आगोले जलेर गर्भवती महिला अशक्त

इनेप्लिज २०७३ असार १२ गते ५:११ मा प्रकाशित

पथरी (मोरङ), १२ असार । शरीर जलेर उहाँ पूरै असक्त हुनुहुन्छ । मुस्किलले हिँडडुल गर्नुहुन्छ । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उहाँलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर बसिरहनुभएको छ ।

मोरङ, उर्लाबारी–६ मङ्गलबारेकी ३३ वर्षीया कुमारी राईले यस्तो कारुणिक पीडा भोगिरहनुभएको छ । गत पुस १२ गते घर छेउकै कटेरोमा सुँगुरलाई चारो पकाउँदै गर्दा अचानक उहाँको सारीमा आगो सल्किएर यस्तो दुर्दशा भएको हो ।

“हुरी बतास चलिरहेको थियो । सँुगुरलाई चारो पकाउँदै थिएँ । पोलिस्टरको सारी लगाएकी थिएँ । कतिखेर आगो सल्किएछ थाहै पाइनँ । सारीमा आगो सल्किएपछि शरीर जलेर बिहोस भएँ । अस्पताल पुगेपछि मात्र थाहा पाएँ शरीर बेस्सरी चरचर पोलिरहेको थियो । कम्मर, पेट र घाँटी डढेर कालो भएको थियो” – मलिन स्वरमा कुमारीले भन्नुभयो ।

आगोले शरीर जलेपछि आफन्तले उहाँलाई झापाको भद्रपुरस्थित मेची अस्पताल पु¥याए । तीन महिना उपचार गरेपछि अस्पतालले घर पठायो । त्यतिखेर ऋण र सरसहयोग जुटाएर भेला गरेको रु ३५ हजार सिद्धियो । चिकित्सकले प्लास्टिक सर्जरी गर्नु भनेका छन् । तर, अहिले प्लास्टिक सर्जरी गर्ने उहाँसँग रकम छैन ।

उर्लाबारी मङ्गलबारे बजार उत्तरपट्टि सात धुर जग्गामा बनेको सानो झुपडीबाहेक आफूहरुको कुनै सम्पत्ति नभएको कुमारीका पति देशबहादुर राईले बताउनुभयो ।

कुमारीको प्लास्टिक सर्जरी गर्न धरान अथवा काठमाडौँ लानुपर्ने र करिब रु छ लाख खर्च लाग्ने चिकित्सकले जानकारी दिएको उहाँले बताउनुभयो ।

आगोले शरीर जलेर अशक्त बनेकी कुमारी अहिले गर्भवती हुनुहुन्छ । उहाँ गर्भवती भएको नौ महिना पुग्न लागेको पति देशबहादुरको भनाइ छ ।

प्रतिक्रिया