम्बामाथी निर्भर हुँदा डोल्पाली दिनप्रतिदिन परनिर्भर हुँदै गएका छन् ।

वार्षिक आठ हजार ६१३ मेट्रिक टन उत्पादन भएपनि जिल्लावासीलाई तीन हजार २०४ मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । अधिकांश किसानले परम्परागत खेती प्रणाली अपनाएका कारण उनीहरु परनिर्भर बन्दै गएका जिल्ला कृषि कार्यालयले जनाएको छ । पछिल्लो समय यार्सागुम्बा सङ्कलनको कमाइले उनीहरुले खेती गर्न छाड्दै गएका छन् ।

“यार्साको कमाइले खेती गर्न जाँगर गरेका छैनन्,” वरिष्ठ कृषि विकास अधिकृत भीम धरलाले भन्नुभयो । खेतीलाई बेवास्ता गर्दा उत्पादन घट्दै गएको उहाँको धारणा छ । आधुनिक खेती प्रणालीतर्फ उन्मुख गराउन उन्नत बीउबिजन, रासायनिक मल, आधुनिक औजार उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रासायिक मल, कीटनाशक औषधि, उन्नत बीउको प्रयोगले माटो बिग्रने डोल्पालीको धारणा कायमै छ । “बाबुबाजेका पालादेखि जुन खेती लगाइन्छ त्यसैलाई निरन्तरता दिँदा उत्पादन घटेको हो,” स्थानीय किसान हरि हमाल बताउनुहुन्छ । अन्नबालीको सट्टा स्याउ, दाँते ओखर, कागतीलगायत फलफूलबाट डोल्पाली आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ ।

डोल्पालीले गरेको खेतीले उनीहरुलाई तीन महिनासम्म पनि राम्रोसँग खान पुग्दैन । बाँकी नौ महिना खाद्य संस्थान र स्थानीय व्यापारीमाथी निर्भर रहनुपर्ने बाध्यता कायमै छ ।

प्रतिक्रिया