साढे चार सय खानेपानी योजना अलपत्र

इनेप्लिज २०७३ जेठ ३१ गते ४:४२ मा प्रकाशित

no-water-tapफलेवास (पर्वत), ३१ जेठ । पर्वत जिल्लामा निर्माणाधीन खानेपानी योजनामध्ये झन्डै साढे चार सय योजना अलपत्र परेका छन् ।

जिल्लाका विभिन्न गाविसमा सञ्चालित ४२९ योजना उचित मर्मत सम्भारको अभावमा अलपत्र बनेका हुन् ।

त्यस्तै जिल्लाका ५४ प्रतिशत खानेपानी योजना मात्र सञ्चालनमा रहेका छन् । लामो समयदेखि मर्मत सम्भार र पुनःनिर्माण कार्य हुन नसक्दा बाँकी ४६ प्रतिशत योजना पूर्णरुपमा बन्द भइसकेका छन् ।

हालसम्म जिल्लाका विभिन्न गाविसमा सञ्चालनमा आएका कुल ९१४ वटा खानेपानी योजनामध्ये २३५ वटा योजना राम्रोसँग सञ्चालनमा आएका छन् भने २६० वटा योजना आंशिक रुपमा सञ्चालनमा रहेका छन् । जिल्लामा ९० दशमलव ६८ प्रतिशत बासिन्दामा खानेपानीको पहुँच पुगेको तथ्याङ्क रहेको छ ।

सरकारी लगानीको अभाव, स्थानीय उपभोक्ताको बेवास्तालगायतका कारणले पुराना खानेपानी योजना बन्द भएका हुन् । त्यस्तै पर्वतका सत प्रतिशत बासिन्दामा सरसफाइको पहुँच पुगेको छ । खानेपानीको सुविधाबाट ९ दशमलव ३२ प्रतिशत बासिन्दा वञ्चित बनेका छन् ।

चालु वर्षमा सबै बासिन्दामा खानेपानीको पहुँच पु¥याउनका लागि थप नौ वटा नयाँ आयोजना सुचारु भएका छन् भने एउटा बृहत् फलेवास खानेपानी आयोजना समेत यसै वर्षदेखि निर्माण कार्य सुरु भएको छ । नयाँ नौ वटा योजनासँगै पर्वतमा ४८ योजना सुचारु हुने भएका छन् । यसअघि पर्वतमा ३८ वटा खानेपानी योजना क्रमागत रुपमा निर्माणाधीन अवस्थामा रहेका थिए । जिल्लाका सबै बासिन्दालाई खानेपानीको सहज पहुँच पु¥याउने उद्देश्यले पर्वतको एक नगरपालिकासँगै ४७ गाविसलाई लक्षित गरी उक्त योजना निर्माण कार्य सुचारु भएका हुन् ।

सरसफाइका लागि पानी सबैभन्दा महत्वपूर्ण सूचक रहेकाले खानेपानीको सबैमा पहुँच पु¥याउनुपर्ने देखिएको छ । चालु आवभित्रमा सम्पन्न हुने योजनाबाट झन्डै पाँच हजार बासिन्दा लाभान्वित हुने जिल्ला खानेपानी डिभिजन कार्यालय प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो ।

जिल्लाका ९० दशमलव ६८ प्रतिशत बासिन्दालाई खानेपानीको पहुँच पुगेको तथ्याङ्क भए पनि अधिकांश क्षेत्रका बासिन्दा अहिले पनि दूषित पानी पिउन बाध्य भएका छन् । उनीहरुलाई लक्षित गरी यो वर्ष त्यस्ता ठाउँमा खानेपानी योजना सञ्चालन गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय प्रमुख डोटेलले जानकारी दिनुभयो ।

तत्कालका लागि खानेपानी सङ्कट देखिएका होश्राङ्दी, उरामपोखरा र शङ्करपोखरी गाविसमा वर्षात्को पानी सङ्कलन गर्ने आयोजना सञ्चालन हुने भएका छन् । त्यसका लागि रु २५ लाख विनियोजन गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रमा स्रोतको पर्याप्तता भएकाले खानेपानीको उति समस्या नभए पनि केही गाविस जहाँ स्रोत छैन त्यस्ता ठाउँमा भने अहिले पनि स्थानीयले घन्टाँै पिठ्युमा पानी बोकेर पिउन बाध्य भएका छन् । अहिले पनि पर्वतको ठूलीपोखरी, शङ्करपोखरी होश्राङ्दी र शालिग्राम गाविसको छापामा खानेपानीको बढी सङ्कट रहेको छ ।

त्यस्तै उरामपोखराको भतेरपाटामा पनि खानेपानीको अभाव छ । त्यहाँका बासिन्दा वर्षायामको पानी घैटामा सङ्कलन गरेर हिउँदमा पिउन बाध्य भएका छन् ।

खानेपानीको पहुँचसँगै जिल्लामा एक गाविस पूर्ण सरसफाइयुक्त बनिसकेको छ भने केही गाविस पूर्ण सरसफाइयुक्त घोषणाको क्रममा रहेका छन् । थापाठाना गाविस पूर्ण सरसफाइयुक्त घोषणा भइसकेको छ भने चित्रे, कार्कीनेटा र धाइरिङलगायतका गाविस घोषणाको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया