असंगठित नेपाली गीतसंगीतको यस्तो बेथिती

इनेप्लिज २०७३ जेठ १३ गते १४:२७ मा प्रकाशित

Rajan-Thakuri-398x600नेपाली गीतसंगीतको क्षेत्रमा १५ वर्ष विताइसकेका गायक राजन ठकुरीलाई आफ्ना गीतहरू माटोमा बिलाएर जाने हो कि भनेर ठूलो चिन्ता लागीरहन्छ । उनले जति पनि गीत बनाएका छन् ती कुनै सरकारी निकायमा दर्ता छैनन् । हुन पनि कसरी दर्ता हुन् । गीतसंगीतलाई दर्ता गरेर राख्ने सरकारको आधिकारिक निकायनै छैन । नेपाल टेलिभिजन र रेडियो नेपाल जस्ता सरकारी निकायहरूमा पनि दर्ताको उचित प्रबन्ध छैन । दर्ता भएपनि ती गीतसंगीतको उचित मूल्यांकन हुँदैन । भनसुन र चिनजानका आधारमा मात्रै गीतसंगीतले ठाउँपाउने गरेको तितो यथार्थ छ । यतिसम्मकी नेपाल टेलिभिजन र रेडियो नेपालले गीतसंगीत बजाएवापत रोयल्टीसमेत दिँदैनन् । यही परिवेशमा गायक ठकुरीसँग विमल योगीले गरेको कराकानी

: तपाई आजकाल के मा व्यस्त हुनुहुन्छ ? – नयाँ गीत दर्शक स्रोताहरू माझ ल्याउने तयारीमा छु । नयाँ गीत कस्तो खालको गीत हो ?

– विशेष गरेर म तीन/चार वटा गीतको तयारीमा छु । त्यसमा स्वदेश गान, लोकगीत, कौडा गीत र लोकदोहोरीको तयारीमा छु । यी गीत कहिलेसम्म बजारमा आउँछन् ? – लोकगीत यसैसाता बजारमा आउँदैछ । अरु गीतहरू केही समयपछि आउने छन् । तयारीको अन्तिम चरणमा छन् ।

गीतसंगीतको बजार देखेर यी गीत ल्याउन लाग्नु भएको हो ?

– व्यावसायिक हिसावले त नेपाली संगीत बजार जटिल अवस्थामा छ । फाइदाको लागि भन्दा पनि नेपाली लोकसंगीतको सिपाही हुनुको नाताले आफ्नो कर्तव्य निभाउँदैछु ।

एल्वम निकाल्दा फाइदा छ कि घाटा छ ?

– म एउटा गायक र सर्जकको रुपमा बिगत ढेड दशकदेखि यो क्षेत्रमा क्रिायशील छु । मैले सधै फाइदाका लागि मात्रै भनेर आफ्नो काम गरेको छैन । राम्रा सृजना र कुशल सर्जकको सधै आवश्यक्ता छ । नाफाघाटा समय सापेक्ष हुने कुरा हो ।

तपाई गीत सोखले गर्नु हुन्छ कि बाध्यताले ?

– गीतसंगीत मेरो सपना हो । यो त मेरो रगतमा घुलेको छ जस्तो लाग्छ । त्यसकारणले यो पवित्र कर्मलाई हल्का ढङ्गले लिनु हुँदैन भन्ने लाग्छ ।

अहिले बजारमा देखिने गीतसंगीत तपाईलाई कस्तो लाग्छ ? –

पछिल्लो समय बजारमा छाडा र अश्लील शब्द प्रयोग गरेर उत्तेजक म्यूजिक भिडियो बनाएर नेपाली कलासंस्कृति र गीतसंगीतको मुल मर्ममाथि प्रहार भइरहेको छ । हुन त राम्रा सृजनाहरू पनि नआएका होइनन् । तर यहाँ रहरले बहुलाएका कथित संगीतकर्मीहरू जत्था बढिरहेको छ । जुन चिन्ताको विषय हो ।

तपाईका गीतसंगीत पनि त्यस्तै प्रकारका हुन ?

