मेलम्चीमै पानीको हाहाकार

इनेप्लिज २०७३ जेठ ३२ गते ४:२८ मा प्रकाशित

downloadमेलम्ची, ३२ जेठ । गतबर्ष वैशाख १२ गतेको भूकम्प र लामो समयदेखिको खडेरीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायतका ग्रामीण क्षेत्रका मुहान सुकेपछि र लगातारको वर्षामा समेत पानीको मुहान नपलाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ ।

मेलम्ची नगरपालिका–६ खानीगाउँमा खानेपानी आयोजनाको मुहानमै पानी सुकेपछि धारामा पानी आउन छाडेको उपभोक्ताले गुनासो गरेका छन् ।

पानीको समस्याका कारण सिन्धुपाल्चोक जिल्लाका धेरै गाविसका स्थानीयवासी घन्टौ टाढा दिनभर लाइनमा बसेर पानी ल्याउन बाध्य छन् । मेलम्ची खानीगाउँका महेन्द्र घले आफ्नो घर नजिकैको धारमा पानी आउन छाडेको र भएको मूल पनि सुकेपछि बिहानभरको समय बिताएर घन्टौँ टाढासम्म हिँडेर पानी लिन जाने गरेका छन् । भूकम्पपछि खानीगाउँका स्थानीयको बिहानको समय पानी बोक्दैमा जाने गरेको छ ।

घले भन्छन् गाउँमा भएको मूल सुक्यो, नजिकै कुनै पनि मुहान छैन, करिब दुई घन्टा टाढा जङ्गलमा पानी लिन पुग्नुपर्छ त्यहीँ पनि कहिले त पालो नै पाइँदैन । बिहानभरि पानी लिन आउनेको लाम हुन्छ । भएको मूल पनि रसाउन छोडिसक्यो, थोरै पानी सङ्कलन गरी पानी भर्नका लागि लामो समय कुरेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । पानी अभावका कारण रछ्यानमा लगाएको तरकारी, फलफूलका बोटबिरुवा र अन्नबाली सुक्न थालेको स्थानीय बताउँछन् ।

मेलम्ची नगरपालिका, खानीगाउँका स्थानीय भन्छन् “भूकम्पपछि सुकेको मुहान वर्षामा समेत पलाउन नसक्दा अहिले पानीको समस्या छ । गाउँभन्दा झन्डै दुई घन्टा टाढासम्मको दूरीबाट पानी ओसारेर दैनिक उपभोग गर्ने गरेका छौँ ।”

पानीकै लागि बिहानको पूरै समय खर्चिनुपर्ने बाध्यता रहेको मेलम्ची नगरपालिकाका स्थानीय श्याम घलेले बताउनुभयो । मेलम्ची नगरपालिका खानीगाउँमा रहेका ६० घरधुरी खानेपानीको चरम समस्या झेल्न बाध्य छन् ।

भूकम्प पहिले गाउँमा पूरै समय आउने पानी अहिले गाउँमा खानेपानीको समेत हाहाकार हुँदा गाई भैँसी, फलफूल, तरकारीखेती गर्नेलाई समेत समस्या भएको र गाउँमा पानीको समस्या भएपछि अधिकांश परिवार गाउँ छाडेर बसाइँ नै सर्न बाध्य भएको स्थानीय युवा प्रवेश घले बताउनुहुन्छ ।

मुहान सुकेपछि अहिले मेलम्ची खानीगाउँका बासिन्दाले पानी अभावमा आवास पुनःनिर्माण समेत गर्नसक्ने स्थिति समेत नरहेको स्थानीय बताउँछन् । पटकपटक आफ्नो समस्या लिएर नगरपालिकाको कार्यालय धाउँदासमेत सिङ्गो गाउँको कुरा सुनुवाइ नभएको श्याम घले बताउनुहुन्छ ।

हुन्छ, गर्छाैं भनेर आश्वासन दिने गर्दछन्, तर पछि नगरपालिकामा भएको समस्याको चासो दिनुको साटो राजनीतिक टोेलीसँग भ्रमणमा हिँड्ने गरेको स्थानीयले आरोप लगाएका छन् । मूल सुकेपछि नजिकैको मेलम्ची नदीबाट भए पनि बोरिङको व्यवस्था गरेर मेलम्ची नगरपालिकाले पानीको समस्या दूर गर्नुपर्नेतर्फ लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

घर अगाडि रहेको मेलम्ची नदी सुसाएर बग्छ तर खडेरी र मुहान सुकेको कारण सिङ्गो गाउँ नै खानेपानी समस्यामा भएकाले नगरपालिकाले चासो दिनुपर्ने महेन्द्र घलेले गुनासो गरे ।

भूकम्प र खडेरीका कारण मुहान सुक्यो, तर वर्षात्पछि समेत मूल नपलाउँदा जिल्लाको सदरमुकाम चौतारा, मेलम्ची नगरपालिकाको केही वडा र पिपलडाँडा, कुञ्चोक, सागाँचोक, बाँडेगाउँलगायतका गाविसमा खानेपानीको हाहाकार भएको छ ।

प्रतिक्रिया