यसकारण म पनि ओलीवादी

इनेप्लिज २०७३ जेठ ८ गते १३:०० मा प्रकाशित

image1

सामाजिक मिडियामा अचेल जम्मा दुई वादीहरु छताछुल्ल छन् : एकथरी प्रधानमन्त्री ओलीवादी र अर्को थरी ओलीलाई गिज्याएर आत्मरसमा डुब्ने ढोलीवादी । बाटो घाटो चौतारोमा देखिएका यी दुई कित्तामा मान्छेहरुले बहस चलाईरहँदा मलाई कता हो कता यताको न उताको जस्तो लाग्न थाल्यो। यी दुई कित्ता मध्ये मलाई एउटा कित्ता रोज्नै पर्ने भो । अनि मैले सोँच बिचार गरेरै अन्तत: ओलीवादी भएँ ।

म ओलीवादी हुनुमा ओलीको हनुमान भएर हुँदै होईन , किनकी मलाई ब्यक्तिगत रुपमा केहि बन्नु नै छैन, केहि पाउनु पनि छैन । उनको टाट आलोचक भएर उनको कित्तामा आउने त कुरै भएन तर देशको प्रधानमन्त्री, देशको अभिभावकको नाताले ओलीको राम्रो पक्षलाई मनन गरेर बचावट तर्फ लाग्नु नै मेरो धर्म ठानेँ मैले । तर जनताले भोगेका सास्ती र कुर्सीका आसेपासेहरुको मस्ती पटक्कै मन परेको छैन मलाई ।

ओली यो देशको कार्यकारी प्रधानमन्त्री हुन् , उनी कसैको निगाहले प्रधानमन्त्री भएका पनि होईनन् र कसैको बंशनाश गरेर प्रधानमन्त्री भएका पनि होईनन् । यस अर्थमा बहुमतले चुनिएका प्रधानमन्त्री एमालेका प्रधानमन्त्री होईनन् उनी पूरै नेपालका प्रधानमन्त्री हुन् , पूरै जनताका प्रधानमन्त्री हुन् , एमालेका नेता र कार्यकर्ताका मात्रै प्रधानमन्त्री हुन भन्ने भ्रममा कोहि छ भने भ्रम मुक्त भए हुन्छ ।

प्रजातन्त्र पुनर्स्थापना पछि समय नपुगी पटक पटक भएका सरकार परिवर्तनले जनतामा के सन्देश दिएको छ भने प्रधानमन्त्रीहरु न देशका भएका छन् , न पार्टीका भएका छन् यीनीहरुलाई त गुटको प्रधानमन्त्री मात्र मानिएको छ । यहि कटू नीतिको शिकार हिजो देखि आजका प्रधानमन्त्री भएका छन् । पछिल्लो समय सामाजिक संजालको बढ़्दो प्रयोगले सकारात्मक भन्दा नकारात्मक टिप्पणी गर्नेको झुण्ड एकाएक बढिरहेको छ । कतिखेर कस्ले के बोल्ला र अट्टहास गर्न पाउँला भनेर अहोरात्र आँखा उघार्नेहरु यता उता देख्न सकिन्छ ।

संसारले बिकास र प्रबिधिमा उल्लेख्य फड्को मार्यो, तर हामीहरु युवाहरु निर्यात गरेर समृद्धिको गफ हाँकिरहेका छौँ । धन्न रेमिट्यान्सले हाम्रो चुल्हो बलेको छ नत्र के के हुन्थ्यो । यस्तै कठिन समयमा न हाम्रो राजनीतिमा स्थायित्व छ न त प्रकृतिले नै साथ दिएको छ नत हाम्रा मित्र राष्ट्रहरुको नै सदासयता देखिएको छ ।

भनिन्छ राजनीतिले देश बदल्छ, बदल्नुपर्छ तर आफू र आफ्ना कार्यकर्ताको मात्र जीवनस्तर मात्र बदल्ने राजनीतिले जनतामा बितृष्णा पक्कै ल्याएको छ ।

कुनै पनि देशको जनताले चुनेको दल र उनैले चुनेको प्रधानमन्त्री पद आफैमा खराब कसरी हुन्छ ? खराब बनाउने र खराब साबित गर्नमा तपाई हामी जस्ता हनुमान कार्यकर्ता, टाट आलोचक र सुषुप्त नागरिक र सत्यता बंगाएर लेख्ने कलमचरी पत्रुकारहरुको पनि कम दोष छैन ।

जननिर्वाचित प्रधानमन्त्रीले पूरा समय काम गर्न नपाउँदै बन्ने नयाँ नयाँ सत्ता समीकरणले देशको अर्थतन्त्र र जनताको मन लाई धुजा धुजा पारेको छ । हिजो गिरीजा प्रसाद कोईराला, मनमोहन अधिकारी, शेर बहादुर देउवा , प्रचण्ड , बाबुराम लगायत सबैजसो प्रधानमन्त्रीहरु यहि प्रबृर्तिको शिकार भएकै हुन् । अझै पनि प्रगतिशील ठानिएको संबिधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था नहुनुको पीडा अहिले देशले भोगिरहेको छ , हामीले भोगिरहेका छौ ।

