अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री वितरण

इनेप्लिज २०७३ असार ९ गते ५:५१ मा प्रकाशित

जुम्ला, ९ असार । यहाँका १८ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सिबिएम नेपालको सहयोग तथा आइएनएफ जुम्लाको साझेदारीमा अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले यी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

केन्द्रले सञ्चालन गरेको सवलता परियोजनाअन्तर्गत पठनपाठनका सामग्री वितरण गरिएको अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो । उहाँले जुम्लाको दुर्गम गाविस पातारासी, घोडेमहादेव र तातोपानीका १८ जना अपाङ्ग बालबालिकालाई सहयोग गरेको बताउनु भयो ।

उनीहरुलाई झोला, कापी, सिसाकलमलगायतका आवश्यक सामग्री वितरण गरिएको छ । त्यसैगरी, घरको आर्थिक अवस्था निकै कमजोर भएका चार बालबालिकालाई पोसाक र जुत्ता उपलब्ध गराइएको सवलता परियोजनाका संयोजक नेत्रबहादुर शाहीले जानकारी दिनुभयो ।

तातोपानी गाविसका अति अशक्त बालिका रीता खत्रीलाई भने नजिकको बोर्डिङ स्कुलमा अध्यापन गराउन संस्थाले पूर्ण सहयोग गरेको संयोजक शाहीको भनाइ छ । केन्द्रले अपाङ्गता भएका बालबालिकालाई बर्सेनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया