अमेरिकामा नेपालीले नेपालीलाई देख्दा किन नबोली हिड्छन् – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ ३२ गते १३:२३ मा प्रकाशित

image1

हैन दाई यो अमेरिकामा नेपालीहरु एकआपसमा बाटोमा हिड्दा भेट हुँदा पनि बोल्दैनन् हामी कतारमा काम गर्दा यसो कहिलेकाही बजार जाँदा नेपाली भेटिदा आफ्नै गाउँको दाजुभाई भेट भए झै मानेर बोलचाल गरिन्थ्यो तर यता त बरु बाटोमा हिड्दा काले, गोरे, स्पानिसहरुले ” हेलो(हाय) हाउ आर यु सर/मेडम/मेम” भन्छन् तर नेपालीबाट यस्तो व्यवहार पाईएन भनेर एकजना हितैषी भाईले हिजो मात्रै मसँगको भेटमा भने त्यसले मेरो मानसपटलमा एक झड्का राम्रै सँग हान्यो र दुई चार शव्द लेख्न मन लाग्यो ।
वास्तवमा आफ्नो गाउँठाउँ वा जन्मेको ठाउँ वा देश छोडेर सात समुन्द्र टाढा आउँदा पक्कै पनि आफ्नो मुलुकको मान्छे भेट्दा निकै खुशी लाग्नु पर्ने हो र यसो भए यो स्वाभिक पनि हुने हुन्थ्यो । प्रायः भारत लगायत अन्य खाडी मुलुक जानेहरुले भेटघाटको क्रममा आफुहरुले विदेशी ठाउँमा अरु नेपालीलाई भेट्दा निकै खुशी लाग्छ, घरपरिवार, छरछिमेकीनै भेटेको महशुष हुन्छ भनेर व्यक्त गरेको पनि पाईन्छ । यद्यपी अमेरिका तिर पहिलो पटक नेपालबाट फ्लोरिडा आउँदा नेपालीहरु भेट्दा मलाई पनि निकै खुशी लागेको थियो ।
फ्लोरिडामा एक त नेपालीहरुको जनघनत्व त्यति धेरै छैन अर्को तर्फ प्रायः गाडी वेगरका मान्छेनै हुँदैनन् किनकी सार्वजनिक यातायातको त्यती बढि प्रयोग हुँदैन अर्थात् निजी सवारी साधननै बढी प्रयोग गरिन्छ जसको कारण सडकमा हिडेर सार्वजनिक यातायातको साधन कुर्नेहरुको जमात त्यतिसारो भेटिदैन । कहिलेकाही यसो घुम्न सडकमा हिड्ने क्रममा नेपालीहरु भेटिने चान्स निकै कम हुन्छ ।
जव मेरिल्याण्डको बाल्टिमोर तिर बसाई सरियो तव भने बाटोघाटो र सार्वजनिक यातायातको साधन, बस विसौनी, सपिंग मल जताततै नेपालीहरु भेटिए तर कोही पनि बोलेको पाईएन र म एक किसिमले दंग परेर एपार्टमेन्टमा सँगै बस्ने साथीहरुलाई सोधेकी हैन बाल्टिमोरमा नेपालीहरु किन बाटोघाटोहरुमा भेट हुँदा एकआपसमा बोल्दैनन् भने र उनीहरुले भने यताको नेपालीहरुको बानी नै त्यही छ । यो जवाफ सुनेर मलाई नरमाईलो लाग्यो ।

