सङ्गीतज्ञ गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि

इनेप्लिज २०७३ जेठ २५ गते ८:०१ मा प्रकाशित

Ambar-Gurung-523x330-3

काठमाडौँ, २५ जेठ । गए राति निधन हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।

उहाँको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उहाँका माहिला छोरा राजुले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।

अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति आउने क्रम जारी छ । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उहाँ गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत हुनुहुन्थ्यो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताउनुभयो ।

त्यसैगरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् ।

प्रतिक्रिया