– मेरा गीतसंगीतको बारेमा आमदर्शक, स्रोता, सञ्चारमाध्यम र अग्रजहरूले मूल्यांकन गर्दा राम्रो जवाफ आउँने गरेको छ । किन कि मेरो लागि अदालत र न्यायाधीश उहाँहरू नै हो । सबैले आफ्नो सृजनाको प्रसंशा गर्छन् ।

तपाईले पनि आफ्नो सृजनाको प्रसंशा गर्नु भो है ?

– त्यसो होइन । मैले आजसम्म गाएका र सृजना गरेका सबै गीतहरू सुन्दा त्यसको सहि जवाफ आउँछ । म त प्रसंशाको भोकोभन्दा पनि सहि आलोचनाको अपेक्षा गर्ने गर्छु । जसले मलाई अगाडि बढ्न मद्दत गरोस् । मेरो पहिलो सृजना ‘सिमसिम पानी रैछौ बेइमानी…’देखि पछिल्लो ‘बाटो मोड्ने छैन…’सम्मका गीतसंगीत सुनेरै त्यसको प्रमाण तपाईले पाउन सक्नु हुन्छ । मेरा सृजना कस्ता छन् भनेर ।

तपाईले आफ्ना गीतसंगीत मात्रै किन गाउनु हुन्छ ?

– म संख्यात्मकभन्दा गुणात्मक कुरामा बढी जोड दिन्छु । अरुका गीतसंगीत गाउँदै नगाउने त होइन । तर, व्यवसायिक लाभभन्दा पनि स्तरीयता कायम राख्नको लागि अलि बढी सर्तक भएको हुँ । यदि राम्रा सृजनाहरू जसलाई मेरो आवाजले न्याय गर्न सक्छ त्यस्तो भएको खण्डमा अरुका गीत पनि गाउनेछु ।

नेपाली गीतसंगीतको व्यापार अहिले कस्तो छ ?

– प्रविधिको विकाससंगसंगै संगीत उपभोग गर्ने माध्यमहरू बदलिएको अवस्था छ अहिले । तर, राज्यले यो क्षेत्रलाई उद्योगको रुपमा स्थापित गराउने चेष्टा नगर्नु, व्यवसायी र कलाकारहरू आफ्नो साझाहितको लागि प्रयत्न गर्न पछाडि पर्नु जस्ता प्रमुख कारणले यो क्षेत्रको भविष्य समृद्ध र उज्वल हुँदाहुँदै पनि अहिले संक्रमणकालीन अवस्थामा गुज्रीरहेको छ ।

तपाईले सृजना गर्ने गीत/संगीत कुनै सरकारी निकायमा दर्ता गराउने गर्नु भएको छ ?

– नेपाल टेलिभिजन र रेडियो नेपाल जस्ता सरकारी निकायमा दर्ता गरेको छु । तर, सर्जकले सृजना गरेका गीतसंगीतलाई न्याय हुने गरी दर्ता गर्ने आधिकारिक निकाय नै छैन । मेरा मात्रै होइन सबैका गीतसंगीत अलपत्र जस्तै छन् ।

भविष्यमा तपाईका गीतसंगीत खोज्नु प-यो भने कहाँ खोज्न जाने ?

– मलाई बास्तवमा सधै यही कुराले पिरोल्छ । किन कि हाम्रो सृजनाको संरक्षण हुने आधिकारिक निकायनै छैन । अझ बिडम्बना त के छ भने जनु श्रष्टाका आवाज र सृजनाले राष्ट्रलाई विश्वमा पहिचान दिन्छ तर, त्यही श्रष्टालाई यहाँ राज्यले चिन्दैन । यस्तो अवस्थामा हाम्रा गीतसंगीत खोज्न भावी पुस्तालाई हम्मे पर्नेछ ।

गीतसंगीतको यस्तो अस्तव्यस्त अवस्थामा तपाई कलाकारहरूले राज्यलाई कुनै दबाब दिनुभएको छैन ?