एस.एल.सी. दिएर बाबुसँगै ईन्डिया गएर ५/६ महिना बस्दा कहिलेकाही समुन्द्रको किनार र बजार घुम्न जाँदा अक्कल झुक्कल नेपाली भेटिदा एकदमै खुशी हुँदै गफगाफ गरिन्थ्यो । त्यो क्षणले नेपालीहरुको आपसी भाईचारा र आत्मियता जहाँ गएपनि हुन्छ भन्ने महशुस गराउँथ्यो र एक किसिमले गाउँको मायाको तलतल मेटिए झै लाग्थ्यो । तर ईन्डिया भन्दा निकै टाढा भनौ भुगोलको एक पाटोबाट अर्को पाटोमा आएर आफ्नै देशको मान्छे बाटोघाटो, बस विसौनी, सपिंग मल, डाउनटाउन, सडकपेटी आदीमा कुम ठोक्किएर हिड्दा समेत नेपालीमा बोलेर चिनजान गर्न नखोज्नु भनेको कस्तो सम्म बडप्पन होला जस्तो सोच मनमा आईरहेको थियो ।
यस्तो प्रवृती देख्दा कतकता नरमाईलो लाग्दै गयो र विस्तारै बानी पनि पर्दै गयो की सायद धेरै नेपालीहरुको बर्चस्व भएको ठाउँ भएर यस्तो भए होला भन्ने सोचको विकास भयो र आजकल त यस बारे खासै चासो दिन पनि छोडियो तर पनि अझै बाटोघाटो, सपिंग सेन्टर, पार्क, समुन्द्रको किनार, बस विसौनी जताततै जसलाई(अमेरिकनहरुलाई) भेटे पनि हेलो/हाय आफु पनि भनिन्छ र उनीहरु पनि भन्छन् तर नचिनेको नौलो नेपाली देखेमा भने केही पनि बोलिदैन । वास्तवमा यसकिसिमले नेपाली भएर पनि आपसमा सामान्य हेलो/हाय समेत नगर्नु कति उपयुक्त होला वा नहोला विचारणीय कुरा छ । सबैको आ-आफ्नै राय, सल्लाह, विचार, दृष्टिकोण, मान्यता होला आपसमा अपरिचित नेपालीहरु भेटघाट हुँदा बोलचाल गर्ने र नगर्ने सम्बन्धमा ।

मेरो विचारमा वास्तवमै हामी नेपालीहरु जहाँ जसरी भेटेपनि हाम्रै भाषामा नमस्कार भनेर बोलचाल गर्दा मुन्टोनै काटे झै पक्कै हुँदैन र बोल्दा सानो पनि भईदैन बरु आपसमा चिनजान हुन्छ र कुनै समस्या वा अप्ठ्यारो पर्दा सहयोगको आदान प्रदान पनि हुनसक्छ । हुनत: एकजना दाईले भन्दै थिए भाई म त नेपालीहरुको बढी बसोबास भएको एरियामा बस्न मन पर्दैन किनकी नेपालीहरुले सहयोग मागेर हैरान पार्छन् र व्यवहार पनि छुद्र हुन्छ, आपसमा लडाउने, भडाउने, डाहा गर्ने, चुक्ली लगाउने जस्ता काम गर्छन् बरु गोरेको एरिया तिर बसेपछि कसैको केही सुन्नु पर्दैन केवल आफ्नो सुरमा काम गरे आनन्दै हुन्छ भन्ने कुरा सुनाएका थिए । एक हिसावले उनको सोच पनि ठिकै होला तापनि नेपालीहरु वीच आपसी सम्बन्ध राख्नु आवस्यक छ किनकी प्रदेशको ठाउँमा सधै एकनास हुँदैन तसर्थ आफ्नो नेपाली समुदाय वीच आपसी सम्बन्ध प्रगाढ पार्नै पर्छ ।

त्यस्तै बाटोघाटो, बजार, सपिंग मल, ग्याँस स्टेशन, ग्रोसोरी स्टोर, खाजा भण्डार जहाँ भेटे पनि एकआपसमा बोलचाल गर्दा आकाश खस्दैन, धर्ती पनि फाँट्दैन । अत: नेपालीहरु आपसमा बोलचाल वा हेलो/ हाय गर्ने बानी बसाल्नु राम्रै हुन्छ । त्यस्तै गरि अमेरिकनहरुले केवल औपचारिकताको लागी जहाँ जस्लाई भेटेपनि ” हेलो हाउ आर यु” भनेर बोल्दै हिड्ने गर्छन् र यो उनीहरुको एक किसिमको संस्कार जस्तै बनेको छ तर यसो भनिरहँदा उनीहरुले अरुबाट खासै प्रतिउत्तरको अपेक्षा पनि राख्दैनन् । कम्तीमा एउटा मानवले अर्को मानवलाई भेट्दा यसरी अभिव्यक्ती दर्शाउनु सराहनिय काम हो । अमेरिका जस्तो व्यस्त ठाउँमा एकआपसमा आत्मियता प्रकट गर्ने यो भन्दा उत्तम शैली अर्को के हुन सक्ला । तर हामी त्यती धेरै टाढाबाट अर्काको मुलुकमा आएर स्थायी बसाई सराईको रुपमै ग्रिनकार्ड लिएर सिटिजनसिप लिन लाईनवद्ध हुँदा समेत आफ्नै जन्मथलोकै व्यक्ती देख्दा एकवचन मुखबाट निकाल्न कन्जुस गर्छौ तर अन्य व्यक्तीहरु देख्दा, भेट्दा भने सजिलै बोल्छौ । यस किसिमको संस्कार किन बसेको छ यसमा परिवर्तन आउन जरुरी छ ।

