बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १०:०४
वासिङटन डिसी 00:19

जन्मेको गाउँठाउँलाई सधै माया गर्न पनि प्रदेशबाट संगठित रुपमा सहयोग गरिरहनु पर्ने

इनेप्लिज २०७३ जेठ ३१ गते ०:१३ मा प्रकाशित

PRAKASH SHRESTHA

विदेशमा बस्दैमा देशको माया र ममता कम हुँदैन भनिन्छ, त्यो सत्य हो तथापी विदेशमा लामो समय सपरिवारसँगै बस्दै जाने र गाउँठाउँमा सम्बन्ध रहने गरि सम्बन्धको जालोमा आवद्ध नहुने हो भने पक्कै पनि विस्तारै प्रदेशको बसाई लम्बिदै जाँदा आफ्नो जन्मथलोलाई सम्झने क्रम पनि क्रमश: कम हुँदै जान सक्छ । वास्तवमा मानिसको माया ममता आपसमा प्रगाढ बन्नको लागी आपसमा नजिक र आत्मियता हुनै पर्छ र यस्तो कुरा प्रदेशबाट आफ्नो देशलाई माया गर्ने सन्दर्भमा पनि लागु हुन्छ भन्न सकिन्छ ।

जे जस्तो रहर, बाध्यता वा अन्य जुनसुकै कारणबाट विदेशमा रोजगारीको शिलशिलामा वा स्थायी बसोबास गर्ने क्रममा संसारका विभिन्न मुलुकहरुमा गएको भएपनि कम्तीमा आफ्नो जन्मभुमि र आफ्नो थाकथलोलाई सधै सम्झिरहनु जरुरी छ । मानौ की तपाई अमेरिका सधैका लागी स्थायी बसोबास गर्ने गरि जानु भएको छ भने त्यस्तो परिस्थितीमा तपाईको नयाँ घर अमेरिका हुने गर्दछ भने नेपालको तपाईको जन्मघर चाही माईतीको स्थानमा लिन सकिन्छ । अत: नयाँ घर आएपनि समय समयमा माईती घरमा जाने र माईतीलाई सम्झी रहनु आवस्यक छ । किनकी जन्मघर वा जन्मदिने आमा संसारमै सबैभन्दा ठुलो मानिन्छ । यस रुपमा विदेशमा सदाको लागी बसोबास अनुमती पाएर स्थायीरुपमा बसोबास गर्ने जमर्को वा बन्दोबस्त मिलाएका तमाम नेपालीहरुले सोच्नु पर्ने देखिन्छ ।

वास्तवमा आफु जन्मेको ठाउँलाई समुन्नत बनाउनु सबैको कर्तव्य हुन आउँछ । आखिर माईती सम्पन्न हुन सके नयाँ घरमा सासु, ससुरा, श्रीमान् र अन्य परिवारका सदस्यले नयाँ आगन्तुक नारालाई ससम्मानको हिसावले हेर्ने गर्छन् त्यसरी नै अन्य मुलुकमा आएर शरण लिएर बस्नेको हकमा पनि लागु हुन्छ । अत: विशेषगरि अमेरिका, बेलायत लगायत विकसित देशहरुमा स्थायीरुपमा परिवार सहित बसोबास गर्ने नेपालीहरुले आफ्नो जन्मथलोको विकास निर्माणको कार्यलाई सक्दो सहयोग निरन्तर गरिरहनु पर्ने हुन्छ । यस्तो कार्यलाई व्यवस्थित रुपमा अगाडी बढाउनको लागी निश्चितरुपमा एकै ठाउँका व्यक्तीहरु समेत विदेशमा संगठीत भएर सहयोग जुटाएर आफ्नो जन्मथलोमा तत्कालिक सामाजिक समस्याहरु समाधानको लागी सहयोग प्रदान गर्नु पर्ने हुन्छ ।

मानौ की आफ्नो गाउँमा विद्यालयमा पठनपाठन गर्नको लागी सुविधासम्पन विद्यालय भवन छैन, आधुनिक पुस्तकालय छैन, न्युन आर्थिक अवस्थाबाट बालबालिकाहरु स्कुल जान वञ्चित छन्, स्वास्थ्यचौकीमा भरपर्दो सुविधाको अभाव छ, कुलो-नहरको राम्रो व्यवस्था छैन, सडकहरुको राम्रो व्यवस्था छैन, संचार संजालको सुविधा छैन, कलेजहरुको व्यवस्था छैन, खानेपानी एवं सरसफाईको राम्रो व्यवस्था छैन, खेलकुद मैदान लगायतको समस्या छ, स्वरोजगारी सृजना गर्ने तालिम केन्द्रहरुको अभाव छ, त्यस्तै अन्य सामाजिक सेवाहरुको अभाव छ भने त्यसको लागी विदेशमा बस्नेहरुले संगठित रुपमा आर्थिक सहयोग गर्न सकेमा पक्कै पनि त्यस्ता समस्या समाधान गर्न महत्वपुर्ण टेवा पुग्ने छ जसले गर्दा आफ्ना गाउँले दाजुभाई, दिदी बहिनीहरुको जीवनस्तरमा सुधार ल्याउने काममा टेवा पुग्नेछ ।

