सबै नेपालीलाई धुर्मुस-सुन्तलीको अपील : लौन ! बर्खा लागिसक्यो केहि गरौँ !

इनेप्लिज २०७३ जेठ १९ गते १५:०२ मा प्रकाशित
image1
प्यारा स्वदेश र बिदेशमा बस्ने नेपाली दाजु भाइ दिदी बहिनी र बुवा आमाहरु …
मुटु भरिको माया अनि आभारका पुष्प गुच्छाहरु ।
त्यो बिनासकारी भुईचालोले हामीलाई दर्फराउदै हाम्रा घरहरु भत्काएर हाम्रै आफन्तलाई टपक्क टिपेर लगेको पीडा त कहिले मेटिएला र ? तर पनि मन सम्हाल्नै पर्ने रहेछ ।

हो ! हामी एक्लैले पूरै देश बनाउन सक्दैनथ्यौ त्यसैले एउटा मात्रै वस्ती बनाउने अठोट गर्यौ, त्यो दृढ अठोटमा तपाईहरुले देश बिदेशबाट दिल खोलेर सहयोग गर्नु भयो, त्यसैबाट हामी हौसियौ अनि फेरि  अहिले गिरानचौरको ढलेको बस्तीलाई उठाउने संकल्प गरेका छौँ । देश दुखेको बेला एउटा नागरिक जिम्मेवार हुनैपर्छ भनेर हामीले प्रतिज्ञा गरिरहँदा हामी संग बस्ती ठड्याउने पैसा थिएन केवल तपाईहरुको माया थियो जो सधै रहिरहने छ,  हामी गरीबको बस्ती उठाउन ज्यामी भएरै अहोरात्र खट्न तयार छौ तर तपाईहरु नै ती घरवार बिहीनहरुको जग हो, खम्बा हो र छानो हो । यहाँको माटोले तपाईहरुको पसिना मागिरहेको छ ।

अहिले गिरानचौरमा बस्ती बसाउन हामी कम्मर कँसेर लागिरहेका छौ, हामीले हाम्री काखे छोरी छोडेर, परिवारबाट टाढा भएका छौ तर ढलेको बस्ती उठाउने पवित्र संकल्प लिएको बेला धेरै छोरा छोरीलाई ओत दिन पाउनु हाम्रो सबैभन्दा ठूलो दायित्व हो , यहि नै ठूलो धर्म हो।  यो दायित्व हामी एक्लैले पूरा गर्न सक्दैनौ त्यसैले हामी चाहन्छौ हरेक जिम्मेवार नागरिकको तर्फबाट एक एक ईट सहयोग प्राप्त होस र भोलि ठडिएको गिरानचौरमा सबैको मेहनत र सद्भावका सुगन्ध लिन पाउँदा कति आनन्द हुन्छ होला है !

बर्खा लागिसक्ने बेला भो, यो बर्खामा पनि हाम्रा धेरै छोरा छोरीहरु रुझ्ने छन, उनीहरुको आँखा त तेह्र महिना देखि रुझिरहेकै छन्, ती आँखा मध्ये केहि आँखाहरुलाई यो दशैमा हँसाउनु छ, यस्तो पुनित काम गर्ने बेला तपाई हाम्रो सद्भाव भएन भने के को मानवता, तपाई हामी के को जिम्मेवार नागरिक ! हैन र ? त्यसैले हामी बरु अझै धेरै ईट र ढुंगाहरु बोक्न तयार छौ तर हामीलाई तपाईहरुको अझ होस्टेमा हैँसे जरुरी छ, अझ आर्थिक, भौतिक र नैतिक सहयोगको जरुरी छ । सोच्नुस त ! एक रात मात्रै खुला आकाशमुनि बस्दा त कति पीडा हुन्छ भने कति धेरै मान्छेहरु तेह्र महिना देखि बाहिरै छन् ! यस्तो बेला केहि गर्न नसके हाम्रो जीवन सार्थक कसरी होला ?

