बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ११:५०
वासिङटन डिसी 02:05

राजनितीले गाँजेको हामी नेपाली -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ २४ गते २:१२ मा प्रकाशित

prakash 1

राजनिती देशको रुपरेखा बदल्ने, देशको राज्य संयन्त्र सुचारु गर्ने, देशको बागडोर संहाल्ने महत्वपुर्ण साधन हो । हरेक देशलाई सुव्यवस्थितरुपमा संचालन गर्न सुदृढ राजनिती आवस्यक छ । विकशित, अविकशित, विकशिल जुनसुकै देशमा पनि राजनितिक गतिविधी, राजनितिक नेतृत्वको भुमिका, जनतामा राजनितीक चेतना, राजनितीक सुझवुझले देशको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा प्रभाव पारिरहेको हुन्छ । अझै स्पष्ट भन्ने हो भने राजनितीनै आधुनिक युगमा देश विकासको मुख्य आधार हो । बोलीचालीको भाषामा राजनितीलाई समाज सेवाको महत्वपुर्ण क्षेत्र मानिन्छ । तथापी नेपाल जस्तो मुलुकमा अझै सम्म राजनितीलाई समाजसेवाको रुपमा वास्तविकरुपमा परिभाषित गर्न कठिन छ किनकी अधिकांश व्यक्तीहरुले यसलाई व्यवसायीक पेशाको रुपमा ग्रहण गरिरहेको देखिन्छ ।

नेपालमा हरेक क्षेत्र राजनितीबाट प्रभावित छ । नेपालीहरु जुनसुकै क्षेत्रमा पनि राजनिती घुसाएर आफ्नो अभिष्ठा पुरा गर्न चाहन्छन् । जन्मेर बोली नफुट्दै बच्चाहरुलाई राजनितीको पाठ पढाउन शुरु गरिन्छ र जव उ स्कुल, कलेजमा पढ्छ, उसले कुनै न कुनै राजनितिक पार्टीको झण्डा बोकेर हिड्ने राजनितिक कर्मी बनिसकेको हुन्छ । घरपरिवार, स्कुल, कलेज, सरकारी वा प्राईभेट कार्यालयहरु, सार्वजनिक संघ, संस्था सबैतिर राजनितीक हावाले प्रभावित छन् जसले गर्दा हरेक नागरिक राजनितीमा चाहेर वा नचाहेर पनि आवद्ध हुनुपर्ने हुन्छ ।

गाउँको चिया पसल, चौतारी, मेलापाता देखि शहरको गल्ली-गल्ली, चोक, होटेल, लज, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, प्राईभेट कार्यालय, व्यवसायिक संस्था, धर्मशाला, कलेज, विश्वविद्यालय, ट्राभल एजेन्सी देखि सिंहदरवार, फिल्म हल देखि दशरथ रंगशाला, पार्क देखि सपिंग मल सम्म जताततै राजनितीक प्रभाव र राजनितिक गफगाफ, राजनितिक चिन्तन मनन, राजनितिक खिचातानी, राजनितीक कार्यकर्ताको धौडधुप देखिन सकिन्छ । हरेक व्यक्ती कति न कतै राजनितीक संगठनको सदस्य बनेर आफ्नो भक्तीभाव र आस्थालाई घोषित एवं अघोषित व्यवहारबाट संलग्नता जनाईरहेका हुन्छन् ।

स्कुलमा पढ्ने विद्यार्थी देखि पढाउने शिक्षक, जागिर खाने कर्मचारी, खेल खेल्ने खेलाडी, कला क्षेत्रका कलाकार देखि साहित्यमा लागेका साहित्यकार, सामाजिक सेवामा लागेको संघ, संस्था देखि धार्मिक संघ, संस्था, पत्रकार देखि लेखकहरु, व्यापारी देखि उद्योगपति सम्म, झुपडी मालिक देखि महल मालिक सम्म, श्रमिक/कामदार देखि सामान्य वेरोजगारी सम्म, कलेजका विद्यार्थी देखि प्राध्यापक सम्म, हजामी देखि कसाई सम्म, भट्टी पसले देखि पाँचतारे होटल मालिक सम्म, साउदी बस्ने नेपाली देखि अमेरिका बेलायत बस्ने गैर आवासीय नेपाली सम्म, पियन देखि मन्त्रालयका सचिव सम्म सबका सब राजनितीमा आवद्ध हुन्छन् ।

