यो सरकारको विश्वसनीय विकल्प नेपाली काग्रेसको नेतृत्व नै हो

इनेप्लिज २०७३ वैशाख २८ गते १३:०६ मा प्रकाशित

hqdefault

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा निकट नेता डा. प्रकाशशरण महतसँग नयाँ सरकार गठन, सरकारको नेतृत्व लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी ।
सरकारको विकल्प खोज्न सुरु गर्नु भएको हो ?
अहिले सरकारको विकल्प भन्दा पनि अहिले हामी प्रतिपक्षमा छौ र प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छौ । यो सरकार सबै क्षेत्रमा असफल भईसकेको छ । जनताको चासो, चिन्ता, आवश्यकताप्रति पुरै बेखवर छ । यो सरकार कुरा ज्यादा गर्छ काम कम गर्छ । यसो हुनाले यी विषयबस्तुहरुमा, राष्ट्रिय मुद्दाहरुमा, संविधान कार्यान्वयन, मधेस मुद्दामा सरकारले बार्ता टोली बनाएपनि काम अघि बढ्न सकेको छैन, भुकम्प पीडितहरु पीडित नै छन अत्यन्तै कष्टकर जीवन विताउन बाध्य छन । नाका खुलेको यति समय भईसक्यो, निर्याता आयातमा अहिले कुनै रोकटोक छैन तथापि ईन्धनको अभाव कायमै छ । कालोबजारी कायमै छ, ग्यासको अभाव त्यतिकै छ । जानीबुझीकन यो अभावलाई सरकारी संरचना मार्फत नै संस्थागत गरिएको छ । न्यायपालिका, कुटनीतिक नियोगमा ब्यापक राजनीतिकरण गर्ने अभियान सरकारले थालेको छ । मुलत ओली सरकार जनताको आवश्यकता, राष्ट्रिय आवश्यकता भन्दा पनि आफ्नो आवश्यकता, पार्टी , कार्यकर्ताको कसरी पक्षपोषण गर्ने, कसरी बढी भन्दा बढी पद सृजना गरेर भर्ति गर्ने मानसिकतामा मात्रै रहेको देखिएको छ ।
सरकारले राम्रो काम गर्न सकेन भनेपछि अबको विकल्प के त ?
हामीले यी कुराहरुलाई संसदमा शसक्त रुपमा उठाउँछौ । सरकारलाई खवरदारी गर्छौ । सरकारलाई सच्चिनकोलागि हामीले बहसलाई अगाडि बढाउँछौ ।
तपाई सरकारलाई सच्याउन लाग्नु हुन्छ, परिवर्तन गर्न होईन ?
यो सरकारलाई सच्याउन हामी कोशिस गर्छौ । तर हामीलाई के विश्वास छ भने सरकार सच्चिनेबाला छैन । जनताको लागि काम गर्ने मानसिकतामा यो सरकार छैन । कुरामात्रै ज्यादा गर्ने काम नगर्ने मानसिकतामा यो सरकार छ । अन्तोतगत्वा मलाई लाग्छ केपी ओलीको नेतृत्वमा जुन सरकार बनेको छ यसले विश्वास गुमाउँछ । यसले जनताको विश्वास त गुमाईसकेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसलेपनि त केही गर्न सकेन ?
जनता र देशकोलागि काम गर्न सरकारमा पुगेका हुन । त्यही आश्वासन दिएर संसदको बहुमत लिएर सरकारमा पुगेका हुन । हामीले काम गर्न नसकेको कुराको खवरदारी गर्ने हो, काम गर भनेर दवाव दिने हो । जनता बाक्क दिक्क छन, जनतामा यो सरकारले विश्वास गुमाईसकेको छ अब संसदमा विश्वास गुमाउन बाँकी छ । मलाई लाग्छ, संसदमा पनि यसले चाडै विश्वास गुमाउँछ । यो सरकारले संसदमा विश्वास गुमाएको अवस्थामा अवश्य पनि विकल्प खोजिन्छ ।
तपाईहरु अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा पुग्नु भएको हो ?
