ठूला तीन सडकको विस्तार सुरु

इनेप्लिज २०७३ जेठ ३२ गते ८:०५ मा प्रकाशित

hqdefaultभक्तपुर, ३२ जेठ । डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ ।
कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो ।

एक साताका अवधिमा तीन वटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इ देवेन्द्र साहले जानकारी दिनुभयो । कौशलटारबाट बालकोट हुदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा रु तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । त्यसपछि अर्को चरणमा बालकोट हुदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ ।

त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हँुदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ । रु चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हँुदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ । रु १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो ।
तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिँदै इ साहले सडक मापदण्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मि कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताउनुभयो ।

प्रतिक्रिया