नेपालका हरेक राजनितिक पार्टीहरुले सबका सबलाई कुनै न कुनै भातृसंगठनमा आवद्ध बनाएर आफ्नो चाकडी गर्न बाध्य बनाएका छन् र आम नागरिक पनि त्यसरी चाकडी गर्न लालयित देखिन्छन् । हरेक क्षेत्र राजनितीबाट आक्रान्त भएकोले विना राजनितिक संलग्नता सामान्य गैर राजनितिक व्यक्ती भएर बाँच्न निकै कठिन छ जसको फलस्वरूप हरेक व्यक्ती कुनै न कुनै राजनितीक दलको सदस्य बनेर आफ्नो कार्य क्षेत्रलाई सुरक्षित बनाईरहने प्रयत्न गरिरहेको हुन्छ । सामान्य किसिमको जागिर र कामको लागी पनि राजनितिक आस्थालाई आधार बनाई नियुक्ती गरिने परिपाटी रहदै आएको सन्दर्भमा राजनितीक पार्टीको सदस्य वेगर कुनै पेशा वा जागिर खान समेत कठिन देखिन्छ तसर्थ राजनितीमा सहभागिता देखाउनै पर्ने बाध्यता छ । यति सम्मकी दैनिक गतिविधी संचालन गर्न समेत राजनितिक आस्था र संलग्नता कतै न कतै हुनुपर्ने देखिन्छ ।

यतिसम्मकी गाउँघरमा साहुको ऋण पाउन, पसलमा सामान उधारो पाउन, पसलमा सहुलियत मुल्यमा सामान पाउन, अभावको वेला लुकाई छिपाई ग्याँस सिलिण्डर पाउन, राम्रो स्कुलमा बच्चाको एडमिशन पाउन, गाउँका सामान्य संघ संस्थामा नेतृत्व पाउन, स्कुलमा व्यवस्थापन समितीको अध्यक्ष लगायत सदस्यमा जिम्मेवारी पाउन समेत राजनितिक रुपमा निकटता रहनु पर्ने, राजनितिक पार्टीको आस्थाले भुमिका खेल्ने हुन्छ ।

विशेष योग्यता र क्षमता चाहिने ठाउँमा समेत राजनितिक आस्था नमिल्दा योग्य व्यक्तीहरु समेत पछाडी परेको देख्न सकिन्छ । पढे लेखेको दक्षता भएका व्यक्ती समेत राजनितीक कारण विभिन्न जागिर र पेशाको लागी अयोग्य ठहरिएको, कर्मचारीहरुको सरुवा, बढुवा देखि ईनाम, सम्मानमा समेत राजनितीले भुमिका खेलेको हुन्छ । जुन राजनितीक पार्टीको सरकार छ उसले आफ्ना राजनितीक आस्थाका कार्यकर्ता, कर्मचारी लगायत सबै क्षेत्रका व्यक्तीलाई काखी च्यापेर प्रोत्साहन गर्ने, गल्ती गर्नेलाई पनि बचाउन खोज्ने तर अन्य राजनितिक पार्टीमा आस्था राख्नेहरु योग्य र अनुभवी भएपनि पाखा लगाउने प्रवृती रहदै आएको छ । हरेक क्षेत्रमा कार्यरत व्यक्तीलाई कुन राजनितिक आस्था र संलग्नताको व्यक्ती हो भनेर हेर्ने र सोही अनुसार व्यवहार राजनितिक पार्टी र सरकारी पक्षबाट गर्ने गरेको देखिन्छ ।

स्कुल, कलेजका शिक्षक, प्राध्यापक नियुक्तीमा समेत राजनितीक कारण योग्य, सक्षम व्यक्ती बाहिर परेको देखिन्छ भने अर्को तर्फ राजनितीमा लागेर गान्धी डिभिजनमा पास गरेका व्यक्तीहरु नियुक्ती भएर पढाउने पेशा अंगालेको पनि कतिपय स्कुल, कलेजमा देखिन्छ । अव यस्तो राजनितीक झोला भिरेर आएका कामचलाउ शिक्षक, प्राध्यापकहरुले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिएर योग्य नागरिक बनाउलान् हामी सबैले अनुमान गर्न सक्छौ । पढ्न नसके, जागिर नपाए राजनिती गर्ने र नेता बन्ने सोच बन्ने गरेको र अधिकांश त्यसरी नै लागेको पनि देखिन्छ । यसरी विभिन्न क्षेत्रमा अयोग्य ठहरिएको व्यक्ती भोली गएर नेता बनेर सांसद, मन्त्री, प्रधानमन्त्री हुँदा देशमा कस्तो विकास गर्ला, कस्तो निती, नियम बनाउला त्यसमा पनि सोच्नु जरुरी छ ।

यसरी हरेक क्षेत्र राजनितीको दलदलमा फस्दै गएको र सर्वसाधरणहरु यसको चपेटामा पर्दै गएको प्रस्ट देख्न सकिन्छ । विना ज्याकफोर्स सामान्य काम समेत सरकारी कार्यालयबाट हुन सक्दैन । राजनितीक आस्थाकै भरमा राज्यबाट सुविधा लिन सकिने र नसकिने अवस्था देखिन्छ । राजनितिक नेताको नजिक हुन सके ठेक्कापट्टा देखि विभिन्न विकासको नाममा छुट्टाएको कार्यक्रमबाट बजेट आफ्नो मुठ्ठीमा पार्न पनि कुनै कठिनाई हुँदैन तर राजनितीक विचार र आस्था नमिल्दा कतिपय सजिलै हुने काम पनि हुन नसक्ने हुन्छ । कतिपय व्यक्तीहरु योग्यता र क्षमता हुँदाहुँदै राजनितिक पहुँच नपुगेर विदेशिन समेत बाध्य भएका छन् । हरेक क्षेत्रमा राजनैतिक भातृसंगठन कृयाशिल छन् ।

भर्खरै मात्र कर्मचारीहरुको संगठन कर्मचारी ट्रेड यूनियनको चुनाव सम्पन भएको छ जसमा राजनैतिक दलहरु खुलेरै त्यो चुनाव आफ्नो पक्षमा पार्न रातदिन लागी परेका थिए । राज्यको विकास निर्माण देखि दैनिक प्रशासनिक कार्य संचालन गरि जनताका अत्यावस्यक समस्याहरु समाधान गर्न कार्यरत निकाय कर्मचारीतन्त्र समेत यसरी राजनैतिक पार्टीको भातृसंगठनका रुपमा खुलेर लाग्नुले प्रष्टरुपमा भन्न सकिन्छ की उनीहरु राजनैतिक संरक्षणमा जुनसुकै हरकत गरेर जनताबाट आफु लाभान्वित हुने काममा र राज्यको ढुकुटी दोहन गर्ने काममा विना रोकतोक लाग्न सक्छन् र कहिकतै गल्ती देखिएमा पनि राजनितीक पार्टी र नेताबाट सफाई पाउने वा क्लिन चिट दिने काम सजिलै हुनसक्छ भन्नेमा ती तमाम कर्मचारीहरु ढुक्क छन् र उनीहरु राजनैतिक पार्टी र नेताहरुको चाकडी गर्न भरमग्दुर प्रयास गरिरहेका हुन्छन् ।

अझै यस्तै चाकडी गर्ने कर्मचारीहरुको बढुवा, सरुवा देखि मानपदवी, पदकहरु समेत दिने काममा सरकारमा संलग्न राजनितिक पार्टी र नेताहरु लागी परेका हुन्छन् । सरकार परिवर्तन हुँदा वित्तिकै मन्त्रालयहरुमा सचिवहरुको सरुवा, जिल्ला जिल्लामा सिडियोहरुको सरुवा, बढुवा, प्रहरी प्रमुख, सेना प्रमुखको नियुक्तीमा चलखेल, राजदुत नियुक्ती, राजदुत फिर्ता, संस्थानहरुको जिएमहरुको नियुक्ती लगायत हरेक क्षेत्रमा राजनितिक प्रभाव देखाईन्छ । यसले गर्दा समेत आफ्नो आस्थाको पार्टी सरकारमा जान सके आफुले व्यक्तीगत फाईदा लिन सकिने आशाले जहिले पनि कर्मचारी, विभिन्न पेशामा आवद्ध व्यक्तीहरु देखि सर्वसाधरण समेत आफ्नो आस्थाको पार्टीलाई सत्तामा पुर्याउन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लागेको हुन्छन् वा याचना गरिरहेका हुन्छन् र आफ्नो समर्थन एवं विरोधमा आफ्ना विचारहरु विभिन्न माध्यम मार्फत राखिरहेका हुन्छन् । अझै आजकल त सामाजिक संजालमा यस्तो किसिमको अभियाननै संचालन गरेको पाईन्छ ।

त्यस्तै स्थानिय निकाय एवं सांसदको चुनावमा त ज्यानै फालेर मानिसहरु लागीपरेका हुन्छन् । देश विदेशबाट आर्थिक सहयोगको लर्कननै लागेको समेत पाईन्छ । चुनाव ताका पाएको सहयोगको बदला सत्तामा पुगेपछि यस्ता राजनितीक दलहरुले उनीहरुलाई सक्दो र सुहाउँदो सेवा सुविधा दिन कुनै कन्जुसाई गर्दैनन् जसको फलस्वरूप आम सर्वसाधरणहरुले पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित भएका हुन्छन् ।
त्यस्तै गरि विदेशमा बस्ने नेपालीहरु समेत राजनितिक पार्टीका भातृसंगठन खोलेर समेत कृयाशिल रहेको पाईन्छ । यसरी हेर्दा देश विदेशमा बस्ने सबै नेपालीहरु राजनितिक पार्टीहरुको पंजामा नमज्जाले फसिरहेको देखिन्छ । नेपाली बरु एक दिन नखाई बस्न सक्लान् राजनिती विना एकछिन यसै बस्न सक्ने स्थितीमा छैनन् । तसर्थ चाहिने भन्दा बढि राजनितिक गतिविधी र अन्धभक्त हुनाले समेत देशको सुशासन र दिगो विकासको काममा नकारात्मक प्रभाव पारेको हो की भन्ने आशंका उव्जेको देखिन्छ । वास्तवमा राजनिती गर्नेले राजनिती र अन्य काम गर्नेले सोही अनुरुप काम गर्ने वातावरण हुने हो र सबै क्षेत्रमा राजनितिक प्रभाव नपर्ने हो भने मात्र देशले सही गति लिन सक्छ अन्यथा यस्तै संस्कार रहिरहेमा देशले विकासको गति लिन सक्नेमा आशंका गर्न सकिने प्रशस्त ठाउँ रहेको छ ।