राजनीति नमूना हुन नसकिरहेको बेला हामी सचेत नागरिक पनि नमूना हुन सकेनौं भने देश कहिल्यै बन्ने छैन, हाम्रा छोरा छोरीले पनि भोलि हामीलाई धिक्कार्ने छन्, दुत्कार्ने छन् । त्यसैले आफूले सकेको दायित्व पूरा गरौँ भन्ने हाम्रो अनुरोध हो ।

हामी तपाईहरुलाई बिश्वास दिलाउन चाहन्छौ: तपाईहरुको पसिनाले कमाएर गरेको एक एक रुपैयाँ सहयोगको हामीले दुरुपयोग गर्ने छैनौँ, तपाईहरुले माया र सद्भावले दिएका एक एक ईटमा हामीले खुशीका रंग भर्ने छौँ, तपाईहरुकै पसिनाले मुछेर बनाएका भित्ताहरु अब कुनै बिपत्तिमा पनि ढल्न नसक्ने गरि बनाउने छौ । यसै गरि तपाई हामी मिलेर बनाएका नमूना बस्तीहरुले भोलि सरकारलाई प्रोत्साहित गर्ने छन्, तपाई हामी जस्तै मनकारी मान्छेहरुलाई प्रोत्साहित गर्ने छ अनि एक दिन यस्तै धेरै बस्ती बन्नेछन् त्यसबेला हामी सबैको ओँठमा एकै चोटी खुशीको फोहरा छुट्दा कति आनन्द आउला सोच्नुस त !

हो ! परदेश हुँदा झन् धेरै दुख्दो रहेछ देश, हामी आफैले यो कुरा भोग्यौँ ।  सम्पन्न देशका नागरिक भएको भए हामी परदेशिनु किन पर्थ्यो र ? आफ्नो परिवारबाट छुट्टिनु जत्तिको ठूलो पीडा अरु केहि हुन सक्दैन । अर्काको देशमा बसेर पनि पल पल देशकै माया र चिन्ता गरी अहिलेसम्म सहयोग गर्ने मनकारी नेपालीहरु र स्वदेशको गरिबीमा आफ्नो गास कटाएर पनि सहयोग गरिरहनु भएका सबै परोपकारी मनहरुलाई ती बेघर भएका गरीबहरुको लाखौँ लाख आशिर्वाद पुगिरहोस , हाम्रो कामना छ तपाई सबै हितकारी मनहरुलाई कहिल्यै रुन नपरोस, दिएर खान पुगोस् ।

अन्त्यमा ,
अहिले सम्म हाम्रो गिरानचौर एकीकृत बस्ती निर्माण महाअभियानमा एक करोड रुपैयाँ एकतीस लाख भन्दा बढि रकम उठिसकेको छ तर अझै झन्डै तीन करोड रुपैयाँ उठ्नुपर्ने छ , यसको लागि एउटा त के तपाईले गरेको आधा ईटको सहयोगले मात्र पनि गिरानचौरमा तपाईको  परोपकारी मनको प्रतिनिधित्व हुनेछ । बर्षात अघि सबै सामग्रीको भन्डार गर्न सकिए हाम्रो दशै अघि निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुने थियो,ठूलो योजना भएकाले सहयोग पर्याप्त नहुँदा अप्ठेरो परिरहेको छ, त्यसैले सबै सबै देश बिदेशमा बस्ने नेपाली मनहरुलाई दिल खोली सहयोग गर्न हामी हृदय देखि नै अनुरोध गर्दछौँ । सक्नेले धन , नसक्नेले श्रम र त्यो पनि नसक्नेले हामीलाई सहानुभूति गरेर यो अपील शेयर मात्रै गरेपनि हामीलाई लक्ष्य चुम्न मदत गर्नेछ । हितकारी मनकारी तपाईहरु सबैको जय होस । आउनुहोस राष्ट्र पुनर्निर्माणमा जुटौँ ।
( पवित्र समाजसेवा गरिरहेका धुर्मुस सुन्तली तपाई हाम्रो बाटो हेरेर यस्तै सहयोगको याचना गरिरहेका होलान् , हामी पनि केहि गरौँ न है ।
image1

प्रतिक्रिया