चितवनमा मदन भण्डारीको जन्म दिवशमा विचार गोष्ठी-मंसिरमै निर्वाचन – एमाले नेता ज्ञवाली

इनेप्लिज २०७३ असार १४ गते १३:१३ मा प्रकाशित

20160628_121503भरतपुर, चितवन १४ असार ।
नेकपा एमालेका नेता देवी ज्ञवालीले एमाले सरकारले तोकेको समयसीमा भित्र निर्वाचन गराउन प्रतिवद्ध रहेको बताएका छन् । समयमै निर्वाचन नभए देश असफलता तर्फ जाने भन्दै यो सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराई छाड्ने बताए । जननेता मदन भण्डारीको ६५औं जन्म दिवशको अवसरमा मंगलबार भरतपुरमा आयोजित विचार गोष्ठीमा बोल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवम् पूर्व केन्द्रीय सदस्य ज्ञवालीले सो कुरा बताएका हुन् । २०७४ माघ भित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गराउन सकिएन भने हालसम्मको उपलब्धि गुम्न सक्ने खतरा रहेकोले एमाले र एमालेको नेतृत्वको सरकार कार्यतालिका बनाई अगाडि बढेको बताए । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा नेता ज्ञवालीले एमालेको नवौं महाधिवेशनबाट पार्टीले कुशल नेतृत्व पाएको भन्दै देशको समेत नेतृत्व गरेका प्रधानमन्त्री के.पी. ओलीको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत प्रशंसा भएको बताए । अहिलेको आवश्यकता विचार दृष्टिकोण सहितको एकता आवश्यक रहेकोले मदन भण्डारीको जनताको बहुदलीय जनवादको विकल्प नभएको ज्ञवालीले बताए । एमालेको लोकप्रिय र जनमुखी बजेटबाट अत्तालिएको कांग्रेसले आगामी मंसिरमा हुने स्थानीय निकायको निर्वाचनमा आफु पराजय हुने डरले भुकम्प पिडितको एजेण्डा उठाएको आरोप लगाए । यो सरकार भुकम्प पिडितलाई ३ लाख रुपैया दिनपनि तयार छ त्यसको लागि सरकारले कार्यविधि बनाई दातृ निकायको समन्वयमा आवश्यक रकम उपलब्ध गराउन लागेको समेत बताए ।

20160628_121706

कार्यक्रममा नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्तले नेपालको कम्युनिष्टहरुको शिर उँचो भएको बताए । एमालेले जब–जब देशमा बजेट ल्याउँछ तब–तब जनमुखी बजेट आउने गरेको भन्दै थपलियाले दर्जनौ पटक सरकारको नेतृत्व गरेको कांग्रेस एमालेको जनमुखी बजेटबाट ०५१ सालमा पनि अत्तालिएको र अहिले पनि अत्तालिई संसद अवरुद्ध गर्न अग्रसर भएको बताए । फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले आजको एमालेको सरकार मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तमा हिडेकाले सफल भएको बताए । राष्ट्रियताको होस् या जनजीविकाको होस् सबै क्षेत्रमा एमालेको सरकारको प्रशंसा दिनानुदिन बढ्दै गएको उनले बताए । अन्तर्राष्ट्रिय रुपमा समेत जनताको बहुदलीय जनवादको विकल्प नभएकाले अन्य राष्ट्रका कम्युनिष्टहरुले पनि यसै सिद्धान्तलाई अंगाल्दै अगाडि बढेको समेत उनले बताए । मदन भण्डारी फाउण्डेशनका कार्यवाहक अध्यक्ष दावा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका प्रशिक्षण विभाग प्रमुख शिक्षाविद् रमाकान्त सापकोटाले मदन भण्डारीको सिद्धान्त, यो सरकारको नीति कार्यक्रम र बजेटलाई जोडेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष डा. तिलचन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सप्तगण्डकी क्याम्पस भरतपुरमा आयोजित कार्यक्रममा अधिकांश संस्थापन पक्षका जिल्लाका नेता तथा कार्यकर्ता उपस्थित थिए भने नेपाल पक्षका केन्द्र तथा जिल्लाका नेताहरु कार्य व्यस्तता भन्दै कार्यक्रममा उपस्थित भएका थिएनन् ।

20160628_121726 20160628_123223 20160628_132216 20160628_133159 20160628_135312

प्रतिक्रिया