अमेरिकामा थुतुनो भन्दा हातगोडा छिटो चलाउने मालामाल

इनेप्लिज २०७३ जेठ १४ गते १:५९ मा प्रकाशित

bijay

विश्व नै थुतुनोमा अडिएको जस्तो लाग्न थालेको छ l थुतुनोका कारण नै महाभारत भएको हो l हामी नेपालीहरु अझ थुतुने हुन्छौ l हाम्रो थुतुनो ज्यादा चल्छ l काम र कर्म भन्दा थुतुनो चलाउने हाम्रो अभ्यास छ l केहि पेशामा थुतुनो नचलाई काम चल्दैन l थुतुनो चलाउने पनि केहि सिमितता हुन्छ l लक्ष्मण रेखा भित्र रहेर थुतुनो चलाए फलिफाप हुन्छ l त्यो घेरा नाघे कि थुतुनो थुत्न खोज्ने अवस्था आई लाग्दछ l

हामी संग धेरै समय भएकोले हामी थुतुनो चलाउने बानि परेका छौ l बेरोजगारी ज्यादा भएकोले काम हुँदैन अनि थुतुनो चल्छ l थुतुनो चलाउनेले बिश्व पनि हाक्न सक्छ l उत्तर कोरियाका युवा राष्ट्रपतिले पनि ज्यादै थुतुनो चलाई दिन्छन l अहिले अमेरिकाको चुनाबमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम निकै थुतुनो चलाउन उस्ताद छन् l उनलाई यसले पनि साथ दिएको छ l

थुतुनो कसैलाई मन पर्छ कसैलाई मन पर्दैन l कोहि घोसे पनि हुन्छन उ प्रचार प्रसार पेशामा काम लाग्न सक्दैन l थुतुनो हामीले नेपाल बाटै गोजीमा हालेर अमेरिका ल्याएका छौ l तर अमेरिकामा थुतुनोले काम गर्दैन l गर्दै नगर्ने भन्ने होइन तर अमेरिकामा थुतुनो भन्दा हातगोडा चलाएको मन पराईन्छ l हातगोडा तिब्र चल्नेको सधै दशैँ झैँ हुन्छ l नया नया लुगा नया नया खाने कुरा त्यहि हातगोडा छिटो चलाएको कारण किन्ने अवस्थामा हुन्छन l उनीहरु हृष्ट पुष्ट हुन्छन l डलर आएको आयै हुन्छ l मालपुवा मिठो मसिनो खान पुग्ने हुन्छ l हातगोडा छिटो चलाउनेलाई लक्ष्मीको बास हुन्छ l देख्दै खाई लाग्दो हुन्छन l

तर हातगोडाको सट्टा थुतुनो मात्र चलाउने मानिसको अमेरिकामा निन्याउरो हुन्छन l गोदाई खाएर आएको जस्तो मुख निन्याउरो हुन्छ l देख्दै गरिव जस्तो हुन्छन l खाई लाग्दो को सट्टा पैसा कमाउन नसकेर हाई लाग्दो हुन्छन l उनीहरु मोटो भात खान्छन l लुगा पनि जडौरी (प्रयोग गरिएको )लगाउनु पर्ने पनि हुन्छ l किनभने अमेरिकाको घन्टे काममा छिटो र फुर्तिलो हातगोडा चलाउने मानिस सबैको प्रिय हुन्छ l उनीहरु लोकप्रिय तथा जसले पनि काम दिन्छ l

तर हातगोडा छिटो को सट्टा थुतुनो (मुख )चलाउने तर काममा नुन खाएको कुखुरा झैँ गर्नेलाई ढोका बाट नै नमस्कार गरिन्छ l हातखुट्टा छिटो चलाउने लाई सबैले आऊ आऊ तर थुतुनो मात्र चलाउने र काममा ठग प्रवृतिको लाई जस्ले पनि जाऊ जाऊ भन्छ l हातखुट्टा छिटो चलाउनेको भबिष्य उज्ज्वलमय हुन्छ l तर थुतुनो मात्र चलाउने हातगोडा चलाउन जागर नगर्ने को अमेरिकामा नेपालमा जाने बत्ती जस्तै सदैव अन्धकारमय हुन्छ l

अमेरिका आउने ईक्षा भए या चाहनेले नेपाल देखि नै अभ्यास गरे अमेरिकामा दुख पाइदैन l हातखुट्टा बाउडिने ,गल्यो भनि थच्च बस्ने तथा रोगिहरुलाई अमेरिकामा निकै गार्हो हुन्छ l कालान्तरमा आउने योजना मात्र छ भने पनि हातगोडा छिटो चलाउने बानि गर्नु अनिवार्यता हुन्छ l यति गर्न मात्र सिक्ने हो भने अमेरिका कप्लक्क खाईने हुन्छ l

अझ रामदेवको योगा जान्नु भएको छ भने सुन मा सुगन्ध l फुर्तिलो मानिसको लागि अमेरिका फलिफाप हुने देश हो l यस्ता मानिसको चाँदी कटाई हुन्छ l डलर नै डलर कमाउन सक्छन l जति काम गर्यो त्यति नै मुद्रै मुद्रा l अमेरिका आउदा शरीरको बोसो काडेर आउदा झन् फाईदा l कम गर्दा स्वा सवा र फ्या फ्या हुईदैन l

अमेरिकामा लामो समय बस्ने र कर्मभूमि बनाउनेहरु यो कुरामा पण्डित छन l उनीहरुलाई यस्तो कुरा बाया हातको खेल हुन्छ l तर अमेरिका भर्खर आएकालाई यो कुराको ज्ञान हुदैन l थुतुनोको कारण जागिर बारम्बार जाने र काम पटक पटक खुस्कने पनि हुन्छ l

चुरो कुरा भनेको नै थुतुनोलाई नियन्त्रण गर्ने र हातगोडालाई सलामत राखे अमेरिकामा आफ्नो कब्जामा l जे गरे पनि अमेरिकामा हातगोडा छिटो चल्ने हुनै पर्छ l

प्रतिक्रिया