भाषण तथा खादा प्रथाको जय होस् !-प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ जेठ १७ गते १९:३७ मा प्रकाशित

prakash 1

हामी कुनै विशेष शुभ कार्यको शुरुवात गर्दा धार्मिक, सांस्कृतिक परम्परा अनुसार शुभ साहित निकालेर पुजापाठ गरेर कामको प्रारम्भ गर्छौ । त्यस्तै कोही कतै नयाँ ठाउँमा लामो समयको लागी यात्रामा जाँदा सगुन दिएर टिका लगाएर खादा ओडाएर शुभयात्राको कामना सहित विदाई गरिन्छ । त्यस्तै गरि कोही प्रदेशबाट आउँदा समेत टिका लगाएर सगुन दिएर खाँदा ओडाएर स्वागत गरिन्छ । खासगरि आ-आफ्नो धार्मिक आस्था, जातियता, सामुदायिक प्रचलन, आधुनिक संस्कार आदी अनुसार कसैलाई घर देखि टाढा वा विदेशमा यात्रा गर्ने क्रममा घरबाट निस्कदा, एरपोर्टबाट हवाईजहाजमा जाने क्रममा विभिन्न तरिकाबाट विदाई गरिन्छ र विदेशबाट आउँदा वा नयाँ पाहुनाहरु आउँदा पनि आफ्नै तरिकाले स्वागत गर्ने प्रचलन हुन्छ ।

यस्तो प्रचलन हरेक जातजाती र भेग एवं स्थानमा फरक फरक हुन सक्छ जस्तो कि एउटा नेवार, तामाङ, राई, गुरुङ, मगर, शेर्पाले अपनाउने तौरतरिका र अर्को मधेसको थारु, यादव, झा, मिश्र, पासवानले अपनाउने प्रचलन फरक हुन सक्छ भने पहाडमा बस्ने बाहुन, क्षेत्री, परियार, हरिजन, विश्वकर्मा, गन्दर्वको आफ्नै प्रचलन हुन सक्छ । तसर्थ विभिन्न जातजाती र समुदायमा यस्तो प्रचलनमा पृथकता हुन सक्छ ।
त्यस्तै कुनै विशेष कार्यक्रमहरु समाज, समुदाय र विभिन्न संस्थाहरुमा आयोजना गर्दा समेत विशिष्ट व्यक्तीहरु वा आमन्त्रित मुख्य पाहुनाहरुलाई स्वागत गर्दा अपनाईने प्रचलन ठाउँ अनुसार अलग अलग हुने गर्दछ । तरपनि आजकल खासगरि मुख्य अतिथीहरुलाई विशेष मंचमा आसन ग्रहण गराएर संचालन गरिने कार्यक्रमहरुमा कार्यक्रमबारे लेखेको व्याचको साथमा खाँदा ओडाएर स्वागत गर्ने प्रचलन अत्यान्तै चलेको पाईन्छ ।

सामान्यतया केही बर्ष पहिला विशेष जाति विशेषहरुमा आफ्नो सांस्कृतिक पहिचानको रुपमा प्रयोगमा ल्याईने खादा प्रथा त्यसमा पनि कसैको स्वागत र विदाई गर्दा प्रयोग गरिने गरिन्थ्यो त्यसलाई आजकल जुनसुकै कार्यक्रमहरुमा पनि प्रयोगमा ल्याईने गरेको पाईन्छ । त्यसले गर्दा कहिकतै उक्त प्रचलनलाई अपव्याख्या गर्दै दुरुपयोग त गरिएको होईन भन्ने आभाष हुन थालेको छ । वास्तवमा कुनै विशेष शुभकार्य, पराक्रमको कार्य जस्तो हिमाल चढ्ने, विभिन्न खेलकुद एवं प्रतियोगितामा सहभागी हुँदा शुभकामना दिदै शुभ साहित स्वरुप शुभ कार्यका लागी सगुन सहित खादा ओडाएर सम्मान गर्ने गरिन्छ र त्यस्तै विशेष कार्यक्रमहरुमा सफलता प्राप्त गर्दा खुशीयाली स्वरुप स्वागत गर्दै बधाई दिने क्रममा समेत सगुन दिएर खाँदा ओडाउने वा टिका लगाएर, अविर लगाएर फुलमाला लगाई दिने चलन छ ।
यसो गर्दा एक किसिमको हौसला पनि बढ्न जाने, आत्मविश्वास बढ्ने, गौरभ महशुष गर्न सकिने पनि हुन्छ । तर आजकल प्रायः जसो कार्यक्रम चाहे त्यो सामाजिक संघ संस्थाले आयोजना गरेको होस् या सामुदायले आयोजना गरेको होस् या सरकारी कार्यालय, राजनैतिक दल, सांगेतिक क्षेत्र, व्यवसायिक क्षेत्र, स्थानिय क्लवहरु आदी किन नहोस् सबै जसोले कार्यक्रम प्रारम्भ गर्दानै मंचमा आसन ग्रहणको लामो नामावली सहित खाँदा ओडाएर कार्यक्रम संचालन गर्ने परम्परानै चल्दै गएको छ । त्यस्तै कतिपय नेताहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा त गला/गर्धनले धान्नै नसक्ने गरि २५/३० केजीको माला लगाईदिने जस्ता चर्तिकला पनि देखिने गरेको छ ।
अझै विदेशमा दैनिक जसो नेता, कलाकार र विभिन्न क्षेत्रका व्यक्तीहरु विभिन्न कार्यक्रममा सहभागी हुन वा व्यक्तिगत भेटघाटमा आउँदा समेत एरपोर्टमै लिन गएर खादाको भारीले थिच्ने गरि स्वागत गरिन्छ र तीनीहरुको आगमन पश्चात विभिन्न स्थानहरुमा हुने विभिन्न कार्यक्रमहरुमा पनि कार्यक्रमको शुरुवातमै खाँदा ओडाएर जात्रा देखाईन्छ । कार्यक्रममा सहभागी दर्शक, श्रोताहरुलाई दिक्क लाग्ने गरि नेपालबाट आएका पाहुनाहरुका साथमा विदेशमै बसेका विभिन्न क्षेत्रका नेपालीहरुलाई समेत खादा भिराएर झनै कार्यक्रम लम्वाउने गरिन्छ ।

