शनिबार, असोज ३० २०७८
काठमाडौं ०३:०८
वासिङटन डिसी 17:23

गौतमबुद्ध विमानस्थललाई निर्माण सामग्रीको अभाव

इनेप्लिज २०७३ असार १२ गते ९:११ मा प्रकाशित

Gautam-Buddha-Internationa-Airport-Project-3-530x240भैरहवा, १२ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ ।

आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा अर्को जटिलता पैदा भएको छ । दैनिक ३०० ट्रक गिटी आवश्यकपर्ने भए पनि स्थानीय प्रशासनले स्वीकृति नदिँदा समस्या भएको आयोजनाका प्रमुख ओम शर्माले राससलाई जानकारी दिनुभयो । आयोजनाले द्रूत रुपमा वातावरणिय प्रभाव मूल्याङ्कन गरेर गिटीको व्यवस्था गर्नेतर्फ छलफल भए पनि हालसम्म कुनै पहल हुनसकेको छैन ।

आयोजनाले जनसङ्ख्या तथा वातावरण मन्त्रालयसँग पटक÷पटक निर्माण सामग्रीको विषयमा प्रष्ट व्यवस्था गरिदिन आग्रह गरेपनि आवश्यक निर्णय हुन नसक्दा जटिलता पैदा भएको जनाएको छ । आयोजनाको धावनमार्गका लागि मात्रै तीन लाख घनमिटर गिटी आवश्यक पर्दछ ।

हाल सामान्य रुपमा स्थानीय केही खोलाबाट निर्माण सामग्री ल्याइएको भए पनि पूर्ण क्षमतामा काम गर्न नसकिएको आयोजनाको भनाइ छ । गत सालको ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीका कारण करिब ६ महिना भन्दा लामो समय काम अवरुद्ध भएको आयोजनाको काम गत फागुनबाट मात्रै युद्धस्तरमा अगाडि बढेको हो । विमानस्थल निर्माणकार्य सन् २०१८ को सुरुवातमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर निर्माण सामग्री र विद्युत् उपलब्धतामा सहजता नहुँदा केही समय पर धकेलिन्छ कि भन्ने चिन्ताले आयोजनालाई सताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साघुँरो भएको र कुनै समस्या पैदा हुँदा भारतका विभिन्न सहरमा विमान डाइभर्ट गर्नुपर्ने बाध्यता रहेको सन्दर्भमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तोकिएको समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको छ ।

आयोजनाले विमानस्थलको धावनमार्गमा नै पर्ने घाघर नदी फर्काउने काम सम्पन्न गरेको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवन, कर्मचारी आवास भवन बनाउने काम अगाडि बढाएको छ ।

“घाघर नदी फर्काउने काम सम्पन्न भएको छ, यसले ठूलो सहजता पैदा गरेको छ, हामी एकदमै उत्साहित भएका छाँै, गिटी र माटो आपूर्तिमा कुनै अवरोध नहुने हो भने करिब १५ दिनमा हामी आपतकालिन अवतरणका लागि विमानस्थलयोग्य बनाउन सक्छौँ” आयोजना प्रमुख शर्माले भन्नुभयो– “समयमा काम नहुने मुलुकको आम प्रवृत्तिलाई चिरेर अगाडि बढ्ने साहस पैदा भएको छ । तर अवरोध भने कायम नै रहेको छ ।”

नदी फर्काउनका लागि मात्रै तीन लाख २० हजार घनमिटर माटो काटिएको छ । नदी फर्काउने आयोजनाको प्रमुख चुनौती हल भएकाले खुसी पनि दिएको प्रमुख शर्माको भनाइ छ । नदीलाई दुई हजार ५०० मिटर टाढा दक्षिणी क्षेत्रमा लगेर सोही नदीमा मिसाइएको छ ।

नदी डाइभर्सन गर्दा धावनमार्गको लम्बाई तीन किलोमिटर भन्दा लामो बनेको छ । नदी फर्काउने कामसँगै अगाडि बढेको प्रशासकिय भवन, प्राविधिक कक्ष, कर्मचारी आवास भवनको निर्माणले समेत गति लिएको छ । आयोजनाले आन्तरिक टर्मिनल भवन निर्माणको काम पनि सुरु गर्ने जनाएको छ ।

चीनको नर्थ वेस्ट कम्पनीले निर्माण गरिरहेको सो परियोजनामा एसियाली विकास बैंकले रु पाँच अर्ब बढी सहयोग गरेको छ । उक्त बैंकको सहुलियत ऋण सहयोगमा निर्माण सुरु भएको आयोजनाको लागत रु सात अर्ब रहेको छ । परियोजना सम्पन्न हुँदासम्म करिब रु आठ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरे आयोजनालाई समयमै सम्पन्न गर्न हरदम प्रयास गरिएको बताउनुहुन्छ । गिटी, माटो, विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट पहल गरिएको छ, कुनै पनि समस्या नहोस् र निर्माण कार्यलेगति लिओस् भन्नेमा आफूहरु हरदम चनाखो रहेको उहाँको भनाइ छ ।

निर्माण सामग्री आयातमा देखिएको अवरोध हल गर्न मन्त्रालयले जनसङ्ख्या तथा वातावरण मन्त्रालयसँगको समन्वयमा काम गरेको र स्थानीय प्रशासनलाई पनि आवश्यक निर्देशन दिइएको सहसचिव घिमिरेले बताउनुभयो ।

आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोहामा परियोजनालाई समयमै पूरा गर्न र गुणस्तरमा विशेष ध्यान दिन समृद्ध पक्षको ध्यानाकर्षण गराइएको बताउनुहुन्छ । “गौतमबुद्ध विमानस्थलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग गर्नेछ, त्यसकारकाण पनि आयोजना समयमै सम्पन्न हुनुपर्छ । बैंकका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग हामी उपलब्ध गराउँछा,” उहाँले भन्नुभयो ।

निर्माण सामग्री आयातमा भएको समस्याका विषयमा उहाँले सरोकारभएका निकायले समयमै काम गर्नुपर्ने र कुनै पनि अवरोध हुन नहुनेमा आफूहरु सचेत रहेको उल्लेख गर्नुभयो । विसं २०२३ मा भारत सरकारको सहयोगमा निर्माण भएको उक्त विमानस्थललाई स्तरोन्नत्ती गरेर अन्तर्राष्ट्रिस्तरको बनाउन लागिएको हो ।

प्रतिक्रिया