अहिले को प्रधानमन्त्री बन्ने भन्ने कुरा महत्वपूर्ण होईन ।
प्रचण्डले त सरकारको नेतृत्वकोलागि आफूलाई काग्रेसले प्रस्ताव गर्यो भन्नु भएको छ नि ?
त्यस्तो प्रस्तावको कुरा चाँही मलाई थाँहा छैन । अहिले नेपाली काग्रेस सबैभन्दा ठूलो दल हो र अहिले प्रमुख प्रतिपक्षमा नेपाली काग्रेस छ । भोली यो सरकारको विश्वसनीय विकल्प भनेको नेपाली काग्रेस नै हो । काग्रेस नेतृत्वको सरकार नै हो । यो सरकारको विश्वसनीय विकल्पको आधारहरुसहित एउटा दिगो रुपमा भोली सरकार चल्ने पनि परिस्थिति निर्माण गर्नु पर्छ । यो निर्माण गर्ने दिनमा कसरी भोली राजनीति अगाडि बढ्छ त्यो हेर्न नै बाँकी छ । अहिले नै कस्तो सरकार बन्छ, कस्ले नेतृत्व गर्छ भनेर चर्चा गर्नु अलि परिपक्व हुँदैन ।
त्यसो भए काग्रेस अझै द्धिविधा र अन्यौलग्रस्त अवस्थामा छ ?
हामी स्पष्ट छौ । अहिले हामी एउटा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छौ । संसदमा यो सरकारको गलत क्रियाकलाप, विदेश नीतिमा असफल, मित्र राष्ट्रहरुलाई पनि आफ्नो कुरा बुझाएर विश्वासमा लिन नसकेको, अन्तर्राष्ट्रिय मञ्चमै जुन टिकाटिप्पणी भईरहेको छ यी तमाम विषयहरुलाई हामी उठाउँछौ र संसदभित्र पनि एउटा बातावरण बन्छ यो सरकारको विपक्षमा । जनताको विचमा त्यो बातावरण बनिसकेको छ । अहिले नै हामीले यस्तो गर्छौ, उस्तो गर्छौ भनेर भनिरहन आवश्यक छैन ।
त्यसो भए तपाईहरुले एमाओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्नु भएको छैन ?
अहिले हामी शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौ । जनताको आवश्यकता, जनताको चासो र चिन्ता र राष्ट्रिय मुद्दालाई उठाउँछौ । संविधान कार्यान्वयनकोलागि अब धेरै समय बाँकी छैन तर यो सरकारले केही गरिरहेको छैन । यी तमाम विषयमा हामीले स्पष्ट ढंगले आफ्नो कुराहरु राख्छौ । यो बजेटको विषयमा पनि योसरकारले सस्तो प्रचारबाजी गर्ने, दिगो विकासलाई बेवास्ता गर्ने, बजेट पार्टीमुखी बनाउने, पार्टी करण गर्ने जुन मानसिकतामा यसले काम गरिरहेको छ त्यस विषयमा पनि हामीले खवरदारी गर्छौ । मलाई लाग्छ समग्रमा यो सरकारले जुन गलत काम गरिरहेको छ, गैरजिम्मेवार भईरहेको छ, जनताको चासो र चिन्तामा सरोकार राखिरहेको छैन यही कारणले यो सरकारमा अहिले जुन पार्टीहरु छन उनीहरुवीच विरोधाभाष बढ्दै जान्छ, अविश्वास बढ्दै जान्छ र स्वभाविक रुपमा यसले आफै विश्वास गुमाउँछ । त्यसो हुनाले हामीले यसमा धेरै कसरत गरिरहनु पर्दैन ।
यो सरकार ढल्ला तर अर्को सरकार कस्को नेतृत्वमा बनाउने त ?
