ट्रक ठोक्किँदा एक जनाको मृत्यु छ जना घाइते

इनेप्लिज २०७३ असार ३ गते ७:२८ मा प्रकाशित

कावासोती, ३ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानीमा रोकिराखेको ट्रकमा पछाडिबाट अर्को ट्रक ठोक्किन पुग्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक हरिबहादुर सेनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ४४०३ नंको ट्रकले रोकिराखेको ना६ख २१९१ नंको ट्रकमा ठोक्किँदा ना३ख ४४०३ नंको ट्रकमा सवार भारत बहराइच घर भएका ३५ वर्षीय कुर्दुस कोरेसीको च्यापिएर घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी छ जना घाइते भएका छन् । घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ दुवै ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी सहायक निरीक्षक सेनले जानकारी दिनुभयो ।

यस्तै नवलपरासीको मध्यबिन्दु–४ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५६प २९९२ नंको मोटरसाइकलले बिहीबार साँझ पैदल यात्रीलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट मध्यबिन्दु–६ का १६ वर्षका दानबहादुर राना गम्भीर घाइते भएका छन् । रानाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर दिने मोटरसाइकल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया