शहीद घोषणा, उपचार र मुद्दा फिर्ता नभई बार्ता हुँदैन

इनेप्लिज २०७३ असार ८ गते ८:२१ मा प्रकाशित

rakeshkarki

तराई मधेस लोकतान्त्रिक पार्टी यति बेला महाधिवेशनमा छ । सो पार्टीको महाधिवेशनपछि सरकार र आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चावीच बार्ता हुने चर्चा चलेको छ । बास्तविकता के हो त ? के सरकार र मधेसी मोर्चावीच बार्ताकोलागि आन्तरिक रुपमा तयारी भईरहेको हो ? कुन सर्तमा बार्ता हुन्छ ? सहित मुलुकको समसामयिक राजनीतिक विषय बस्तुमा पार्टीका नेता हृदयेश त्रिपाठीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

पार्टीको नयाँ नेतृत्वकोलागि चुनाव हुन्छ कि सर्वसम्मत हुन्छ ?
महन्थ ठाकुर नै हाम्रो पार्टीको सम्भावित अध्यक्ष हो । उहाँ निर्विरोध, निर्विबाद हुनु हुन्छ । राजनीतिमा उहाँजस्तो त्यागी र निर्विवाद नेता छैन । उहाँले नेपाली काग्रेसमा लामो राजनीतिपछि मधेस आन्दोलनमा लाग्नु भएको हो । उहाँले जतिबेला काग्रेस छाड्नु भयो त्यती बेला मधेसमा निराशाको अवस्था थियो । त्यो निराशालाई तोड्न उहाँको नेतृत्वमा धेरै आन्दोलनहरु भए । उहाँको परिपक्व विचार र नेतृत्वले गर्दा आन्दोलन अघि बढेको छ र उहाँको नेतृत्वमा पार्टीभित्र पनि कसैले अन्यथा सोचेको छैन ।

अध्यक्षमा गोविन्द चौधरीको नामको चर्चा पनि छनी ?
चर्चा त मान्छेले धेरै कामको लागि गर्छन । आफ्नो पदलाई सुनिश्चित गर्न सकिन्छ कि भनेर पनि चर्चा हुन्छ । केन्द्रीय समितिमा पुग्नै नसकिने हो कि भन्ने हिसावले पनि मान्छेहरुले चर्चा गर्छन । चर्चा गरेको आधारमा राजनीति निर्धारित हुँदैन ।

ठूला पार्टीहरुले प्रदेश संयोजक तोक्न थालिसके तपाईहरुको चाँही दृष्टिकोण कस्तो रहन्छ ?
हाम्रो स्पष्ट दृष्टिकोण छ । तराई मधेसमा दुई वटा प्रदेश हुनु पर्छ । नारायणीदेखि महाकालीसम्म थरुहट प्रदेश र नारायणी पूर्व झापा सम्म मधेस प्रदेश हुनु पर्छ भन्नेमा हामी स्पष्ट छौ ।

मधेसमा दुई प्रदेश बनाउन त अरु दल पनि तयार हुनु पर्ला नि ?
अरु दलहरु त संघीयताकोलागि पनि तयार थिएनन । बाध्यताबस तयार हुनु पर्यो नि ।

झापा देखि विरगञ्जसम्म एउटा प्रदेश सम्भव छ र, प्रधानमन्त्री त तयार हुनु हुन्न ?
तयार हुनु पर्छ । प्रधानमन्त्री त गणतन्त्रकोलागि पनि तयार हुनु हुन्नथ्यो । उहाँ त २०६२–६३ को जनआन्दोलनको लागि पनि तयार हुनु हुन्नथ्यो । उहाँ संघीयताको लागि पनि तयार होईन तर देश त त्यो दिशामा गयो नि । जो अगाडि तयार हुँदैनन त्यसले भईसकेपछि स्विकार गर्छन ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भाग लिनु हुन्न ?
जबसम्म मधेस, थारु, मुस्लिम, आदीबासी जनजातिको समस्या समाधान हुँदैन तबसम्म कुनै पनि निर्वाचन यो देशमा सम्भव छैन ।

लोकतान्त्रिक पार्टीले निर्वाचनमा जान्नौ, भाग लिन्नौ भन्न मिल्छ ?
तराई मधेस अहिले नेपालको राजनीतिको केन्द्र विन्दु बनिसक्यो । त्यसैले तराई मधेस शान्त रह्यो भने देश शान्त रहन्छ । तराई मधेस अशान्त भयो भने देश अशान्त हुन्छ । तराई मधेसलाई अस्विकार गरेर सत्ता त कसैले सञ्चालन गर्न सक्ला तर शासन प्रणालीसहितको सत्ता सञ्चालन गर्न सक्दैन ।

मधेसको समस्या समाधान नभई तपाईहरु निर्वाचनमा भाग लिनु हुन्न ?
भाग नलिने मात्रै होईन हामी निर्वाचन हुनै दिन्नौ ।
प्रधानमन्त्रीले त चुनाव कसैले रोक्न सक्दैन भन्नु भएको छ ?
त्यसो हो भने गराएर देखाईदिए भई हाल्यो नि । स्ववियू निर्वाचन गर्न नसक्नेले धेरै फुर्ति हाक्नु हुँदैन ।

त्यसो भए निर्वाचनले मुलुकलाई निकास दिदैन ?
कुनै पार्टी विशेषको बन्धक यो देश बन्दैन । नेपालले त्यती बेला निकास पाउँछ जतिबेला तराई र मधेस लगायत आदिबासी जनजातिले निकास पाउँछन ।

तपाईहरुले उठाएको कुनै पनि माग अहिलेसम्म पुरा नभएको हो र ?
माग पुरा गर्ने को हो र । कसैले आफूलाई दाता ठान्यो भने हामी पाता होईनौ । हामी पनि दाता हौ । हाम्रो माग हामी आफै पुरा गर्छौ । संघीयता जसरी हामीले लिएर छाड्यौ त्यसरी नै अब पनि हासिल गरिन्छ ।

संघीयताको विरुद्धमा पनि आन्दोलन त सुरु भईसकेको छ ?
संघीयता चाहिदैन भन्नेहरु धेरै थिए । केपी ओली, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल लगायत सबै जना संघीयता चाहिदैन भन्ने पक्षमा हुनु हुन्थ्यो त्यतीबेला । तर आन्दोलनले लिएपछि त सबैले हस्ताक्षर नगरी सुख पाएनन ।

संघीयताले त मुलुकलाई छिन्न भिन्न पार्ने आशंका गरिदैछ नि ?
अहिलेको नेपालको विकास र यहाँको अवस्था एकात्मकता नै हो । यसमा के विकास भयो, के उन्नती भयो र जनताले के पाए ? यो सबैले भोगेका छन । त्यसैले परिवर्तन खोजिएको हो ।

तपाईहरुको महाधिवेशनपछि सरकारसँग बार्ता हुन्छ ?
मधेस आन्दोलनमा मारिएकालाई शहीद घोषणा, घाईतेको उपचार, झुठा मुद्दा खारेजी गरी जेलमा रहेकाको रिहाई र मुद्दा फिर्ता नगरी बार्ताको औचित्य नै छैन । यो कुराकोलागि बार्ता जरुरी छैन । यो जंगली सरकार छ त्यसले गर्दा आफू पनि दुख पाईरहेको छ र हामीहरुलाई पनि दुख दिईरहेको छ ।

प्रतिक्रिया