सबैजसो संस्थाहरुले आयोजना गरिने कार्यक्रममा विदेशमै बसेर केही चल्ताफुर्ता बनेर नाम कमाएकाहरुलाईनै बोलाउने र नेपालबाट विशेष आगन्तुक बनेर आएका व्यक्तीहरुको साथमा उनीहरुलाई पनि खादाहरु भिराएर अतिथीको विल्ला भिराई दिने, मञ्चमा आसन ग्रहण गराउने भाषण गर्न लगाउने र आफ्नो कामको बखान सर्वसाधरण दर्शक सामु पेश गर्ने मौका दिईन्छ र यस्तो मौका पाउनेले पनि मौकामा चौका हान्ने काम निकै चातुर्यतापुर्वक गरिरहेको हुन्छन् जसमा त उनीहरुले कहिकतै नाम नविर्सने गरि मञ्चमा आसन ग्रहण गरेका देखि चिनेजानेका समेतको नाम लिएर सम्बोधन गर्ने र कतिपयले ताल परे घरमा खाना पकाएर बच्चाबच्चीहरुलाई हेरेर बसेकी आफ्नी श्रीमतीलाई समेत सम्बोधन गर्ने पनि देखिन्छ ।

यस्तो लाग्छ की त्यो कार्यक्रममा विद्यार्थीको बार्षिक परिक्षाफलको नतिजा वाचन गरिरहेको छ । त्यस्तै सम्बोधन पछिको भाषण पनि पट्यार लाग्ने गरि गरिन्छ र जुन मुख्य कार्यक्रमको आकर्षण हो त्यसलाईनै फितलो बनाईन्छ । जस्तोकी आजकल विदेशमा बढी सांगेतिक एवं सांस्कृतिक कार्यक्रमहरु चलिरहन्छ त्यसमा समेत मुख्य कलाकारहरुलाई बाहेक अन्य व्यक्तीहरुलाई लामो लिस्ट सहित मञ्चमा बोलाएर कार्यक्रमको शुरुवातमै आसन ग्रहण, खाँदा ओडाउने देखि भाषण सम्मको कार्यक्रम सम्पन गरिसके पछि मात्र सांगेतिक कार्यक्रमको संचालन हुन्छ ।
यसले गर्दा त्यस सांगेतिक कार्यक्रममा कलाकारको प्रस्तुती सुन्न र हेर्न टिकट काटेर पैसा तिरेर आएका दर्शक वा श्रोताहरु त्यस्तो पट्यार लाग्दो कार्यक्रम प्रति त्यति सन्तुष्ट देखिदैनन्, जुनसुकै कार्यक्रममा पनि प्रायः प्रवासमा नेपालको राजनिती गर्नेहरुको उपस्थिती गराईने र भाषण गर्ने मौका दिने अनि त्यही नेपालको गन्धा राजनितीको बारे अनावस्यक भाषण सुन्न कार्यक्रममा सहभागीहरु बाध्य हुनुपर्ने भएकोले आजकल यस्ता सांगेतिक देखि विभिन्न सामाजिक संघ, संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सहभागीहरुको उपस्थिती उल्लेखनियरुपमा हुन छोडी सकेको छ ।
खासगरि अनावस्यक आसन ग्रहणको मञ्चमा ओईरो, खादा र लामो भाषणले गर्दानै यस्ता कार्यक्रमहरुको आकर्षण घटेको सबैले महशुष गरिरहेका छन् र विभिन्न भेटघाटमा समेत यसबारे नेपाली समुदायमा चर्चा, परिचर्चा चल्ने गरेको छ । अव यसखाले चलनमा केही नयाँपन ल्याउनु आवस्यक छ । विशेषगरि खाँदाको मान, सम्मानको प्रचलनमा अवमुल्यन नहुने गरि कार्यक्रम गरौ, सांस्कृतिक महत्वलाई कायम हुनेगरि खाँदाको प्रयोग गरौ, अनावस्यक आसन ग्रहण, सम्बोधन एवं भाषणलाई कम गरौ, यसलाई छोट्याएर मुख्य कार्यक्रमलाई प्राथमिकता दिने गरौ ।