प्रधानमन्त्री ओली यतिखेर निरन्तर बोलीरहेका छन्, एक पछि अर्को सपना बाँडिरहेका छन्, तुईन हटाउने, लोडशेडिंग मुक्त गर्ने, फाष्ट ट्र्याक आफै बनाउने , पाईप लाईनबाट ग्याँस ल्याउने, चुच्चो परेको रेल चलाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने आदि आदि ।

अर्को तर्फ भुकम्प पिडितहरु पालमुनि छन् , कालो बजारी बढिरहेकै छ, भ्रष्टाचार बढिरहेकै छ, युवाहरु बिदेशिएकै छन्, आन्दोलनहरु भईरहेकै छन्, बिवादित निर्णयहरु भईरहेकै छन्, देशका हरेक क्षेत्रहरु तहस नहस छन् । यसै बेला बिमतीका स्वरहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई सरापिरहेका छन् मानौ यी दुबै अभिसाप थिए । बोलेका कुरामा गुणात्मक सुधार भएकै छैन तर सुधार गर्ने काममा नागरिक, दल, कर्मचारीतन्त्र, ग़ैरसरकारी संस्था, पत्रकार आदिले गर्ने दायित्व के हामीले पूरा गरेका छौँ त ?

प्रधानमन्त्रीले धेरै कुरा बोलेर जनता हँसाएका पक्कै छन् तर देशघाती कुरा गरेका छैनन्, देश कसैलाई सुम्पने कुरा गरेका छैनन् , स्वर्गमा सिँढी बनाउछु भनेका छैनन् । आकासमा शहर बनाउँछु भनेका छैनन् , उनले बोलेका धेरै कुराहरु तथ्य र लक्ष्य नजिक छन् । ओलीका बेला बेलाका बोलीहरुले जनतालाई सपना देखाएका छन् , अहिलेको युगमा बिकास र समृद्धिको सपना देख्नु पनि के अभिसाप हो र ? यसलाई खोक्रो राष्ट्रवाद भन्नेहरुले सोचौँ यो भन्दा पहिलेका कुन प्रधानमन्त्रीको पोटिलो राष्ट्रवाद देख्नु भो ?

के अझै पनि हामीले दास भएको, अशिक्षित भएको, अभाव भएको र दबिएको दबाईएको सपना देखिरहने हो र ? के अब मेरो कुर्सी धरापमा पर्यो भनेर सबै प्रधानमन्त्रीहरु यथास्थितिमै झुन्डिने हो कि केहि गर्ने हो ? जस्ले सोच्छ , त्यसैले सपना देख्छ, र सपना देख्नेले बाटो पनि ठम्याउँछ ।

अर्कोतर्फ के देशको कार्यकारी प्रधानमन्त्रीले बोलेको कुरालाई सधैभरि ब्यंग गरेर उडाएर हामीले पाउने कुरा केहि छैन, हामीले त आफ्नै भविष्य उडाईरहेका छौ, दुत्कारिरहेकानछौँ । हामीले यसै गरि हरेक प्रधानमन्त्रीलाई कसैले उडाएर, त कसैले समीकरण बदलेर, त कसैले देश बिदेश हार गुहार गरेर बोल्न र गर्न नदिने हो भने देश कसरी बन्छ ? एउटा सरकारले आफ्नो हनिमून मनाउन नपाउँदै कुर्सी धरापमा परिरहने हो भने देश कहिले उँभो लाग्ने ?

हो ! ओलीले बोलेका सबै कुराको जादूमय समाधान यूँ हुन सक्दैन, ओली मात्र होईन भोलि जो सुकै प्रधानमन्त्री आए पनि तुरुन्त समाधान हुँदैन, त्यसका लागि समय लाग्छ । त्यतिन्जेल बरु यो काम किन भएन भनेर सहयोग सहितको खबरदारी गर्नु हाम्रो दायित्व हो कि होईन ? के देशको अभिभावक प्रधानमन्त्रीले बोलेको कुरालाई यति निम्नस्तरले आलोचना गर्नु सभ्य राजनीतिक संस्कार भित्र पर्छ र ? रात दिन जनताको लागि घर बनाउन खट्ने धुर्मुस सुन्तलीले गरेजस्तै सकारात्मक काम हामीले पनि गरे हुन्न र ? के हामी रबिन्द्र मिश्र, राजेश हमाल, मदनकृष्ण हरिवंश र रबिन्द्र पाण्डेलाई सहयोग गर्न सक्दैनौ ?

त्यसैले म त भन्छु सबै प्रधानमन्त्रीहरुले सपना देख्नुपर्छ: कर्मचारी, पत्रकार, नागरिक र दलहरुले निश्चित समय सम्म सरकार बदल्ने खेल खेल्नु हुँदैन , राम्रो काम गर्नेहरुलाई जनताले पत्याउँछन् , नराम्रो काम गर्नेहरु बढारिन्छन् । अरु दल समूह र बिचारको आलोचना गर्नु भन्दा आ-आफ्नो दल समूह र बिचारमा सुधार गरौँ । कमसेकम ईतिहाँसमा यति धेरै सपना बाँड्ने ओलीलाई दुई चार सपना पूरा गराउन समय दिउँ , खबरदारी गरौँ , काम गरेछन् भने ओलीवादी नगरे भोलि म पनि ढोलीवादी । भोलि प्रधानमंत्रीको रुपमा चण्ड ,मुण्ड ,प्रचण्ड जस्ले राम्रो गर्ला म त्यहि वादी ।
अस्तु !

– शिकागो

प्रतिक्रिया