मानिस सधै महत्वकांक्षाले जेलिएको प्राणी हो भन्दा दुविधा मान्नु पर्दैन । बढ्दो संचार र यातायातको विकासको क्रम सँगै नेपालीहरु रोजगारी र अवसरको खोजीमा संसारका विभिन्न मुलुकमा पुगेका छन् । हाल नेपालीहरु करिव १०० भन्दा बढि मुलुकहरुमा रोजगारीको शिलशिलामा पुगेका छन् । यसै सन्दर्भमा पछिल्लो समय अमेरिका, बेलायत र अन्य युरोपियन मुलुकमा जाने र त्यतैको पि.आर. र सिटिजनसिप लिएर बस्नेहरुको संख्या ह्वात्तै बढेको छ ।
विशेषगरी अमेरिकामा डिभी र अन्य भिजिटिंग भिषाको साथै बोर्डर क्रस गरेर अवैधरुपमा आउनेको संख्या निकै रहेको छ र यसले सहज वा असहज दुवै मार्ग अपनाएर अमेरिका आउने र जसरी हुन्छ कागजात बनाएर स्थायीरुपमा बसोबास गर्नेको क्रम बढेको छ । त्यस्तै बेलायतमा खासगरि भु.पु.गोर्खा पल्टनको लाहुरे( ब्रटिश लाहुरे) ले सपरिवार पि.आर. पाउने व्यवस्था भएपछि त्यहाँ स्थायीरुपमै बसोबास गर्नेको संख्या बढेको हो र कतिपय टुरिष्ट भिषा र स्टुडेन्ट भिषामा गएर पनि बसेको देखिन्छ । जति अमेरिकामा आएर कागजात बनाउन सजिलो छ त्यति सजिलो बेलायतमा देखिदैन तथापी बेलायत प्रति आकर्षकता भने छदैछ ।
हुनत: अन्य युरोपियन मुलुक अस्ट्रेलिया, स्पेन, बेल्जियम लगायत अन्य मुलुकहरुमा गएर पी.आर. र सिटिजनसिप लिएर बन्दोबस्त गरेर बस्नेको कमि नभएको होईन तर पनि अमेरिका, बेलायतमा पी.आर. र सिटिजनसिप लिनेहरुले भने धमाधम घर( आवास गृह) किनेर सधैभरि ती देशमा बस्ने सुरसार दिन प्रतिदिन बढिरहेको छ र कतिपयले नेपालमा शहर बजारमा रहेका घरघडेरीहरु समेत बेचेर पैसा लगेर त्यतै घर किन्ने र व्यवसाय गर्ने क्रम बढेको छ । यसले के देखाउँछ भने अव अमेरिका, बेलायत जानेहरु नेपाल सधैको लागी फर्कने संभावना अत्यान्तै न्युन रहेको छ । अझै आफुहरु आईसकेपछि ( पि.आर. र सिटिजनसिप भईसकेपछि) आफ्ना बाबुआमाहरुलाई समेतलाई भिजिटिंग भिषाको लागी आवेदन दिएर र पि.आर. पाउने गरि पेटिसन फायल गरेर पनि ल्याउन सकिने भएकोले पनि सपरिवार अमेरिका मगाएर सधैको लागी (भन्ने बेलामा बालबच्चाहरुको भविष्यको लागी भन्दै ) बसोबास गर्ने व्यवस्था मिलाउन लागेको बुझिन्छ ।
कोही कसैले अमेरिका आउनेहरुलाई किन अमेरिका सधैको लागी बस्ने विचार गरेको भनि सोध्दा यसको रेडिमेड जवाफ एउटै पाईन्छ की बालबच्चाहरुको भविश्यको लागी र नेपालमा अवसरहरु कम देखेर साथै राजनैतिक अस्थिरताले केही गर्न नसकिने देखेर भन्ने रेडिमेड जवाफ पाईन्छ । त्यस्तै क्यानडा, बेलायत र अरु युरोपियन मुलुकहरुमा जानेहरुको पनि जवाफ यस्तै आउने गर्छ । हुन पनि यी बाहेक अन्य जवाफ दिदा अरु नेपालमा बस्नेहरुले नपताउलान् की भन्ने मनमा त्रास आउन सक्छ । यद्यपी खासमा बढी महत्वाकांक्षी भएर बढी अवसर र सम्पन्न आर्थिक लाभ एवं विलाशिताको जीवन उपभोग गर्नको लागी भनेरै सबै यी मुलुकमा सधैको लागी भास्सिएकै हुन् ।