कम्तीमा नेपालीहरु आपसमा भेट हुँदा जहाँ पनि चिनजान नभएपनि बोलचाल गर्ने, चिनजान गर्ने गर्नु पर्ने हुन्छ । चिनजान भएको नेपालीहरुलाई पनि सानोतिनो काममा पनि अनावश्यक दुख दिने, झन्झटिलो व्यवहार भने गर्नु हुँदैन । यस्तो गरेमा नयाँ अमेरिकन संस्कारमा घुलमिल हुन थालेका नेपालीहरुले झंझट मान्ने, सकभर टाढिन खोज्ने प्रवृती पनि देखाउँछन् । कतिपय यस्तै अवस्था आउन सक्छ अर्थात् चिनजान गर्दा भोली काम खोज्दे भन्ला, एपार्टमेन्ट खोज्दे भन्ला, नजिकै नेरघेरमा बस्ने भए कहिलेकाही राईड पनि माग्ला, अझै नजिक हुँदै गएर पैसा सरसापट पनि माग्ला भन्ने डरले पनि आपसमा नजिक हुन नखोजेका हुन की भन्ने आशंका पनि उठ्न सक्छ । त्यही पनि जसरी अरु अमेरिकन वा अन्य देशका नागरिक भेट्दा जसरी हेलो/हाय गरेर हल्का सम्बोधन गरिन्छ त्यसरी पनि नेपालीहरु वीच भेटघाट हुँदा पनि त्यति सम्म गर्दा राम्रै हुन्छ । कमसेकम नेपालीहरुको पनि राम्रै/बाक्लै बसोबास रहेछ यो ठाउँमा र व्यवहार पनि आत्मियता झल्कने रहेछ भन्ने संदेश सबैमा जान्छ । अत: अवका दिनहरुमा कम्तीमा पनि जहाँ भेटघाट हुँदा पनि आपसमा बोलचाल गर्ने बानीको विकास गरौ र नेपालीहरु वीच आत्मियता छ भन्ने संदेश सबैमा पुर्याउने काम गरौ ।

अर्को कुरा के पनि हो भने हामी नेपालीहरु विदेशीभुमिमा नितान्त नयाँ तौरतरिकाबाट जीवन धान्नको लागी संघर्षरत हुनुपर्ने भएकोले पनि एकआपसमा सामुहिक प्रयत्नमा अधिकांश गतिविधी संचालन गर्न लाग्नु पर्छ । जस्तोकी सामुहिक लगानीमा व्यापार, व्यवसाय संचालन गर्न हातेमालो गर्ने, दैनिक जीवनमा देखापर्ने समस्याहरु हल गर्न एकआपसमा सहकार्य गर्ने, विभिन्न उद्योगधन्दाहरुमा लगानी गर्ने देखि अमेरिकाको मुल राजनिती एवं सामाजिक संस्थाहरुमा समेत नेपालीहरुको उपस्थिती जनाउन समेत सबै नेपालीहरु एकत्रित र संगठित हुनै पर्छ । अरुको लाख र आमाको काख भन्ने उखानलाई समेत हेर्ने हो भने अन्य मुलुक र अमेरिकनहरु भन्दा आफ्नै नेपाली समुदायबाट जटिल समस्या वा आपतविपतमा पनि अवस्य सहयोग र सद्भाव हुने गर्छ किनकी एउटै नेपाल आमाको सन्ततीहरुको जसरी पनि मन नखाएर अरुको मन खाने कुरै आउँदैन । त्यसैले अमेरिका मात्र हैन संसारै भरि छरिएर रहेका नेपालीहरु वीच सधै आपसमा आत्मियता र सहकार्यलाई कायम गरि आपसी हितलाई उचो बनाई राख्नु पर्दछ ।
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया