बिदेशबाट भड्किला सेल्फी खिचेर सामाजिक संजालमा पोष्ट गर्नेलाई बिदेशबाटै सरगम भट्टराईको कडा चुनौति ! साथी ! तिम्रो सेल्फी झूठको पूलिन्दा बाहेक केहि होईन ।

इनेप्लिज २०७३ असार १४ गते २:३२ मा प्रकाशित

SARGAM

पृय साथी ,

सोसल मिडियामा तिम्रो सेल्फीमा जोड़तोड़का साथ लाईक र कमेन्ट आईरहेको देखेँ । बिशेष गरि नेपालमा भएका पहिलो पुस्ताका नानी बाबुहरुको मोह भंग गर्ने गरि तिमीले भड्किलो सेल्फी खिचेर सामाजिक मिडियामा अपलोड गर्दा त्यसले कस्तो तरंग पैदा गर्छ भन्ने कुराको कत्ति पनि अड्कल गरेनौँ है ?

हो साथी ! तिम्रो ब्यक्तिगत जीवन प्रति मलाई कुनै डाह छैन र हुने पनि छैन , किनकी म पनि अरुकै मुलुकमा छु , मैले पनि धेरैथोरै जिम्मेवारी लिन्छु तर बिदेशमा बसेको भन्दैमा बिलासी फोटो पोष्ट गरेर हामीले आफैले आफैलाई सुख सम्राट घोषणा गरेपनि त्यो  तिम्रो हाम्रो झूठको पुलिन्दा बाहेक केहि होईन भन्ने मेरो ठहर हो ।

के तिमीले कहिल्यै सोँचेका छौ !, तिमीले दिनरात गधाले जस्तै काममा जोतिएर अर्को दिन छुट्टीको दिनमा फूलै फूलको बगैचामा खिचेको सेल्फीमा ओकलेको कृत्रिम हाँसोले नेपालमा तिम्रा हाम्रा छोरा छोरीलाई अनि भाइ भतिजलाई कस्तो असर पुग्छ भनेर ?  आज हाम्रै बनावटी हाँसो देखेर दुई- चार कक्षामा पढ्ने कोमल नानी बाबुहरु पनि अमेरिका युरोपकै सपना देख्छन् : ठूलो भए पछि बाबा र अंकल जस्तै युरोप र अमेरिका जाने हो !

हो , तिमी हामीले  होटलमा भाँडा माझेको फोटो पोष्ट गर्दैनौँ, ग्याँस स्टेशनमा पम्प पुछ्दै गरेको , बढारेको फोटो पोष्ट गर्दैनौँ, ट्याक्सी ड्राईभर भएर गोरे/ काले ग्राहकले  गरेको भोमिट सोहोर्दै गरेको फोटो पोष्ट गर्दैनौँ ,केयर गिभर भएर बुढा बुढीको आची पुछेको फोटो पनि पोष्ट गर्दैनौँ , कामले लखतरान भएर आउँदा खाना पकाउन नसकेर भोकै सुतेको स्टाटस पनि हाल्दैनौँ । बरु म्याकडोनाल्डको कफि बोकेको, बर्गर खाँदै गरेको, पार्क घुमेको र सुरापान गरेको तस्बिर मात्र पोष्ट गर्छौँ अनि भन नेपालमा बसेका कोमल नानी बाबुहरुले बिदेशको सपना किन देख्दैनन् ?

किन तिमी हामी  काम नपाएर पुल मुनि सुतेको, कलेज फ़ी तिर्न नसकेर घरमा बा आमालाई रिण काढेर पैसा पठाउन लगाएको स्टाटस पनि  अपडेट गर्दैनौ ? तिमी धेरै युवाहरु  दुर्ब्यसनमा लागेर बिग्रेको स्टाटस पनि पोष्ट गर्दैनौ ? किनकी यो सब गर्न तिमीलाई लाज लाग्छ हैन र ?

हो महोदय !  देशमा भरिपूर्ण हुने हो भने कसैलाई बिदेश धाउनै पर्ने थिएन, तिम्रो हाम्रो यो बाध्यता हो, तर भोलि देशका कर्णधार हाम्रा कलिला सन्तानलाई पनि वनावटी भड्किलो जीवनशैली देखाएर बिदेशकै भूत चढाउनु हाम्रो अपराध हो कि होईन ? तिमी हामीले नजानेरै ठूलो अपराध गरेका छौ, हामी बिदेश भाँसियौँ , ठिक छ तर अचेल गाउँमा हाम्रै भड्किलो सेल्फीको कारणले मलामी पाईन छाड्यो, खेतबारी बाँझो भईसके । हामीले  पठाएकै रेमिट्यान्सले हाम्रा श्रीमती अल्छी भैसके, छोरा छोरी शौखिन र दुर्ब्यसनी भैईसके ! देश पनि परनिर्भर भईसक्यो, यो कुरा कहिल्यै सोँचेका छौँ ? छैनौ भने आजै देखि सोँच्न शुरु गरौँ न है !

ठिक छ ! हामी दशै तिहारमा एक्लै रोएको फोटो अपलोड गर्न सक्दैनौँ, बैंकको किस्ता कति बाँकी छ भन्ने स्टाटस पनि लेख्न सक्दैनौँ, हामी दश बर्ष बिदेश बस्दा हाम्रो पारिवारिक संबन्धमा भुईचालो गएको कुराको कथा पनि लेख्न सक्दैनौँ, बिरामी बाबा आमालाई एक गिलास तातोपानी तताएर दिन नसकेको पीडा पनि लेख्न सक्दैनौँ, त्यसैले बिन्ती छ ती नेपालका आफन्त, साथी भाइ र कोमल केटाकेटीको मन भड्काउने सेल्फी मात्रै अपलोड नगरौँ, त्यो बनावटी हाँसो फ्याँकेर झूठको पूलिन्दा नबनाऊँ न है !

