योग महोत्सव असारमा

इनेप्लिज २०७३ जेठ २७ गते ४:३४ मा प्रकाशित

काठमाडौँ, २७ जेठ । दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाँच दिने योग महोत्सव गरिने भएको छ ।

‘समस्या अनेक छ, तर समाधान एउटै छ, त्यो हो योग । बालक, युवा र वृद्ध (नर÷नारी) सबैको लागि योग । आनन्द र स्वस्थ जीवनको लागि योग ।’ भन्ने मूल नाराका साथ असार ७ देखि ११ गतेसम्म महोत्सव गर्न लागिएको आयोजक आनन्द प्रचारक सङ्घ र श्री पशुपतिनाथ सेवक सङ्घले जनाएको छ ।

महोत्सवमा नेपाल तथा भारतका योगाचार्य एवम् कलाकारको सहभागितामा योगासन, योग शिक्षा, यौगिक चिकित्सा, सांस्कृतिक कार्यक्रम र नाटकसहितको त्रि–दिवसीय योग साधना शिविर गरिने सङ्घका सचिव मनोज भट्टराईले राससलाई जानकारी दिनुभयो ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपाल सरकारले पनि गत वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मान्यता दिएको छ ।

महोत्सवको पहिलो दिन ७ गते पशुपति नासलचोकस्थित भुवनेश्वरी मन्दिर प्राङ्गणमा दिवस समुद्घाटन समारोह, ८ गते विभिन्न सङ्घ संस्था, विद्यालय र महाविद्यालयमा योगसम्बन्धी कक्षा सञ्चालन एवम् ९ देखि ११ गतेसम्म त्रि–दिवसीय योग साधना शिविर गरिनेछ ।

प्रतिक्रिया