एमाले रत्ननगरको अधिवेशनमा संस्थापन प्यानलका अर्याल अगाडी

इनेप्लिज २०७३ जेठ २४ गते ८:३५ मा प्रकाशित

20160528_142903-1

चितवन, रत्ननगर २४ जेठ ।
नेकपा एमाले रत्ननगर नगर कमिटीको नगर अधिवेशनको चुनावी चहलपहल बढेको छ । हिजो आईतबार शुरु भएको नगर अधिवेशनका लागि प्रत्यक्ष रुपमा दुई प्यानल चुनावी मैदानमा देखिएका छन् ।
पार्टीभित्र कुनै गुट उपगुट नभएको केन्द्रीय नेताहरुले बताएपनि सो सत्य सावित हुन सकेको छैन । नगर अधिवेशनमा संस्थापन अर्थात् ओली पक्षका ईश्वरी अर्याल र नेपाल पक्षका बद्रि घिमिरे चुनावी मैदानमा देखिएका छन् । एकअर्काले सजिलै आफुले चुनावी मैदानमा जीत सुनिश्चित रहेको बताएपनि संस्थापन पक्षका अर्याल भारी बहुमतमा रहेको मतदाताहरुले बताएका छन् ।

पार्टीभित्र आफु निरन्तर लागिरहेको, सचिवालय सदस्य, नगर सचिव हुँदै पार्टीमा अगाडि बढेको अध्यक्षका उम्मेदवार ईश्वरी अर्यालले बताए । आजको दिनसम्म पार्टी कार्यकर्ताको निरन्तर काम गरी हिडेको र जनताको जनजीविका, पार्टी सुदृढिकरण आफ्नो एजेण्डा रहेकोले जीत सुनिश्चित रहेको अर्यालले बताए । रत्ननगरमा सधै आफ्नो पक्षले विजय हासिल गर्दै आएको र यसपटक पनि आफ्नो पक्षका प्रतिनिधिहरु सबै वडाबाट बहुमत आएकाले जीत सुनिश्चित रहेको उनले बताए । अर्याल सहित संस्थापन समूहबाट उपाध्यक्ष ईन्द्र भण्डारी, सचिव राजेन्द्र न्यौपाने र उपसचिव कविता देवकोटाको उम्मेदवारी रहने बताइएको छ ।

20160528_142903-2

गत नगर अधिवेशनमा अध्यक्षमा पराजित बद्रि घिमिरेले पनि चुनावी मैदानमा अगाडि बढेका छन् । घिमिरेको प्यानलमा उपाध्यक्ष हरिकुमार श्रेष्ठ, सचिव एञ्जिला कुँवर, उपसचिव रामहरी अधिकारी चुनावी मैदानमा देखिएका छन् । रत्ननगरको बछ्यौलीका ३ वटा वडा बाहेक रत्ननगर र साविक पिठुवाका १६ वटा वडाका १ हजार २८ संगठित सदस्य मध्ये छनौट भएका २ सय ५ जना प्रतिनिधिले सो नगर अधिवेशनमा सहभागी भई नेतृत्व चयनमा भूमिका निर्वाह गर्ने नेकपा एमाले रत्ननगर अध्यक्ष प्रेमनाथ दवाडीले जानकारी दिए । आगामी ३ वर्षका लागि हुने सो नगर अधिवेशनले बढीमा ५१ जनाको कार्यसमिति चयन हुनेछन् । सो नगर अधिवेशनको हिजो आईतबार नेकपा एमालेका पूर्व केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले रत्ननगरमा नगर अधिवेशन उद्घाटन गरेका थिए ।

प्रतिक्रिया