– हामीबीचमा पनि समस्या छ । आफ्नो सीमित स्वार्थको लागि सधै निकृष्ट सोँच र व्यवहार राख्ने प्रवृत्ति एकापट्टि छ भने दुरदर्शी नीति र नेतृत्वको अभाव अर्को समस्या हो । त्यसकारण आफ्नो हक र अधिकारका लागि संगठित हुन नसकेको लाचार अवस्था छ ।

गीतसंगीतका नाममा खुलेका थुप्रै संघ–संस्था छन् तिनले यस विषयमा सोँचेका छैनन् ?

– कतिपय संस्थाले गरेका प्रयत्नहरू सार्थक हुन सकेका छैनन् । कतिपय भने गुटबन्दी गर्नमै सीमित छन् । राज्यसँग अधिकार माग्ने समय उनीहरूसँग छैन । हामी जस्ता कलाकारको आवाज सुन्ने ठाउँनै छैन भन्दा पनि हुन्छ ।

त्यसो भए कलाकारको भविष्य के त ?

– भविष्य समृद्ध र उज्वल छ । वर्तमानमा मात्रै समस्या हो । यो समस्यालाई न्यायोचित ढंगले निरुपण गर्न सबैको साझा प्रयत्नले सम्भव छ ।

विदेशमा बस्ने, पैसा कमाउने, नेपाल आएर रहरले गीत निकाल्ने परम्परा पनि धेरै छ है ?

– यस्तो प्रवृत्ति अत्यन्तै घातक हो । किन कि जोसँग नेपाली संगीतप्रति दीर्घकालीन सोँच र सपना छैन उसले अन्ततः यस क्षेत्रलाई घात नै गर्छ । सम्भावना नै नभएकाहरूको विगविगी बढेको छ । पैसाले कलाकार बन्न पाइन्छ भन्ने दिउँसै सपना देख्नेहरूको भविष्य छैन । यसलाई हामी श्रष्टाले पनि ध्यान पु-याउन जरुरी छ ।

त्यसो भए विदेशमा बस्नेहरू गीतसंगीतमा लाग्न नपाउने हो ?

– भनाइको तात्पर्य त्यसो होइन । खासमा नेपालको माटोबाट पर रहेपनि यहाँको कला, संस्कृतिप्रति गहिरो चासो राख्नेहरूको जमात ठूलै छ । सम्भावना बोकेकाहरू पनि छन् । तर, अहिले जे जस्तो प्रवृत्ति देखा परेको छ त्यसले नराम्रो संकेत गरिरहेको छ ।

राज्यले तपाईसँग गीतसंगीतबाट कर लिन्छ कि लिँदैन ?

– किन नलिनु । बिभिन्न माध्यमबाट कर लिइरहेकै छ । बरु हामीले राज्यलाई कर तिरेर पनि केही सुविधा पाएका छैनौँ । हाम्रो भनाइ त यो हो कि राज्य जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ । कर लिएअनुसार राज्यले कुनै पनि संस्थागत सेवा गीतसंगीतमा दिएको पाएको छैन । हामी पनि राज्यप्रति उत्तरदायी हुनुपर्छ ।

तपाईको कुरा सुन्दा त गीतसंगीतको क्षेत्र अस्तव्यस्त रहेछ है ?

– अहिलेको अवस्था त अस्तव्यस्त नै छ । तर, सकारात्मक सोँच लिएर अगाडि बढेमा सबै समस्या हल हुन्छन् । बरु राज्यले हाम्रा गीतसंगीतलाई कुनै कार्यालयमार्फत दर्ताको व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्छ । संघसंस्थाले पनि यसलाई महत्वका साथ लिनुपर्छ ।

प्रतिक्रिया