त्यस्तै ग्रामिण क्षेत्रको विकासलाई टेवा पुर्याउन समेत सबै विदेशमा बस्नेहरुले यसरी संगठित रुपमा सहयोग पुर्याउन सकेमा पक्कै पनि सार्थक परिणाम आउन सक्ने छ । गाउँघरका स-साना यस्तै समस्या समाधान विदेशमा बस्नेहरुको सहयोगबाट समाधान हुन सकेमा सरकारले राष्ट्रिय गौरभ र महत्वका आयोजनाहरुको लगानीमा बढी बजेट विनियोजन गर्ने मौका पाउने छ फलस्वरूप देशको विकाशको पुर्वाधार निर्माणमा महत्वपुर्ण छलांग मार्न सकिनेछ । आफ्नो गाउँ आफै बनाउ भन्ने अवधारणालाई पनि मुर्तरुपमा परिणत गर्न यसरी विदेशमा बस्ने नेपालीहरु अर्थात् स्थायी रुपमा विदेशमा बस्ने वा अस्थायीरुपमा रोजगारीको शिलशिलामा विदेशमा बस्ने दुवै थरि नेपालीहरुले सक्दो सहयोग बर्षेनी संगठित रुपमा गर्नु आवस्यक देखिन्छ ।

मुखले जतिसुकै माया गाउँठाउँ र देश प्रति देखाएपनि अन्ततः आर्थिक सहयोगबाट मात्र मायालाई वास्तविक परिणाममा कार्यगत रुपमानै देख्न सक्ने हुन सक्छ । अन्यथा माया र देशभक्तीको माया हामी बाहिर बस्ने नेपालीहरुले भन्नु पर्ने कुनै जरुरत खासै देखिदैन यसको लागी नेपालमा च्याउसरी उम्रेका राजनैतिक दलहरु छदै छन् । दैनिक जसो विभिन्न स्थानमा आमसभाहरु, कार्यक्रमहरु गरेर भाषाणवाजी गरेर जनतालाई आफुहरु राष्ट्रप्रेमी हौ भनेर रटान दिईरहेका छन् तर व्यवहारमा जनतालाई अभाव र समस्याको गोलचक्रमा फसाईरहेका छन् ।

वास्तवमा हामी नेपालीहरु मात्रैमा देशप्रेम र गाउँप्रेम हुने होईन भन्ने उदाहरण अन्य मुलुकहरुबाट आप्रवासी बनेर स्थायी बसोवास गरिरहेका मानिसहरुको व्यवहारलाई देख्दा पनि अनुमान गर्न सकिन्छ । मेक्सिकन वा स्पानिस व्यक्तीहरुले विशेष अवसरमा आफुहरु( स्वदेशमा एकै स्थानका )एकै ठाउँका व्यक्तीहरुबाट आर्थिक सहयोग उठाएर आफ्नो गाउँघरमा छिमेकीहरुको सामाजिक आवस्यकता पुरा गर्न नियमितरुपमा पठाउने गरेको पाईन्छ । अन्यमुलकहरुका आप्रवासीहरुले पनि सामुहिकरुपमा आर्थिक संकलन गरि आफ्नो मुलथलो वा जन्मभुमिमा सामाजिक विकासमा टेवा पुर्याएको पाईन्छ । अन्य अप्रवासीहरुले नेपालीहरुले झै यति विघ्न सामाजिक संघ संस्था नखोले पनि केही महत्वपुर्ण संघ संस्था खोलेर वा अनौपचारिक रुपमै संगठित भएर भएपनि आपसमा सहयोग र सद्भाव कायम गर्दै आफु सक्दो सहयोग आफ्नो जन्मभुमिमा समेत गरिरहेको पाईन्छ ।

अत: सधै सम्बन्धको जालो फिजाई रहन सकियोस् र जन्मभुमि र आफ्नो गाउँठाउँको उन्नती र प्रगतीमा केही न केही योगदान पुग्न सकोस् भनेर विदेशमा बस्ने नेपालीहरु आपसमा संगठित भएर सक्दो सहयोग निरन्तर गरिरहनु पर्दछ । विदेशमा आफ्नै व्यक्तिगत एवं पारिवारिक समस्या छदै छन् तथापी आफ्नो गाउँठाउँलाई माईतीकै रुपमा सम्झेर पनि समय समयमा सक्दो सहयोग गरि सम्बन्धहरुलाई नविकरण गर्ने काममा लागीरहनु आवस्यक छ अन्यथा समय लम्बिदै जाँदा गाउँठाउँनै भुल्दै जाने र नयाँ पिढीहरु सँग नयाँ सम्बन्ध नजोडिने र क्रमश: हिजो जन्मेको हुर्केको आँगन पनि विरानो हुन बेर लाग्दैन । आखिर जीवनमा मरेर लैजानु के नै छ र कम्तीमा आफ्नो थाकथलोको सामाजिक सेवामा योगदान दिन सके अनन्त काल सम्म सबैले मन मष्तिष्कमा सम्झिरहने छन् । सामाजिक सेवा जस्तो पुण्य कर्म जगतमा अरु केही छैन यसलाई सबैले मनन गरौ ।

प्रतिक्रिया