एमाले नेता पोखरेलको हृदयघातबाट निधन, शोकमा डुब्यो एमाले

इनेप्लिज २०७३ वैशाख ३० गते १४:४६ मा प्रकाशित

China-Rail

काठमाडौं, ३० वैशाख । नेकपा एमालेका लोकप्रिय नेता कोशल पोखरेलको निधन भएको छ ।

निवर्तमान गुल्मी जिल्ला विकास समिति सभापति समेत रहेका विकासप्रेमी नेता पोखरेलको विहीबार विहान हृदयघातबाट निधन भएको हो ।

पोखरेलको निधनमा एमालेले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा गुल्मेली जनताप्रति समवेदना प्रकट गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले विहीबार अपराह्न शोक वक्तव्य जारी गरी नेता पोखरेलको निधनले पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । साथै पार्टीले एकजना प्रतिबद्ध योद्धा तथा गुल्मी जिल्लाले विकासप्रेमी अग्रज गुमाएको वक्तव्यमा उल्लेख छ ।




यस्तो छ एमालेद्धारा जारी विज्ञप्ति (जस्ताको तस्तै):

शोक वक्तव्य

हाम्रो पार्टीका लोकप्रिय नेता एवम् निवर्तमान गुल्मी जिल्ला विकास समिति सभापति कमरेड कोशल पोखरेलको आज बिहान हृदयाघातबाट भएको दुखद निधनबाट पार्टी स्तव्ध र मर्माहत भएको छ । उहाँको निधनबाट पार्टीले एकजना प्रतिवद्ध योद्धा तथा गुल्मी जिल्लाले विकासप्रेमी अग्रज गुमाएको छ ।

१ साउन, २०१५ मा गुल्मी जिल्लाको दिगाममा बुबा नित्यानन्द र आमा ज्ञानीकलाका जेष्ठ सुपुत्रका रूपमा जन्मनुभएका कमरेड कोशल पोखरेल विद्यार्थी कालदेखि नै निरङ्कुशतन्त्र विरोधी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । २०३० साल मङ्सिरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँ तत्कालीन को.के. हुँदै नेकपा (माले) मा आवद्ध हुनुभएको थियो र २०३७ सालमा गुल्मी जिल्ला कमिटीको सदस्यको जिम्मेवारी ग्रहण गर्नुभएको थियो । त्यसै बर्षदेखि भूमिगत भएर उहाँले गुल्मी र अर्घाखाँचीमा पार्टीको सङ्गठन निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को कार्यक्रम संयोजन गरेर फर्कने क्रममा २०४३ साल फागुनमा अर्घाखाँचीको चिदिकामा गिरफ्तार हुनुभएका उहाँलाई तत्कालीन प्रशासनले कठोर यातना सहित लामो समयसम्म बन्दी बनाएको थियो । रिहाई भइसकेपश्चात् पनि अनवरत पार्टी काममा सङ्लग्न उहाँ लामो समयसम्म गुल्मी जिल्ला कमिटीको जिम्मेवार नेता र पछिल्लो समय लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्यका रूपमा क्रियाशील हुनुहुन्थ्यो । २०४९ सालमा दिगाम गाविसको अध्यक्ष र २०५४ सालमा गुल्मी जिल्ला विकास समितिको सभापतिमा निर्वाचित उहाँले जिल्लाको समग्र विकासका लागि अहोरात्र खटिने जनप्रतिनिधि र विकासप्रेमी नेताको छवि निर्माण गर्नुभएको छ ।

पार्टीको पाँचौं, सातौं र नवौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि रहनुभएका कमरेड कोशल पोखरेल पार्टी पङ्क्तिमा अध्ययनशील नेता, कुशल सङ्गठक र राम्रो प्रशिक्षकका रूपमा स्थापित हुनुहुन्थ्यो । कमरेड कोशलको निधनले गुल्मी जिल्ला र समग्र लुम्बिनी अञ्चलको पार्टी सङ्गठनमा ठूलो क्षति पुगेको छ ।
उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

यस दुखद घडीमा सिङ्गो पार्टीको तर्फबाट दिवंगत कमरेड कोशल पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा गुल्मेली जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

ईश्वर पोखरेल
महासचिव

– See more at: http://dainiknepal.com/2016/150712.html#sthash.Q3HWaaLO.dpuf

प्रतिक्रिया