हामीलाई अफ़ग़ानिस्तानमा आत्मघाती हमलामा निर्दोष दाजुभाइ मरेको कुराले पिरोल्न छाडेको दिनदिनै काठको बाकसमा क़ैद भएर आएका मर्मस्पर्शी  दृष्यहरु नज़रअन्दाज़ गर्ने बानी परेको छ, अझै पनि मलेशियामा नेपाली श्रमिकहरुको लाजमर्दो अवस्थाका बारे हामी किन लेख्दैनौँ ? अनि किन मृत्युपथबाट अमेरिका युरोप छिर्नेहरुले दुखको कथा लेख्दैनौँ ? अनि हाम्रो फिस्स हाँसेको सेल्फीलाई झूठको पुलिन्दा नमानेर के मानौ महोदय !

हो ! बिदेशमा सबैले दुख पक्कै पाउँदैनन् तर एकपटक सोँचौँ यो तिम्रो हाम्रो छालाको रंगले कुनै गोरे कालेहरुले हामी यहि जन्मेको भनेपनि पत्याउदैनन् ,तिम्रो हाम्रो जिभ्रोले उनीहरुले जस्तै फड्कारेर अंग्रेज़ी बोल्न पनि सक्दैन, त्यसैले हामीले जति सुनौला सेल्फी पोष्ट गरेपनि सपना यहाँको देख्दैनौँ , सपनामा हामीले आफ्नै देश देख्छौँ, डाँडा काँडा र अँध्यारो देख्छौँ , हामी यहाँको बर्गर पिजा होईन , सपनामा त आफ्नी आमाले पकाएको पानी रोटी देख्छौँ महोदय !  बरु बिदेशमा भएर स्वदेशमा के प्रबिधि लैजान सकिन्छ, त्यस्तो कुराको खोजी गरौँ, हामीले पठाएको रेमिट्यान्सलाई कसरी उत्पादनशील काममा लगाउन सकिन्छ, त्यसबारे सोँचौँ,बिन्ती छ : बिदेशीले गरेका प्रगति र उन्नतिका कुरा लेखौँ, बिदेशमा गरिने मेहनत र पसिनाका कुरा लेखौँ, जसले गर्दा छोरा छोरीहरुलाई स्वदेशमै केहि गर्ने प्रेरणा बनोस । राजनीतिलाई राम्रो बनाउन हाम्रा छोरा छोरीलाई पनि परोपकार र समाजसेवा गर्न प्रेरित गरौँ ,  जो जसरी आए पनि बिदेशमा तिमी हामी सबै शरणार्थी नै हो, स्वदेशमा भरिपूर्ण भएर कोहि पनि बिदेश आएको हुँदैन,  तिमी हामीलाई रातो कार्पेट बिछ्याएर  बाराक ओबामाले ज्वाई या बुहारी भित्र्याएसरी भित्र्याएका होईनन् महोदय ! त्यसैले किन झूठको पुलिन्दा बनाईराख्नु र ?

थाहा छ महोदय !  अचेल छर छिमेकमा बिदेश भएकालाई छोरा वा छोरी दिने चलन ह्वात्तै बढेको छ , के काम गर्छ, कसरी बस्छ, त्यसको कसैलाई मतलब छैन , यसले गर्दा भोलि स्वदेशमा भएकाहरुले त बिहे गर्नै मुश्किल पर्ने छ, बरु यताको  ईन्टक्सिकेटेड जीवन शैली, अस्थिर पारिवारिक सम्बन्ध, समलिंगी सम्बन्ध र एकलकाटे परिबेशलाई पनि स्टाटसमा हाल्ने गरौँ, यताका कुमारी आमा , अल्लारे केटाकेटी र बुढेसकालको केयर होमको मूढ़ों जस्तो जिन्दगीको बारेमा पनि केहि लेख्ने गरौँ, भोलि सन्तानहरु सचेत हुन सक्छन् । कति खिस्स हाँसेर रक्सीको गिलास चियर्स गरेको फोटो मात्र अपलोड गरेर झूठको पुलिन्दा बनाईरहने ?

गत सालको कुरा सम्झेँ : बिदेशमा मरिहत्ते गरेर काम गरि स्वदेश फर्क्यौ, साथी भाइ जम्मा गर्यौ, जाँड पार्टी चलायौ, गाउँमा बचे खुचेका दुई चार जना साथीहरुलाई बिदेश जाने काउकुती लगायौ , तर त्यहि बेला कुनै अनाथाश्रम जान सोचेनौँ, कुनै बृद्दाश्रम गएर एक छाक खाना खुवाउने चेष्टा गरेनौ, भुईचालोले देश भत्किएर खण्डहर भएको बेला तिमीले नागरिकले गर्ने एउटा पनि दायित्व पूरा गरेनौँ जति बेला आफ्नो कलकलाउँदो जोवन अनाथ लागि सुम्पने दीक्षा चापागाईहरु तिम्रो बाटो हेरिरहेका थिए, अनि भन तिम्रा हाम्रा भड्किला सेल्फीको म कसरी बयान गरुँ महोदय !

जति लेखे पनि कुराहरु उनै हुन् , झट्ट सुन्दा तिमीलाई खरो लाग्ला तर समय आएपछि यहि मेरो चिठ्ठी पटक पटक पढ्नेछौ, त्यो पश्चातापको आगोमा जल्नुभन्दा पहिले आफूलाई परिमार्जित गरौँ सन्तानहरुको सुनौलो भोलि बनाउनका लागि हामीले जान अन्जानमा गरेका गल्तीहरुलाई बेलैमा सच्याऊँ  है !

प्रतिक्रिया