राजनितिक भाषण गर्ने सभा रहेछ भने पनि यस्तो मञ्चमा आसन ग्रहण गराउने संख्या र सम्वोधन छोटो गर्ने र भाषण पनि सान्दर्भिक विषयवस्तुमा केन्द्रित रहेर छोटो, मिठो गर्ने प्रचलन चलाउ । खासगरि यस्तो मञ्चमा आसन ग्रहण गराउने, खादा  ओडाउनै पर्ने हो भने दुई-चार जना मुख्य व्यक्तीलाई सबैको प्रतिनिधीत्व हुने गरि त्यस्तो काम गरौ, हैन भने समय र कार्यक्रमको सान्दर्भिकतालाईनै ओझेल पर्ने गरि त्यस्तो कार्यक्रम संचालन प्रकृया नअपनाउ ।
अर्को एउटा उठाउनै पर्ने कुरा के भने प्रत्येक जसो नेपाली कार्यक्रम नेपालमै वा विदेशमा पनि संचालन हुने क्रममा उद्घोषकाले कार्यक्रम संचालन गर्दा र वक्ताले भाषण वा मन्तव्य दिंदा सबै भएभरकालाई नाम र पद सहित सम्बोधन गरि ज्यु, हजुरी गर्ने जुन प्रचलन छ त्यसमा सुधार गर्नु जरुरी छ । जस्तो की उदाहरणको लागी कुनै कार्यक्रममा केही वक्ताले मन्तव्य दिदा यसरी सम्बोधन गर्दा समयको वचत र कार्यक्रम पनि खल्लो नहुन सक्छ, वक्ता मञ्चमा पुगेपछि डेस्कबाट सम्बोधन गर्दा यसरी गर्न सक्छ – आदर्णिय कार्यक्रमका सभापति ज्यु, प्रमुख अतिथी, अतिथी, मञ्चमा आसिन महानुभावहरु र कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु( दाजुभाई, दिदीवहिनीहरु, आमाबुवाहरु) । अझै छोटो गराउने भए-आदर्णिय यस सभाका सभापति ज्यु, मञ्चमा आसिन महानुभाव र कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु ।

यसरी सम्बोधन गर्दा सम्पुर्ण मञ्चमा आसन ग्रहण गरेकाको नाम छुट्ने संभावना पनि रहदैन र सम्बोधनमा बढी समय पनि लाग्दैन र मञ्चमा बस्ने कसैले मेरो नाम सम्बोधन गर्न छुटायो, अघि भन्नुपर्ने पछि भन्यो भन्ने टिकाटिप्पणी पनि संभावना रहदैन । यसरी अवका दिनमा कार्यक्रम मर्यादित र आकर्षण बनाउनको लागी आसन ग्रहण, खादा, सम्बोधन प्रकृया लगायत कुराहरुलाई विशेष ध्यान दिएर अनावस्यक प्रथाहरुमा सुधार ल्याउनु पर्ने र कतिपय सांगेतिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनीहरु, खेलकुद लगायतका कार्यक्रमहरुमा अनियन्त्रितरुपमा खादा र भाषणलाई हटाउँदानै त्यस्ता कार्यक्रम आकर्षक हुन सक्छन् ।

यति भनिरहँदा पुर्णरुपमा भाषण र खादा  प्रथालाई हटाउने भन्दा पनि समयसापेक्ष कार्यक्रमको ढाँचामा परिवर्तन गरौ भन्न खोजिएको हो । भाषण र खादा  प्रथाको विरोध गर्न खोजिएको हैन । कुन कार्यक्रममा भाषण र कुन अवसरमा खादा प्रयोग गर्ने त्यसलाई बुझेर व्यवस्थित गर्न लागौ भन्न मात्र खोजेको हो । हैन यसरीनै भाषण र खादा  प्रथालाई प्रशय दिन्छौ र यसलाई व्यापक बनाएर नेपाली दुषित राजनितीकै तवरमा अगाडी बनाउँछौ भनिन्छ भने “भाषण र खादा प्रथाको जय होस् ” अन्यथा यसलाई मर्यादित र सम्मानित बनाईन्छ भने यसलाई हार्दिक सलाम छ ।
अत: सामाजिक, धार्मिक, सांस्कृतिक, राजनितीक जुनसुकै कार्यक्रममा पनि उचित तवरबाट भाषण प्रथा र खादा प्रथालाई प्रयोगमा ल्याउने काम गरौ अनावस्यक सस्तो लोकप्रियताको रुपमा प्रयोग नगरौ भन्ने अनुरोध छ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया