अमेरिकाको ईलिनोईज युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा अध्यापन गराउँदै आउनु भएका रबिन भट्टराई ( विद्यावारिधी ) नेपालमा जलस्रोतको प्रचुर संभावना भएको वताउनुहुन्छ । नेपालमा जलस्रोतलाई उपयो गर्ने उपयुक्त नीति नभएको कारणले विगत पच्चीस वर्ष अन्धकारमा वस्नु परेको भएता पनि अव यो एउटा उत्साहको क्षेत्रमा परिवर्तन भएको उहाँको वुझाई रहेको छ । पानीको गुणस्तरको वारेमा विद्यावारिधी गर्नु भएका भट्टराई नेपालको लागि संभावनाको क्षेत्र पनि जलस्रोत,अत्यावश्यकको स्रोत पनि जलस्रोत भएकाले यसलाई व्यवस्थापन गर्न नीतिगत संरचनाले धेरै भूमिका खेल्ने वताउनुहुन्छ ।
थाईल्याण्डको एशियन ईन्ष्टिच्युट अफ टेक्नोलोजीवाट पानी ईन्जिनियरिङ्ग तथा व्यवस्थापनमा स्नातकोत्तर पश्चात अमेरिका आउनु भएका भट्टराईलाई नेपालको राजधानी काठमाण्डौंमा चौविसै घन्टा विद्युत आपूर्ति भएको र हरेक धारावाट आएको पानी पिउन योग्य भएको देख्ने चाहना रहेको छ । यो आगामी पाँच देखि दश वर्ष भित्र सरकारी निकायले सहयोग गरेको खण्डमा संभावना रहेको उहाँको ठम्याई छ । समृद्ध नेपालको सपना, प्रवासी नेपालीको चाहना श्रृङ्खलाको आठौ स्तम्भका लागि भट्टराईसँग मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु:
तपाईलाई कसरी चिन्ने ? अमेरिका आउनु भएको कति भयो ?
म नेपालको तराई क्षेत्रमा पर्ने सप्तरी जिल्लाको राजविराजमा जन्मिएको एक सामान्य नेपाली हुँ । अभिभावकको नोकरीको सिलसिलामा विभिन्न जिल्लाहरुका ६,७ वटा विद्यालयमा अध्ययन गरे । त्रिभुवन विश्विद्यालयवाट स्नातक गरेपछि, थाइल्याण्डवाट मास्टर्स र अमेरिकावाट विद्यावारिधीको उपाधि लिएको छु । अहिले युनिभर्सिटि अफ ईलोनोईजमा कृषि तथा वायोलोजिकल ईन्जिनियरिङ्ग विभागमा सह प्राध्यापकको रुपमा काम गर्दे आएको छु । मेरो अझ विशेषज्ञताको क्षेत्र भनेको प्रदूषित पानीलाई कसरी स्वच्छ पानी वनाउने भन्नेमा केन्द्रित हुन्छ । यो जलस्रोत विज्ञानको एउटा अंग हो ।
तपाई पानीको पनि शुद्दताको मापन र आँकलन गर्नुहुने रहेछ, नेपालमा भएको पानीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
ठीक हो, तपाईले भन्नु भए जस्तै पानीको उदगम स्थल देखि उपभोक्ताको स्थल सम्म त्यसको गति, अवस्था र प्रक्रियाका अनेकन चरण पार गर्दे पानीको वहाव जान्छ । यो प्राकृतिक नियम हो, यही नियमलाई विश्लेषण गरेर हेर्दा म त नेपालको पानीलाई अमृत नै ठान्दछु । किनकि पहिलो, पानी जुन हिमश्रृङ्खलावाट निस्किएको छ । त्यो हिमश्रृङ्खलावाट निस्किएको पानी आफैमा शुद्ध हुन्छ । दोश्रो यस्तो पानीको वगावको आधारमा जलविद्युत उत्पादन गर्न सकिन्छ । किनकि पानीको उदगम स्थलवाट नजिकै पहाडी क्षेत्रमा बाँध बाँधेर आयोजना निर्माण गर्दा त्यसको लागत कम पर्न जान्छ । जति टाढा भयो उति पानीको आकार क्षेत्रगत आधारमा वढने भएकाले तराईमा भन्दा पहाडमा जलविद्युत उत्पादनको लागि सस्तो पर्छ ।
तेश्रो नेपालकोे जनसंख्या र क्षेत्रफलको आधारमा जति नदीहरु छन, तिनीहरुको व्यवस्थापन गर्न सक्दा नेपाली जनताको आवश्यकता र उपलब्धताको आधारमा जलस्रोत प्रचुर मात्रामा छ भनेर भन्न सकिने आधार हुन्छ ।
यस्तो संभावना वोकेको देश नेपाल, अनि किन पानीको उपयुक्त तवरले सदुपयोग गर्न सकेको छैंन त ?
