वृद्धवृद्धाका लागि ‘दिवा सेवा केन्द्र’ आवश्यक

इनेप्लिज २०७३ असार १ गते १४:०५ मा प्रकाशित

काठमाडौँ, १ असार । ज्येष्ठ नागरिकलाई सिर्जनशील बनाउन ‘दिवा सेवा केन्द्र’ स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ११औँ ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवसका अवसरमा आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले समाजमा ज्येष्ठ नागरिकमैत्री वातावरणको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उपप्रधान एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले ज्येष्ठ नागरिकको आदर्श र अनुभवलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले वृद्धवृद्धालाई एकआपसमा जम्मा भई दिन कटाउन दिवा सेवा केन्द्र खोल्न आवश्यक रहेको र त्यस्ता केन्द्र सरकार तथा निजी क्षेत्रको समन्वयमा विकास गर्न सकिने बताउनुभयो ।

सोही मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले वृद्धवृद्धाको जीवनलाई सम्मानित र मर्यादित बनाउन र उनीहरुको हित प्रवद्र्धन गर्न मन्त्रालयले सक्दो काम गर्ने बताउनुभयो ।

अधिकारकर्मी प्रमिला बज्राचार्यले आफ्नो अनुसन्धानको निचोड प्रस्तुत गर्दै अधिकांश ज्येष्ठ नागरिक असक्षम भएपछि घर परिवारले परित्याग गर्ने गरेको र उनीहरूलाई शारीरिक, मानसिक, आर्थिक रुपमा समस्या पर्ने गरेको जानकारी गराउनुभयो ।

महासङ्घका अध्यक्ष डा गौरीशङ्कर लाल दासले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया