जनचेतनाका अभियानसहित वागमती सफाइ

इनेप्लिज २०७३ असार ४ गते ९:०० मा प्रकाशित

140415051007_bagmati_304x171_._nocreditकाठमाडौँ, ४ असार । वागमती सफाइ महाअभियानको १६२ औँ हप्तामा आज थापाथली, कुपण्डोल आसपासको नदीमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइको १६२ औँ हप्तादेखि कार्यक्रमस्थल वरपरका घर÷घरमा गएर वागमतीमा फोहर नफालौँ, कसैले फालेमा कारबाहीका लागि नगरपालिकामा खबर गरौँ र सबैजना वागमती सफाइमा सहभागी बनौँ भनी जनचेतनामूलक अभियान सुरु गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वागमती समिति, नेपाल विज्ञापन सङ्घ, एस ट्राभल्स, उप्रेती समाजलगायतको संस्थागत सहभागिता थियो । सफाइमा पूर्व सचिव किशोर थापा, वागमती समितिका सदस्यद्वय सुष्मा शर्मा, श्रेष्ठ र आयोजना प्रमुख राजेशप्रसाद सिंह एवम् समाजका अध्यक्ष डा रामप्रसाद उप्रेतीलगायत ६०० व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

गुह्येश्वरीदेखि गोकर्णसम्मको वागमतीमा आज राम्रो जोरपाटी हाम्रो जोरपाटीको नारासहित पुडासैनी मैत्री समाजले १२३ औँ हप्ताको सफाइ गरेका छन् । सफाइपछि नदी किनारमा रोपिएका बिरुवा गोडमेल पनि गरिएको कार्यक्रम संयोजक उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यसैगरी रुद्रमती, विष्णुमती र नख्खुखोलामा पनि सफाइ गरिएको छ । आगामी शनिबार वागमती सफाइको १६३ औँ हप्तामा पनि थापाथली, कुपण्डोल क्षेत्रको वागमतीमै सफाइ गरिने सो अवसरमा जानकारी दिइयो ।

वागमती सफाइ १६२ हप्तामा पुग्दा प्रभावित भएर धनगढीवासीले आजबाट धनगढीबजार सफाइ गरेका छन् । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल पनि सहभागी हुनुभयो ।

प्रतिक्रिया