यति सम्म राजनितीले हामीलाई गाँजेको छ की आपतविपतमा आएको विदेशी सहयोग पिडितलाई बाँडफाँड गर्दा समेत राजनितीक आस्थाको आधारमा धेरै थोरै राहत सामाग्री र सुविधाहरु दिने गरिन्छ । विकास निर्माणको काममा समेत कुन क्षेत्रमा कुन राजनितिक पार्टीको जनताहरुको बर्चस्व बढि छ त्यसको आधारमा सरकारी बजेटको बाँडफाँड र आयोजनाहरुलाई प्राथमिकता क्रममा राखिन्छ । देशको गौरवशाली र महत्वपुर्ण जनसरोकारको ठुला आयोजनाहरु समेत राजनितिक खिचातानीले गर्दा अन्यौलग्रस्त अवस्थामा पारिन्छ ।

पानीमा राजनिती, सडकमा राजनिती, सरकारी ठुला ओहोदाको नियुक्तीमा राजनिती, खरदारको सरुवामा राजनिती, वनपालेको नियुक्तीमा राजनिती, यातायात संचालनमा राजनिती, ठेक्कापट्टा, मानसम्मान, अपराधीलाई सजाय दिने कुरामा राजनिती, कुटनितिक क्षेत्रमा राजनिती हुँदा हुँदा घरको भाईहरु छुट्टाविन्दा हुँदा राजनिती, मर्दा-पर्दा, जन्ती मलामी, विरामी उपचार, खेलमैदान देखि आकाशमा जहाज उडाउने क्षेत्र सम्म राजनितीले प्रभाव पारेको हाम्रो देशमा कसरी स्वच्छ तरिका बाट विकासले गति लिन सक्ला यसै भन्न सकिदैन ।

भर्खरै शिक्षा एेन संसोधन भएर नयाँ एेन लागु हुने तरखर हुँदै गर्दा शिक्षकहरु स्थानिय एवं जिल्ला वा कुनै तहको राजनितीक संगठनमा प्रत्यक्ष राजनितीक दलको सदस्य बनेर लाग्न नपाईने कुरा त्यस एेनमा व्यवस्था गरिएको छ तर राजनितिक दलहरुको भातृसंगठनको रुपमा क्रियाशिल शिक्षक संगठन, शिक्षक संघहरुमा समेत आवद्ध हुन नपाईने भनेर कहिकतै उल्लेख छैन । यसले पनि सरकारले घुमाउरो पारामा शिक्षकहरु आफुहरु संलग्न भातृसंगठनहरुमा भरमग्दुररुपमा लागेर राजनिती गर भनेर बाटो देखाई रहेको जो कोहीले महशुष गर्न सकिन्छ । त्यसो त राजनितीक संगठनका हरेक क्षेत्रमा बढि सकृयरुपमा लागेर पढाउने कामलाई नै कर्मकाण्डी रुपमा मात्र लिने शिक्षकहरुलाई भने यो एेनमा भएको नयाँ व्यवस्थाले निद्रा हराम बनाएको पक्कै हुनु पर्छ ।

वास्तवमा सर्वत्र यसरी राजनितीक दलहरुको भातृसंगठन र पेशागत हक हितको नाममा प्रत्यक्ष राजनैतिक चलखेल हुनु अत्यान्तै निकृष्ट कार्य हो भन्दा कुनै अतियुक्ती नहोला । समयमै राजनितीक दलहरुको होश नखुले नेपालमा राजनितीनै सास फेर्ने, राजनितीनै खाने, लाउने सबथोक हुनेछ र देशलाई अधोगति तर्फ धकेल्ने छ । विकशित देशहरुको राजनितिक संस्कार र चलनचल्तीलाई समेत आत्मसाथ र मध्यनजर लगाउने बानी नेपाली राजनेतामा हुनसके र सोही अनुरुप परिवर्तन हुनसके साथै जनताहरुमा समेत राजनिती मात्र हरेक आवस्यकता पुरा गर्ने साधन हो भन्ने मानसिकताबाट माथी उठ्न सके मात्र देशले नयाँ गति लिन सक्छ की भन्ने अपेक्षा लिन सकिन्छ ।
बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया