ख़बरदार ! सपना बाँड्ने र भाँड्नेहरु हो !

इनेप्लिज २०७३ असार ५ गते २१:५१ मा प्रकाशित

image1 (1)

जनताका समस्या च्याउ जस्तै भरर उम्रिरहँदा कर्मचारीहरु हाई हाई गरेर कतातिर ललिपप खान पाईन्छ भनेर दगुरिरहेका छन् ।

जनताहरु अचेल सपना देख्दैनन् प्रधानमन्त्री ज्यू , किनकी सपना देख्न त निदाउनुपर्छ । पन्ध्र महिना आकास ओढेर सुत्दा सपना हैन सान्त्वना सम्म जनताले पाएका छैनन् । तपाईहरु यस मानेमा अत्यन्त आलोचनाको पात्र हुनुहुन्छ ।

तपाई निरन्तर बोलिरहनु भएको छ, जनताले बोल्दै नबोल्नुस त भनेका छैनन् तर अब अहिले सम्म बोलेका कुराहरुलाई अब मथेर घ्यू निकाल्नुपर्छ नत्र तपाईले जमाएका मिठा मख्खनहरु कुनै चोर बिरालोले खानेछ , या रद्दिको टोकरीमा फालिने छ ! होस गर्नुस है !

अस्ति एअरपोर्ट जानुभएछ, अनुगमनमा बर्गेल्ती कमज़ोरी भेटिएकै होलान, आशा छ तपाईको डरले भए पनि एयरपोर्ट सुधार हुनेछ ।

प्रधानमन्त्रीज्यू अब पनि तपाई उद्घाटन समापनमा रिबन काट्न हैन, सरकारी कार्यालयमा जनताले पाएको सेवा हेर्न मालपोत, नापी, यातायात, भन्सार, आन्तरिक राजष्व ,जि. बि. स. र नगरपालिका जानुस, त्यहाँ झन आम नागरिक सेवा राम्रो नभएर भौँतारिरहेका छन् । दुख पाईरहेका छन् । राष्ट्र सेवक त जनताका मालिक जस्तो ब्यबहार पो गर्छन् त !

प्रधानमन्त्रीज्यू तपाईले देखेका सबै सपना जायज़ छन् तर ती सपना देख्दै गर्दा चिसो पानी खन्याउनेहरु पार्टी भित्र र बाहिर जताततै छन् त्यसैले देखेको सपना साकार पार्न जनताको कसम खानुहोला , तपाईले देखेका सपना तपाईको आफ्नो घर बनाउने सपना हैनन्, देश बनाउने सपना हुन् त्यसैले तपाईका सबै सपना साकार हुने भए र हाम्रो राजनीतिक भबिष्य चौपट हुने भयो भनेर आत्मरतिमा डुब्नेहरुलाई डुब्न दिनुस । बिकास गर्यो भने बिपक्षी बेहोश हुन्छन भनेर तपाई नपन्छिनुस, देशको बिकास नचाहने बिपक्षीलाई बरु मर्न दिनुस । जनतालाई त बिकास चाहिएको छ ।

तपाईले देखेका सपना दिउसो देखेर दिउसै बिलाएका नहोऊन, किनकि सपना सपना नै रह्यो भने त्यसको के सार्थकता ? ईतिहाँसमा सबैभन्दा धेरै सपना देख्ने प्रधानमन्त्री तपाईंलाई ईतिहाँसकै हावा प्रधानमन्त्री भन्ने गुटसम्राटहरुलाई मुखले हैन कामले जवाफ दिनुस । किनकी एउटा देशको कार्यकारीले साँच्चै चाह्यो भने केहि दिनमै देशको कायापलट गर्न सक्छ ।

जनता तपाईँका बिवादास्पद निर्णय सुन्न तयार छैनन, जनता तपाईका मन्त्रीहरुले अझै पनि कमिशन र घुसखोरीमा आहाल खेलेको देख्न चाहन्नन्, जनताले अब पनि कर्णाली बेचिएको सुन्न चाहन्नन् , कर्णाली हेपिएको देख्न चाहन्नन् । त्यसैले अब समृद्दिको रेल चलाउन शुरु गर्नुस, चढ्ने चढ्छन् नचढ्ने छुट्छन् । कुरा भन्दा काम बढि गर्न सबैलाई निर्देश गर्नुस । तातो पानीले घर डढ्दैन बिरोध गर्नेलाई गर्न दिनोस ।

अहिलेको मूख्य चासो भनेको शुसासन हो, देशमा शुसासन हुने बित्तिकै सबै कुरा ट्र्याकमा आईहाल्छन् । त्यसैले राज्यका संयन्त्र राम्रो संग चलाउने काममा खुट्टा नकमाउनुस, पुनर्निर्माणको गति मन्द छ, बढाउन बोल्नुस, देश लोडशेडिंगले अन्धकार छ , उर्जाको बिकल्पको बारेमा बोल्नुस,
देशका अंग अंगमा नक्कली मान्छेहरु हावी छन् तपाईलाई लागेको खोक्रो राष्ट्रवादी र नक्कली राष्ट्रवादीको आरोपलाई स्वावलम्बी नीति लिएर कार्यान्वयन गर्नुस र पोटिलो भरिलो छ भन्ने देखाईदिनुस । अहिले पनि धेरै शुभचिन्तकले तपाईलाई समर्थन गरेकै छन् , तपाई असफल हुनु भनेको नेपाली जनता असफल हुनु हो , जनताले लुट , गुट र फुट हैन बिकासको फ्रुट अर्थात फल मागेका छन् ।

देशका लागि तपाईले देखेका सपना जायज़ छन् , नेपाली जनताले संख्यात्मक र गुणात्मक रुपमा गन्न र महसुस गर्न सक्ने बिकासको सपना देख्नुहोस । स्वाभिमानी नेपालीहरु खबरदारी गरिरहने छन् : खबरदार सपना बाँड्ने र भाँड्नेहरु हो !

image1 (1)

प्रतिक्रिया