मलाई लाग्छ पहिला यो सरकारले संसदको विश्वास गुमाईसकेपछि गर्ने कुरा हो । विश्वास गुमाउने परिस्थिति बन्यो, यो सरकारमै रहेको एमाओवादी जसको आधारमा यो सरकार टिकेको छ । एमाओवादीका नेतृत्वले पनि हामी सन्तुष्ट छैनौ, हामी काधमा बोेकेर हिडिरहन सक्दैनौ भनि अभिब्यक्ति दिईरहेको छ । त्यस परिवेशमा आफ्नै बोझले यो सरकार विफल हुन्छ । त्यो अवस्थामा कसरी एउटा दिगो ढंगबाट विकल्पमा जाने भन्ने कुरा सोच्ने हो । अहिले हामीले यसमा धेरै चिन्ता गरिरहन पर्दैन ।
त्यसो भए तपाईहरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन तपाईहरु अझै पनि तयार हुनु भएको छैन ?
मलाई लाग्छ अहिले त्यो स्थिति आएकै छैन । सरकारभित्रकै कन्ट्रा डिक्सनले यो सरकार आफै विश्वास गुमाउने अवस्थामा पुग्छ, यसको क्रियाकलाप जनमुखी छैन । राष्ट्रिय मुद्दाप्रति संबेदनशिल छैन । जनताका आवश्यकताप्रति संबेदनशिल छैन । भ्रष्टाचार, महंगी, कालोबजारी जुन ब्याप्त छ त्यसलाई सरकारले नै प्रोत्साहन गरिरहेको छ । भुकम्प पीडितका पुनःनिर्माणका जुन आवश्यकताहरु छन वर्षा लाग्न लागिसक्यो, अहिले पनि कुरामात्रै गर्छ काम गर्दैन । त्यो संयन्त्रमा पनि कसरी बढी भन्दा बढी आफ्ना मान्छेहरु पठाउने भन्ने मानसिकतामा ओली सरकार काम गरिरहेको छ । त्यसकारण योसरकारमा रहेका दलहरु पनि खुसी छैनन । माओवादी पनि खुसी छैन । त्यसकारण यो सरकार विफल हुने निश्चित छ । केही समयको कुरा मात्रै हो । त्यसपछि विकल्प अगाडि बढ्छ तर अहिले नै त्यो गर्नु भन्दा पनि अहिले हामी यो सरकारका असफलताहरु, यो सरकारले गर्नु पर्ने कामहरु, निर्वाह गर्नु पर्ने जिम्मेवारीहरु प्रति हामीले खवरदारी र ध्यानआर्कषण गर्ने हो ।
प्रचण्डले बालुवाटारको बैठकमा प्रधानमन्त्रीलाई काग्रेसले आफ्नो नेतृत्वकोलागि प्रस्ताव गरिसकेको बताएपछि तपाईहरुले होईन भन्न मिल्छ ?
उहाँले के भन्नु भयो त्यो मलाई थाहाँ छैन । बर्तमानमा हाम्रो जे कर्तब्य छ, जिम्मेवारी छ, जुन ठाँउमा हामी छौ त्यो कर्तब्य र जिम्मेवारी नेपाली काग्रेसले गंभिरताकासाथ निर्वाह गर्छ । त्यसपछि कसरी यो राजनीतिक घटनाक्रम अघि बढ्छ, कसरी यो सरकारले विश्वास गुमाउँछ त्यो त हेर्न बाँकी नै छ । त्यसपछिका कुरा त्यसपछि हुन्छन ।
सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने रणनीतिमा तपाईहरु हुनु हुन्छ ?
अहिले ल्याउन दिने नदिने भन्दा पनि सरकार पहिला छलफल नै नगराई सिधै संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याएर पास गराउने तयारीमा थियो । राष्ट्रिय मुद्दा जनताको सरोकारमा छलफल गर्न चाहदैन थियो । हामी यस विषयमा कडा रुपमा प्रस्तुत भएपछि बल्ल उहाँहरु छलफल गर्न तयार हुनु भएको छ । हामी अहिले यी विषयहरुलाई संसदमा उठाउँछौ । यसमै हामी केन्द्रीत हुन्छौ ।

प्रतिक्रिया