लिडर लीला ।

इनेप्लिज २०७३ जेठ २५ गते २०:५५ मा प्रकाशित

लिडर र नेता उस्तै उस्तै शब्द हुन् । सबै शब्दहरू आफ्नै भाषाँ आस गर्नु हुन्न,त्यसैले नौलो जनवाद मौलावेलाँ शब्दहरू भेटे सम्म आयातित गर्दा मर्का नपर्ला ! लिडर भन्नाले जुनसुकै प्राणीमा पनि नेत्रित्व गर्न सक्ने लिंडे खुबी भएका हिंडे नरोक्किने महान् साहसी जन्तुलाई भनिन्छ । लिडर खुट्टी हेरेर कत्ति छुट्टयाइन्न ! उसका खुट्टी दुई चार छ आठ जति पनि हुन सक्छन् । तर बुद्धि हेरेर चाहिँ पक्कै छुट्टयाइन्छ छक्कै भए पनि । एक जमानाको कुरा हो । हाम्रो गाउँमा चार पाँच घरकै गाई वस्तु चराउन जाँदा हामीले धौले गोरुलाई ठुलो घाँडो झुण्डयाई दिन्थ्यौँ किनकि ऊ सही ठाउँमा चररेर सही बेलाँ फर्कन्थ्यो । त्यस्तै सिँगारी बाख्रीको काँधाँ पनि उस्तै खालको जिउ सुहाउने सानो घण्ट लगाइन्थ्यो । आफू भने लुकी खेल्दै ठूलो सालघारी वनाँ मनै आनन्द । मैन गट्टा तरकारी, आमला, हर्रो, वर्रो, इमिली, कान्छीसाग, पडके च्याउ, भलायो जामुनो, काफल, सिताफल के गर्नु अहिले त लिडर लीलाले जङ्गलकै लिंड्को लगाइ दिए एउटा रुख पनि छैन । सफा छ हाम्रो कैलाली कञ्चनपुर, नयाँ मुलुक एउटा लिडरले बक्सिस पाएको मुलुक अरु बग्रेल्ती लिडरले पच्चिस सालबाट लिंड्को लाउन सुरु गर्या छत्तिस, छायालिस, छपन्न, बैसठी साँध सिमा गैसके छैंसट्टी ।

यो लिडर पनि हात्तीको, गैंडाको, कुकुरको, ढुकुरको, गोरुको, भैंसीको गाईको, बाख्राको, भेडाको, घोडाको, खच्चरको, बाँदरको, सबै पशुपंछीको । एउटा स्यालले हुइँया गरेपछि त्यसको कानमा सिङ पलाउँछ भन्थे सबै स्यालले आफ्नो पनि सीङ पलाउँछकि भनेर हुइँया हुइँया । मेरी बास्यै खास्सै छ बा पशु लिडरको कथा । अरु त अरु बगाले साँप भन्छन्, त्यसको एउटा लिडरलाई मार्यो भने एकै छिनाँ अर्को साँप, त्यसपछि अर्को साँप, त्यसपछि अर्को मर्नै परे पनि आउने । धाउनै परे पनि लिडरा पछि खुव धाउने । त्यसैले त्यो नटोक्ने साँपलाई दुईखुटे पशुले चिनेन । आखिराँ जब चिन्यो ढिला भयो । कुरोको चुरो लिडर लीलाको, यो लिडरले जहिले पनि मीठो खानु पर्ने, पहिला खानु पर्ने, दगुर्दै गएर भाग छोप्नु पर्ने, चाहे बाँदरले फलफुलको बोटाँ झुन्डिँदा होस् चाहे गोरु चरनाँ मुन्टिँदा , चाहे भेडा चरनाँ जाँदा होस् लिडर त अगाडि लाग्नै पर्यो ‘जता हरियो त्यतै तरियो ।’
म पनि यो लिडर–लीला सोध्न एका बिहानै गुरुप्रसाद गुर्धामीका घराँ धसारिएँ । गुरुले पनि बिहानै नित्यकर्म सकेपछि भने– ‘ए मुर्खाण्डे कताबाट आइस् आज हँ एका बिहानै ?’ मैले भनेँ– गुरु यो लिडर लीला भनेको के हो हँ ? आजकाल जसको मुखाँ पनि लिडर लीलाकै कुरो हुन्छ त्यही बुझौँ भनेर पो ।’ त्यसपछि बल्ल गुरु गुरुप्रसाद गुर्धामीले भने– “यो लिडर भन्नाले जीवजन्तु, पशुपंक्षी जसमा नेत्रित्व गर्न सक्ने खुबी हुन्छ । जसमा पुरै आफ्नो बगालको संरक्षण गर्ने चरन गरी पेट भरण गर्ने गुणले भ्रुण जोगाउने चातुर्यता बिकशित गरेकै हुन्छ । हुन त लिडर लीला दुई खुट्टेमा पनि त्यस्तै त्यस्तै हुन्छ । राम्रो काम गर्ने, बिबेकी, ज्ञानी, दानीलाई पो मानव भन्ने बिगार्ने भत्काउनेलाई त दुईखुट्टे पशु भन्दा के फरक पर्ला र ?”

