रौतहटमा चुनौती बन्दै विद्यालय व्यवस्थापन समितिको निर्वाचन

इनेप्लिज २०७३ जेठ २७ गते १६:१४ मा प्रकाशित

dharahariko nirbaachanko baahiri drr

रौतहट जिलामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन चुनौती बन्दै गएको देखिएको छ । विभिन्न विद्यालयको निर्वाचनमा झडपको अवस्था सिर्जना भएकोले विद्यालयमा निर्वाचन ठूलो चुनौतीको रुपमा देखिएको हो ।
जिल्ला शिक्षा कार्यालयबाट भौतिक सुविधा आदि पाउनको लागि विद्यालय व्यवस्थापन समिति अनिवार्य भएको कार्यालयले बताएपछि विगत दुई महिनामा करिब दुई सय विद्यालयमा नयाँ व्यवस्थापन समितिको गठन भएको तथा प्रक्रियामा रहेको पाइएको छ । तर विद्यालय व्यवस्थापन समितिको निर्वाचन समाज र प्रधानाध्यापकका लागि निकै चुनौतीको विषय बनेको विभिन्न घटनाले पुष्टि गरेको छ ।
बुधवार धरहरीस्थित जय किसान उच्च माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएपछि दुई पक्षबीच विवाद चर्केर गोली चलेको छ । गोलीले दुईजना घाइते समेत भएका छन् । निर्वाचनको क्रममा सयौँ पुलिसको उपस्थिति थियो । धरहरी मात्रै होइन दुई हप्तापहिले विश्रामपुरस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा सम्पन्न निर्वाचनको क्रममा स्थानीयबीच झगडा भएपछि पुलिसद्वारा लाठी चार्ज तथा तीन सेल अश्रु ग्याँससमेत प्रहार गरिएको थियो । केही दिनअघिमात्र संग्रामपुरस्थित माध्यमिक विद्यालयको निर्वाचनमा पनि तनावको अवस्था सिर्जना भएको थियो । जनता उच्च माध्यमिक विद्यालय कटहरियाको निर्वाचनमा समेत निकै तनाव देखिएको थियो ।

स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थामा समाजमा आफ्नो हैसियत देखाउने माध्यमको रुपमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुन थालेको छ । विद्यालय व्यवस्थापन समितिमा स्थानीय तहमा राजनीतिक दलहरुको चलखेल तथा लाखौँ रुपैया खर्च गरेर भए पनि चुनाव जितेर आफ्नो हैसियत देखाउने प्रवृत्तिको विकासले एकातिर विवाद ल्याउँछ भने अर्कोतिर सुरक्षा चुनौतीसमेत थपिने गरेको छ ।

सञ्जय मित्र, रौतहट

प्रतिक्रिया