यसै क्रममा यो स्तम्भकार पनि भासिन खोजेकै हो किनकी बिहान बेलुका नुनतेल खान पुग्नेगरि गाउँलेहरुको चन्दा सहयोगबाट चलेको गाउँको उच्च मा.वि.( ११, १२ कलास तर्फ ) मा प्राध्यापन पेशा हुँदाहुँदै र गाउँमा दश नंग्रा खियाएर खान मिल्ने गरि खेतबारी हुँदाहुँदै अमेरिकाको भुतले सताएर त्यतातिर भास्सिएकै हो । यो कुरालाई लुकाएर पानी माथीको ओभानो बन्नु पर्ने कुनै कारण छैन र यथार्थ लुकाएर धेरै दिन लुक्न पनि सक्दैन र सायद विरामी भएर लामो समय नथलिएको भए नियमित कलम चलाउन फुर्सद पनि हुने थिएन किनकी कहिलेकाही त सास फेर्ने फुर्सद पनि नहुने ठाउँ हो अमेरिका जहाँ निम्न स्तरको Blue-Collar Worker को लागी र त्यस्तै वर्गको मान्छेहरुको जमातमा पर्छौ हामी अधिकांश नेपालीहरु जसलाई लुकाउनु पर्ने केही देख्दिन । यो प्रसंग जोड्नु सान्दर्भिक छ छैन थाहाँ छैन र कतिपय पाठकहरु एवं शुभचिन्तकहरुको आक्रोश तथा आलोचना साथै जिज्ञासालाई पनि प्रष्ट पार्नु कर्तव्य ठानेर यी कुराहरु व्यक्त गर्नु उपयुक्त ठाने ।
अव फेरि प्रसंग जोडौ किन अमेरिका बेलायत आएका नेपालीहरु नेपाल फर्कन चाहदैनन् भन्ने कुरालाई । हुनत: यसबारे मैले पटक पटक धेरै लेखहरुमा प्रष्ट पारि सकेको नै छु र एकपटक फेरि पनि प्रष्ट पार्छु की पहिलो कुरा त यी देशहरुमा छोराछोरी सहित सपरिवार बसिसके पछि ती छोराछोरीहरुको पठनपाठन यतै भएपछि, पढाई सकेर यतै विवाह वा घरगृहस्थी जमाई सकेपछि, यतैको संस्कार एवं वातावरणमा घुलमिल भईसके पछि यतै जागिर, व्यवसाय गरिसके पछि उनीहरु कुनै पनि हालतमा नेपाल फर्कन चाहदैनन् किनकी उनीहरु अक्कल झुक्कल नेपाल घुम्न जाँदा त्यहाँको अवस्था देखि हाल्छन् र अझै ईन्टरनेट एवं आधुनिक संचार मार्फत पनि धेरै कुरा नेपाल बारे थाहाँ पाईसकेका हुन्छन् । त्यसले गर्दा नेपाल गएर बस्ने कुरामा उनीहरु सहमत हुनै सक्दैनन् बरु आमाबाबु बाट सधैका लागी अलग भएर बस्न मञ्जुर हुन्छन् । यसरी आफ्ना सन्ततीहरु यतै अमेरिका, बेलायत वा अन्य युरोपियन मुलुकमा सधैको लागी बस्ने भएपछि बाध्य भएर उनीहरुलाई छोडेर नेपाल फर्कने कुरा पनि आउँदैन तसर्थ पनि यी देशमा गएर स्थायी बसोबास गर्ने हैसियत बनाएकाहरु नेपाल कुनैपनि हालतमा अपवाद बाहेक फर्कनेवाला छैनन् । पहिला पनि भनिसकियो की अपवादमा एकाध व्यक्तीहरु नेपाल सधैको लागी फर्कने छन् त्यसमा पनि विशेष कारण नभई फर्कने छैनन् ।