गुरु गुर्धामीले थपे– ‘लिडर भन्ने जन्तु संसाराँ जता गयो उतै पाइन्छ । लिडरको एउटा विशेष गुण छ । यो जन्तुलाई सभा सोसाइटीको मैदानाँ दौडने उफ्रने डुक्रने बानी परेको हुन्छ । यसको सक्कल भन्दा पनि बानी बेहोरा बिल्कुल मानिससँग मिल्छ । यो जन्तुले खानपिन शानसँग गर्छ । लिडर लीलाँ आफ्नो बिल्ला कम हुनुहुन्न । चाहे अखवारको अग्रपंक्तिमा होस् । चाहे सरकारको हाली मुहालिमा किन नहोस् । लिडर लीलाले आफ्नो पोजिसनको बिल्ला र सिँगौरी खेल्ने मैदानको किल्ला उफ्रने जिल्ला, टेबुलमा हात बजार्ने जमिनमा पाउ थचार्ने, माइकाँ मुख उगार्ने एउटा हातमा झन्डा, अर्को हातमा डन्डा, साँझ परेपछि दारु र अण्डा नोटका बण्डै–बण्डा । लिडर आफ्नो सभा र सोसाइटीयाँ शान र मानको खातिर सर्वस्व दान गर्छ । बेलुका साँझाँ दानको दोब्बर धन, दौलत दोब्रयाउँछ । जसरी बाढीलाई बारले छेक्न सक्दैन । त्यसरी नै नेताको क्रान्तिकारी गाडीलाई कुनै जनता न त कानुनको बाँधले छेक्न र रोक्नै सक्छ । किनकि लिडर त्यो शक्तिशाली जन्तु हो जसले कानुन पनि आफै बनाउन सक्छ र जसरी कानुन बनाउने शक्त्ति छ भत्काउन पनि उसलाई कसैले रोक्नै सक्दैन ।

लिडर लीलाको अगाडि परेपछि चाहे कुर्ची होस् चाहे माइक किन नहोस्, चाहे टेवल नै किन नहोस्, चाहे कानुन उनका अगाडि भगवानले जानुन् । लिडर लीला लो क्लासको सवारी वाहन त देब्रे नजरले पनि हेर्न जान्दैन । प्रत्येक दुई महिनाँ भित्र इन्टर नेसनल सेमिनारका नामले संसारका देशमा सिधासाधा र विद्वान तथा इमानदार सज्जनका भेषमा बाँकी बचेका देशमा संसार देखने रेसमा ए क्लासको स्पेशमा पालै पालो राष्ट्रको ढुकुटीको जालो ‘उल्फा धन फुपूको सराद ।’ भाइ भारदार र सालो बिकासको नमुना हेर्ने भाषा, दौरा र सुरुवाल काम माम र मुख फेर्ने होडाँ मिलेमोता बोर्डा कोड चाहिँ संरक्षण गर्छन् । यो लिडर लीलाले कृष्ण लीला जस्तै ताण्डव नाच, पाण्डव जुवा, देश धुजा, बिकास भुजा परेपछि बाँकी कुराको त कुरै नअरौँन हजुर ।

लिडर लीला कसैसँग कम बोल्छ, कहिले आधा मुख खोल्छ, कहिले कसैसँग खुब दिल खोलेर हाँस्छ, कसैसँग आधा हाँस्छ, कसैसँग पुरै बोल्छ, मान सम्मान, पद पावर र पैसा पाएन भने उसको मन भतभती पोल्छ । गरिव, साधारण र सरीफ मान्छेको अनुहार जानेर, चिनेर र उसले खुवाएको गाँस, उसले दिएको वास र जनताले दिएको भोट, उसले किनिदिएको कोट पनि बिर्सन्छ । सर्वसाधारण त उसको अगाडि देख्न पनि रुचाउँदैन ।

लिडर लीला संसाराँ छ । संसाराँ लिडर लीलाको कमी छैन । यो जन्तु कुनै देशाँ लीलालाई स्थगित गरेर जिल्ला सेवाँ भेष वदले होलान् कतै पुर्खा बाँदरको रुपबाट भरखर बिकसित हुँदै होलान् फरक त्यति हो । जे होस् यो रुप हेर्ने इच्छा भए लिडर लीलाको ताण्डव नाच हेर्न र सोध्न एउटै चिजलाई थाहा छ । त्यो घटना ताजा छ । कसलाई थाहा छ त्यो के होला ? आउनुस् सबैजना त्यो कुर्ची र संविधानलाई सोध्न जाउँ उसलाई केही थाहा छ कि ? सहिद दिवसाँ कुर्ची र संबिधान बोकेर सहिद गेट जाउँ । उनैले भनिदिन्छन् । असली लिडर–लीला कहाँ पाइन्छ ? जहाँ चाहिन्छ !

प्रतिक्रिया