मेरो विचारमा पानीको सदुपयोग गर्नका लागि स्पष्ट नीति, आवश्यक पूँजी प्रविधि र सीपको खाँचो हुन्छ । नेपालको हकमा अहिले यी कुराहरुमा क्रमशः सुधार हुदै गएको छ । अलि ठूला आयोजनाहरुको लागि ठूलो पूँजी चाहिन्छ , त्यो पूँजीको लागि वैदेशिक लगानी, गैर आवासीय नेपालीहरु र आन्तरिक लगानी कर्ता पनि उपयोगी हुन्छन् । तर तपाई वैदेशिक लगानीको कुरा गर्नुहुन्छ भने उनीहरु कम जोखिम भएको स्थानमा लगानी गर्न चाहन्छन् । किनकि नेपाललाई अहिले पनि लगानीकर्ताहरुले उच्च जोखिमको क्षेत्रमा राखेको हामी पाउँछौं । अर्को गैर आवासीय नेपालीहरुले पनि लगानी गर्न खोजेको देखिन्छ तर नीतिगत अस्पष्टताको कारणले जति हुन पर्ने हो त्यो भएको छैंन् ।
त्यसैले मेरो विचारमा यदि हामी नेपालमा जलविद्युत क्षेत्रमा साँच्चै परिवर्तन गरेर ऊर्जामा आत्मनिर्भर हुने हो भने सार्वजनिक नीजि साझेदारीमा वैदेशिक लगानी पनि ल्याउनु पर्छ जस्तो लाग्छ । साथै जलविद्युतको विकासका लागि त्यो आयोजना स्थल देखि वितरण प्रक्रियासम्म कुनै प्रकारको अवरोध हुनै हुदैंन् । अन्यथा हामी प्रकृतिको महत्वपूर्ण उपहार पनि प्रयोग गर्न नसक्ने हुने छौं ।
एक थरि मानिसहरु अव विस्तारै ऊर्जाको अरु विकल्पमा जाने भएकाले जलविद्युत क्षेत्रले विकास गरेर पनि प्रतिफल दिदैन भन्ने टिप्पणी गर्छन नि ?
त्यसो होईन । पहिलो कुरा वातावरणीय दृष्टिकोणले यो जलविद्युत आयोजना किफायति छ् । दोश्रो, अरु ऊर्जाको लगानी भन्दा यसको थोरै लगानीमा धरै मेगावाट उत्पादन गर्न सकिन्छ । तेश्रो, नेपाल जस्तो देशमा आणविक ऊर्जा महंगो र उपभोगका लागि समेत वजार सानो हुने भएकोले त्यति संभाव्य देखिन्न । तसर्थ जलविद्युत क्षेत्रको विकासले मात्रै ऊर्जाको माग पूरा गर्न सक्छ । त्यो नेपालको लागि एक प्रमुख स्रोत पनि हो ।
तपाईलाई के लाग्छ ? नेपालमा जलविद्युत क्षेत्रको विकासले आगामी पन्ध्र- विस वर्ष भित्र कम विकसित देशवाट विकासशील देशमा जाने गरी समृद्धि हासिल गर्न सक्ला ?
हेर्नोस ,अहिले भएका प्रयासहरुले नेपाल जलविद्युत क्षेत्रमा आत्मनिर्भर वन्न सक्छ भन्ने संभावनाहरु देखिएको छ ,तर विकासशील देशमा जाने भनेको अरु कुराहरु पनि पूरा गर्नु पर्ने भएकाले मलाई संभव होला जस्तो लाग्दैंन् । किनकि त्यसमा प्रतिव्यक्ति आम्दानी, निर्यात तथा आयातको सन्तुलित व्यापार देखि सामाजिक पक्षहरु समेत समावेश गरिएको हुन्छ । त्यसको एकीकृत रुपमा विकासशील देशको सूचीमा उक्लिने हो ।
तसर्थ अहिलेलाई ऊर्जाको राम्रो प्रयोग गर्न सक्यौ भने एक तहको आर्थिक फडको मार्न संभव छ । तर तपाईले भने जस्तै विकासशील देशको सूचीमा पर्न केही मेहनत गर्नुपर्छ र थप केही वर्ष कुर्नुपर्ने देख्छु ।
अन्त्यमा तपाईले नेपालमा गर्न खोज्नु भएको कुनै योजना छ कि ?
निश्चिय नै प्रवासमा वसेपछि आफनो मातृभूमिका लागि के गर्न सकिन्छ भनेर सवैले चिन्तन गरिरहेका हुन्छन म पनि त्यसमा सोचिरहेको छु ।
खासमा हामीहरुले एउटा समूह वनाएर नेपालको धारामा आउने पानीलाई कसरी प्रदूषण मुक्त वनाएर मानिसहरुलाई उपयोगी वनाउन सकिन्छ भनेर काम थाल्न खोजेका छौं , किनकि पानीको सिजन अनुसार प्रदूषणको मात्रा कम र वढी हुन्छ । त्यसको लागि अहिले हाम्रो ल्यावमा शसरी गाउँका हरेक घरमा शुद्ध पानी पुरयाउन सकिन्छ भनेर अनसन्धान गर्देछौं । साथै आगामी दिनमा नेपालको पानीको वारेमा थप अध्ययन अनुसन्धान गर्ने सोच लिएको छु ।
प्रतिक्रिया