भूकम्प र पहिरोपीडितसामु चाँडो राहत पुर्‍याउन सरकारसँग माग

इनेप्लिज २०७३ असार ५ गते १३:०१ मा प्रकाशित

4काठमाडौँ, असार  ५  । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद गोपाल दहितले संविधान संशोधन सत्तापक्षीय दलहरुको नाटक मात्र भएको आरोप लगाएका छन् ।

आन्दोलनरत दलको समस्या समाधान गर्न सरकार उदासीन रहेको र मधेसी गठबन्धनलाई फुटाउन उद्दत रहेको उनको आरोप थियो ।

सभामुख ओनसारी घर्ती मगरले आज ११:२० बजे प्रारम्भ गर्नुभएको संसद्को बैठकमा तीर्थराज भाट र नवराज शर्माले शून्य समयको सदुपयोग गर्दै भूकम्प र पहिरोपीडितसामु जतिसक्दो चाँडो राहत पुर्‍याउन सरकारसँग माग गरेका थिए ।

त्यसैगरी, संसद्को विशेष समयमा सांसद कमला पन्तले जनताप्रति सरकारलाई उत्तरदायी बनाउन सभामुखबाट निर्देश हुनुपर्ने माग गरे ।

सांसद भूपेन्द्र क्षेत्रीले जेठ २५ गते ताप्लेजुङ नगरपालिकामा गएको पहिरोमा चार वर्षीया छोरी अङ्शु तामाङ र ६ वर्षीय छोरा अमृत तामाङ गुमाउने मनकुमारीको परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

सांसद ओङ्दी शेर्पा, दुर्गा पौडेल, रामेश्वर ढुङ्गेल र रामचन्द्र पोखरेलले भूकम्प, पहिरो र बाढीबाट पीडितहरुलाई तत्काल पुनाःस्थापनाको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सांसद प्रेम सुवालले एसिया तेस्रो विश्वयुद्धको उद्गम थलो बन्न सक्नेतर्फ ध्यानाकर्षण गरे भने अर्का सांसद राममणि विडारीले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने काममा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाए ।

त्यसैगरी, सांसद् बलराम अधिकारीले कपिलवस्तु घटनाका बलात्कारीलाई कानुनी दायरामा ल्याउन माग गरे । अर्का सांसद सुरेन्द्र प्रकाश जयसवालले रौतहटका ऊखु किसानका समस्यामा सरकारको ध्यानाकर्षण गरेका थिए ।

 

प्रतिक्रिया