यस कुरालाई प्रमाणित गर्नको लागी पनि विगतका बर्षहरुमा अमेरिका, बेलायत लगायत युरोपियन देशहरुबाट जति नेपालमा घरजग्गा किन्नको लागी व्यापार-व्यवसायको लागी, आफन्तको लागी नेपालीहरुले पैसा पठाउने गर्दथे त्यसमा कमि आएको रेमिटेन्सको कारोवार गर्ने कम्पनीहरुको रेकर्ड हेर्दा पनि जानकारी पाउन सकिन्छ । बरु उल्टो नेपालबाट जायजेथा बेचेर ती देशहरुमा लैजाने गरेको पनि सुन्नमा आएको पाईन्छ ।
नेपाललाई लुटेर ध्वस्त पार्ने राजनैतिक व्वाँसाहरु देखि वाक्क दिक्क भएर आजित परेर जसरी पनि सकभर अमेरिका छिर्ने मनस्थिती नेपालका युवाहरुमा रहेको सजिलै अनुमान गर्न सकिन्छ । अझै यस्ता व्वाँसाहरुले आफ्ना छोराछोरीहरु, आफन्तहरुलाई अमेरिका पठाएर त्यतै नेपालमा भ्रष्टचार गरेर लुटेको कालो धनलाई सेतो धन पनि बनाएकै छन् । आफन्त र छोराछोरीहरुको मायाले सताएर होला हरेक बर्ष एउटा एउटा बहाना बनाएर अमेरिका गएर राजनैतिक भेटघाट भन्दै नेपालमा लुटेको धनलाई लगानी व्यवस्थित भए नभएको अनुगमन गर्ने गरेको पनि देखिन्छ र यस्तो आन्तरिक सत्यता बाहिर ल्याउन कुनै पनि मिडियावालाले हिम्मत समेत गरेको पाईदैन । तपाई हेर्न सक्नु हुन्छ हरेक बर्ष कति नेता, मन्त्री, सांसदहरु अमेरिका जान्छन् र कति आफन्त कुन आर्थिक हैसियतमा अमेरिका बसिरहेका छन् । त्यस्तै अन्य विकसित मुलुकमा पनि यस्तै अवस्था के कस्तो छ सबैले अनुभव गरेकै छन् ।
अत: अन्तमा फेरी एकपटक दोहोराएर भनौ की अमेरिका, बेलायत लगायत अन्य युरोपियन मुलुकबाट नेपालीहरु नेपाल सधैको लागी फर्कदैनन् बरु कहिलेकाही टुरिष्ट बनेर घुमघाम गर्न नेपाल आउँछन् र जे जति बसाईमा खर्च गर्छन् त्यति नै हो तसर्थ जतिसुकै गाली गरेर सरापे पनि हुतिहारा, पलायनवादी भनेपनि उनीहरुलाई कुनै असर पर्नेवाला छैन , एक कानले सुन्ने र अर्को कानले उडाई दिने गर्छन् तसर्थ नेपालमा बस्नेहरुले सक्नु हुन्छ सामाजिक सेवा गर्नको लागी सहयोग जुटाउन तीनीहरु लाई साथ लिने प्रयास गर्नु होस्, सक्नु हुन्न गाली गरेर व्यर्थै समय खेर नफाल्नु होस् । स्मरण रहोस् यो स्तम्भकारले जे देख्छ त्यही लेख्छ र कसैको चाकडी गरेर न लेख्छ न लेखेर कसैबाट एक पेनी( एक पैसा ) लिएको छ तसर्थ यसलाई बकवास नमान्दा हुन्छ । आजलाई यतिनै, सबैको जय होस् !
बाल्टिमोर , मेरिल्याण्ड, अमेरिका
प्रतिक्रिया